कविता : यो धरती

यो धरती
यो निराकार धरती
यो शून्य र विरसिलो धरती
केवल यहाँ म एक्लो छु
न यहाँ मेरा आफन्तहरू कोही छन्
न यहाँ मेरा नातेदारहरू कोही छन्
मेरो टेबुलमाथिका गिलासका
अन्तिम घुट्कीमा म चन्द्रसँगै अस्ताएको हुन्छु
अनि बिहान चियाको पहिलो घुट्कीमा म
सूर्यसँगै उदाएको हुन्छु
कहिलेकाहीँ त मलाई
यो धरती चिरेर ‘सीता’ लुकेको ठाउँ हेर्न मन
लाग्छ
कहिलेकाहीँ त

यहाँ पिरती जोडेर सबैसँग
आफ्नै गाउँमा जाऊँजाऊँ लाग्छ
तर यो धरती
यो निराकार धरती
यो शून्य र विरसिलो धरती
न यहाँ मेरा आफन्तहरू कोही छन्
न यहाँ मेरा नातेदारहरू कोही छन्
केवल यहाँ म एक्लो छु
यो स्मसानजस्तो सुनसान धरती
यहाँ प्रायः मुर्कट्टा र भूतप्रेतका
कोलाहल सुनिन्छन्
यहाँ प्रायः ज्युँदा मर्छन् र मरेकाहरू बाँचिरहन्छन्
यहाँ हाट लाग्छ, यहाँ बजार लाग्छ
यहाँ प्रत्येकलाई तरकारी बनाइन्छ र बेच्न ल्याइन्छ
कोही रुन्छन् भने कोही चिच्याइरहन्छन्
आपसमा यहाँ एउटा मायाको मकल छैन
ममताको हात सेकाउन
यहाँ कोही सक्कल छैन
न कसैले कसैमाथि दया र धर्म देखाउँछन्
न कसैले कसैको भित्री मर्म नै बुझ्ने कोसिस

गर्छन्
यहाँ सब आफैँ जान्ने छन्
यहाँ सब आफैँ बुझ्ने छन्
सब विद्वान्, सब सभ्य छन्
यो धरती
यो निराकार धरती
यो शून्य र विरसिलो धरती
न यहाँ मेरा आफन्तहरू कोही छन्
न यहाँ मेरा नातेदारहरू कोही छन्
केवल म यहाँ एक्लो छु
म रुँदो छु रातदिन
यहाँ सूर्य टुक्रिएर धरती
र धरती टुक्रिएर चाँदनी बनेको देखेर
तर म हाँस्दो पनि छु रातदिन
यिनीहरू आ–आफ्नै
आकर्षण शक्तिमा झुन्डेको देखेर ।
तर, अनायासै मलाई
विवशताले घच्घच्याइहाल्दछ
यहाँ किन विस्फोट हुन्छ अणु र परमाणुको

यहाँ ‘एडम’ र ‘इभ’देखि लिएर
बुद्ध, जनक र अरनिकोजस्ता
महान् पुरुष जन्मिसकेका छन्
अनि मरिसकेका पनि छन्
तर, म यहाँ एक्लो छु
यो धरती
यो निराकार धरती
यो शून्य र विरसिलो धरती
न यहाँ मेरा आफन्तहरू कोही छन्
न यहाँ मेरा नातेदारहरू कोही छन्
यो धरती
यो स्मसानजस्तो सुनसान धरती ।

 

Published On: Time : 11:32:42

तपाईको प्रतिक्रिया