यो कविहरुको हुलमा
कसोकसो समाबेस छु म पनि
बाबाको मुखबाट
मेरो कविता सुनेपछि
मेरिआमा रुदैछिन गाउँमा
कठै कति अभागी छोरो जन्माएछु।
सांसदभवन नजिक उभिएर
कविताको ढुंगा हानिरहेको म
कुनैपल गिरफ्तार हुन सक्छु
दरबार अघि उभिएर
सरकार बिरोधि कविता
जोडजोडले फलाकी रहेको म
कुनैदिन आतंककारीको नाममा
म मारिन सक्छु।
यो सहरदेखि
यो कविताको उखरमौलो
चोकहरु छाडेर भाग्न पनि सक्दिन
सडक किनारामा उभिएर
मेरो मुखबाट फ्यांकीरहेको
सिग्रेटको असरल्ल धुंवाहरुले
सिद्दिदै गरेको सिग्रेटको आख्यान
मेरो आँखै नजिक पढाएर जान्छ।
एकभारी भोकले कुल्चिएर
सुतिरहेको त्यो भिखारीले
मलाई किन त्यसरी तर्साई रहन्छ
हरेकसांझ त्योभट्टी नजिक
त्यो पियकड मातुवा किन मलाई
दिईरहन्छ राष्ट्रिय गाली
त्यो थोत्रो पर्खालमा उभिएकी
ती युवती किन मलाई हानिरहन्छे
ओठको मुस्कानहरुले उत्तेजना ढुंगा
प्रत्येक टेलिभिजनको स्क्रिनहरुमा
उत्तेजित औंलो ठडाई-ठडाई
मेरा कविताहरुको खण्डन
किन गरिरहेछन यी सरकार प्रमुखहरु
प्रत्येक ती रातहरुमा
निन्द्राको निर्मम हत्या हुनेगरी
किन गरिरहन्छन यी पाल्तु शालिकहरु
इनबक्स भरि मृत्युको एसएमएस
किन बजिरहन्छन् यो मनमा
अन्तिम विदाईको बाँसुरी धुन
यो सहर किन लाग्न थालेको हो
दुरुस्तै मशानघाट
प्रिय सहयोद्दा कवि
कविताकै ढुंग्रीमुन्द्री बनाएर
कविताकै मखमली चोली बुनेर
मेरो एकहरफ उपहार कविता
मेरो तकियामुनि छाडेको छु
जो गाउँमा आमालाई पठाईदिनु
म जानुछ फेरिपनि सडक कवितामा
सरकार बिरोधी कविता लिएर
प्रिय सहयोद्दा कवि यो ढोकामा
फेरि मेरो आगमनलाई नकुर्नु
किनकी सडक कविताबाट म
यस पटक नफर्किन पनि सक्छु।