प्यारी सावित्री
यस पटकको तिजमा
मेरो जोर खुुट्टाको जोर बुढी औंला
तिमीलाई सम्मान पूर्वक ढोगाउन नपाएकोमा
सात समुन्द्र पारिबाट गहिरो दुःख व्यक्त गर्दछु
प्राणनाथको हरिनाथ परेको खुुट्टा ढोग्न नपाएर
तिमी पनि कति थक्क थक्क गरौली
चिल्लो निधार चिलाएर भित्तामा कति ठोकौली
सम्झदै यहां मेरो पुरुषत्व तुरुक्क–तुरुक्क स्खलित हुन्छ
पतिदेवको अपार कृपाले
तिमी पो दिनभर उपास बस्न सक्छौ
कम्मर मर्काइ मर्काइ नाच्न सक्छौ
तर सोच त यहां मेरो हालत के होला ?
म कसरी बांचेको हुंला ?
के कहिल्यै चिन्ता लिने गरेकी छौ ?
म भने भात पकाउन नजान्दा नि सम्झिन्छु
लुगा धुन अल्छि लाग्दा नि सम्झिन्छु
झन राति सुत्ने बेलामा त कति मिस गर्छु गर्छु
तिमीलाई भने अलिकति नि मेरो माया लाग्दैन हगी ?
आज नि तिम्रै यादमा तड्पीरहेको थिएं
धन्न फेसबुकमा एउटी आई र रमाईलो गराई
उत्ताउली रैछे मोरी के के भनी भनी
च्याटमा खुब मज्जाले कुरा गरियो
र धन्न तिम्रो तिर्सना मेटाई
लु तिमी आफै सोच त
म तिमीलाई कति माया गर्दो रहेछु ?
दोहाको यो उखरमाउलो गर्मी
त्यही माथि सपना बिग्रेर हैरान छु
तिमी भने गाउंमा के गर्दैछौ हं ?
सुन्छु,
विदेश जाने धेरैको श्रीमती गाउंमा बिग्रेका छन रे
छाडा छोडेको गाई जस्तै भाका छन रे
खबरदार, तिम्रो मृगनयनी आंखा कुनै भुस्तिघ्रे माथि पर्ला ?
पतिदेवको नाम, सुवास, प्रताप, सौर्य, किर्ति र रिस
तिमीलाई थाहै छ
पटक–पटक संझाउन नपरोस्
फेरि पतिदेवको धैर्यको बांध टुट्यो भने नि
तिम्रो मृगनयनी आंखा साखा भन्दिन
खबरदार
खबरदार
खबरदार
तिम्रो मृगनयनी आंखा कुनै भुस्तिघ्रे माथि पर्ला ?
खबरदार
अलच्छिनी आइमाई ।
लेखक किरात राई लेखक संघका केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ ।