यो बाटोले त्यहाँ त पुर्याउँदैन नि,
जहाँनेर–
ब्वाँसो शैलीमा निकालेर मेरो मुटु!
टुक्राटुक्रा पार्दै भोज लगाएर खाएको ठाउँ हो।
अरू कसैले–
आफ्नै मुटुको स्वाद लिइरहेको त्यो दृश्य
टुलुटुलु हेर्नु परेकोथ्यो यो आँखाले।
चिच्याउन मिलेन–आमा बनेर सहिरहेँ
गुहार मागिनँ कसैलाई–
बडो साहसिक भएर थामिरहेँ आफूले आफैंलाई।
आँखाले खसाइरह्यो– केवल पीडाको पहिरो
मौनतामै उभिरह्यो आँसुको पहाड
बिना मुटु दुखेको रहर–त्यही थियो पहिलोपल्ट मेरो।
अहिले बाँचिरहेको यो मुटु
बल्लबल्ल तिम्रो प्रेमले जोडेको हुँ।
साँच्ची यो बाटोले त्यहाँ त पुर्याउँदैन नि!
मैले आजसम्म हिँडेको जीवन यात्रा,
मैले आजसम्म टेकेको गन्तव्य पाइलाहरू
खोसेर त्यहीँ राखिएको छ र बन्दी बनाइएको छ।
मेरी आमाको आशीर्वादले–
बल्लबल्ल कमाएको हुँ यो यात्रा
गन्तव्यको यो पैतालाको डोब।
प्रीय, अझै पनि उत्तिकै खतरामा छु म।
आकाशको आशीर्वाद खस्दैन मेरो शीरमा
हावाकै हत्केलामा–
अडिनु परेको छ मेरो रहर र चाहनाका फूलहरूले।
अब त मुटुको भर्याङ टेकेर–
टिप्न सक्दिनँ मुटुकै फूलहरू र मुटुकै गुराँसहरू।
म कुन बाटो हिँडूँ?
ताकि, त्यही ठाउँमा नपुर्याइयाेस् मलाई
सायद दाउ हेरेर पर्खिरहेका छन् ब्वाँसाहरू
मेरो मुटुको दोस्रो भोजको लागि।
कवि- राम याेन्जन ‘गाउँले’