ललितपुर ः एक दशकदेखि बेलायत रहँदै आएकी शान्ति लिम्बू उपन्यास ‘मिलीजुली’ लिएर आएकी छिन् ।
ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला र वरिष्ठ साहित्यकार तथा समालोचक गोविन्दराज भट्टराईले उपन्यासको विमोचन गरेका हुन् ।
विमोचनपछि बोल्दै पूर्वकुलपति काइँलाले नेपाली साहित्य लेखनमा लिम्बू मातृभाषी महिला लेखकको प्र्रवेशले महत्त्वपूर्ण अर्थ राख्ने बताए । एकल नारीको अवस्था र समाजमा उसको उपस्थितिका साथै समाजका विभिन्न मुद्दालाई सानो आयामको पुस्तकमा अटाइएको उनको भनाइ थियो । ‘लेखकले उठाएको विषयवस्तु गहन छ तर प्रस्तुति सहज,’ उनले भने, ‘पहिलो उपन्यासमै राम्रो सम्भावना देखाएकी छिन्, आशा छ आउँदो पुस्तकमा अझ राम्रो गर्न सक्नेछिन् ।’
कार्यक्रमका अर्का वक्ता डा. भट्टराईले उपन्यासले नेपाली साहित्यमा भेराइटी भित्र्याएको भनाइ राखे । ‘धेरै लिम्बू लेखकहरुलाई जातीयता र क्षेत्रीयताबाट निस्कन मुस्किल छ,’ उनले भने, ‘यो उपन्यासमा जातीय मुद्दाका साथै क्षेत्रीय, राष्टिय र ग्लोबलाइजेसनको समेत मिश्रण छ, यसैले पनि पुस्तक गहकिलो बनेको छ ।’ ग्लोबल संस्कृति पछ्याउने युवाहरुको चासो, चिन्तन र जीवनशैलीलाई मिहिन ढंगले चिरफार गरिएको उनको भनाइ थियो ।
यस्तै कवि तथा आख्यानकार उपेन्द्र सुब्बाले आख्यान लेख्नु एकदमै गाह्रो हुने भन्दै यो आँट गरेकोमा उपन्यासकालाई बधाई दिए । ‘हामीहरु त्यसै पनि कवि हौं, पालमदेखि नै कवित्व सुरु भइसकेको हुन्छ,’ उनले भने, ‘नेपाली भाषामा आख्यान लेख्नचाहिँ हामीलाई निकै सकस पर्दो रहेछ ।’
कवि चन्द्रवीर तुम्बापोले उपन्यासले महिलाहरुको पीडालाई गम्भीर रुपमा उठाएकाले यसले बहसको माग गर्ने धारणा राखे । लेखिका सुशीला श्रेष्ठले आमाको नामबाट नागरिकता प्रदानमा हुने कानुनी बन्देजजस्ता कुरालाई सशक्त रुपमा उठाइएकोले यसले समग्र महिला आन्दोलनमा एउटा इँटा थपेको टिप्पणी गरिन् ।
लेखिका शान्ति लिम्बूले आफू बेलायतका रहे पनि नेपाली समाज र परिवर्तनलाई बुझिरहेकाले उपन्यास सिर्जना गर्न सहज भएको बताइन् । जहाँ रहे पनि आफ्नो देशको प्रेमबाट टाढिन नसकेकाले नै नेपाल आएर उपन्यास विमोचन गर्नुपरेको जानकारी दिइन् ।
कार्यक्रममा किरात याक्थु गोविन्द आङबुहाङ, सन्दिप राई, निम्बल पव्लिकेशनका अध्यक्ष टंक सेलिङ लगायतले पुस्तकमाथि धारणा राखेका थिए । लाहुरे संस्कृति, डायस्पोरिक समाज, नेपाली महिला र विशेषगरी एकल महिलाको सामाजिक समस्यामा केन्द्रित उपन्यास निम्बल पब्लिकेसनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य तीन सय रुपैयाँ रहेको छ ।