माहुरीहरू …
आइरहेका छन्,
हातहातमा फूलहरूको रस भरेर
गइरहेका छन्,
खुट्टाखुट्टामा निरन्तरताको पदचिह्न पछ्याएर
अविराम उडिरहेका छन् माहुरीहरु
खेत खलिहान
भीरपाखा
डाँडाकाँडा
गाउँ शहर
लेकबेशी
खोला खोल्सी
र अविराम ओसारी रहेछन्
मह।
मालिकले खडा गरिदिएको छ
एउटा ढुङ्ग्रो
दुवैतिरबाट प्वाल बनाएर
र, त्यहीँ ढुङ्ग्रोमा जम्मा गरिरहन्छन्
दुर-दूरदेखि
र मालिक खोतलिरहन्छ
घरी दायाँबाट घरी बायाँबाट
मह।
कैयौं पटक किचिन्छन् माहुरीहरू
निमोठीन्छन् निर्दयी पूर्वक नाबालक बच्चाहरु
तर पनि माहुरीहरू एकाध बाहेक
ओइरिदैनन् मालिक माथि
टोक्दैनन मालिकलाई
बरु थुपारी रहन्छन् ढुङ्ग्रोमा
मह।
शताब्दीयौंदेखि माहुरीहरु बनाइरहेछन्
मह
फलाईरहेछन् त्यसैमा स्वाद
तर,
खाइरहेछ मालिक निर्लज्ज
सायद,
माहुरीहरु सँग छैनन्,
उत्पादनमा हिस्सा देखाउने आफ्नै मार्क्सवादीहरु
मुक्तिका दर्शन सिकाऊने आफ्नै दार्शनिकहरु
स्वतन्त्रताको गित लेखिदिने आफ्नै कविहरु
क्रान्ति उछाल्ने आफ्नै कामरेडहरुरु