मधेस हुँ
जुन तिमीले कहिले बुझ्न नसकेको,
मलाई कहिले आफ्नो नसम्झेको,
म देश हुँ।
म तिमीले मन नपराएको रङ्ग हुँ।
जो कहिले खुलेर रङ्गिन पाएन,
आफ्नै रङ्गसँग सजिन पाएन।
मन परेन मैले बोलेको भाषा
सँधै गिज्याइरह्यो
सँधै जिस्काइरह्यो
जानी नजानी तिम्रै भाषामा बोल्न बाध्य भएँ
तिम्रै शब्द रट्न बाध्य भएँ।
घरसँगै खेतबारी बगाएर लाँदा
मलाई कहिले यो खोला बेचौं झैं लागेन
वर्षौंदेखि सीमा मिचिरहँदा छिमेकीले
कहिले सिमाना बेचौं झैं लागेन
बरू, बगाइरह्यो रगतको खोला
लडिरह्यो निरन्तर आफ्नो भूमिको लागि।
तिमीले मेरो रङ्गलाई कहिले आफ्नो रङ्ग ठानेनौं
तिमीले मेरो भाषालाई कहिले आफ्नो भाषा मानेनौं
तिमीले मलाई कहिले नेपाली मानेनौं।
म नेपालको काख हुँ
जो कहिले टाढा हुन सक्दैन
मधेस मात्र हैन
म एक देश हुँ,
म देश हुँ।
*****************
कवि-प्रयत्न वाइबा, रौतहट