पुस्तक नै लेख्नुपर्ने भएपछि जे विषयमा लेख्नुपर्ने हो त्यसमा केन्द्रित हुनुपर्ने र त्यस बिषयमा कसैले पनि प्रश्न उठाउन नमिल्ने गरी लाग्नुपर्ने भएका कारण बढी सजग हुनुपर्ने हुँदो रहेछ । तसर्थ त्यस्ता गम्भीर प्रकृतिका घटनाको गहन खोज र अनुसन्धान गर्न जरुरी हुन्छ । यसमा मैले त्यो काम गरेको छु । म पनि यही समाजको उपज हँु ।
पत्रकारिता हतारको साहित्य हो । साहित्य फुर्सदमा लेखिने बिषय हो । हतारमा गाउँठाउँ घुम्दा देखेका, भेटेका बिषयलाई मैले लेखनीको बिषय बनाएँ । मैले त्यही सामाजिक धर्म निर्बाह गरेको मात्र हँु । यो पुस्तकमा समेटिएका विषयहरु कल्पनाशीलताका आधारमा लेखिएका होइनन् । सबै विषय तथ्य र अनुसन्धानमा आधारित छन् ।
म किताबलाई सस्तो मनोरन्जनको साधन मान्दिन । किताब पढेर ज्ञान प्राप्त होस् । पुर्खाले गरेका कामको फेयरिस्त होस् । पूर्वी नेपालको राजनीतिक परिवेश वरपरको अवस्थाको चित्रणदेखि माओवादी युद्धकालको सविस्तार वर्णन नै यो किताबको महत्वपूर्ण पाटो हो । किताबभित्र झण्डै २ हजार जनाजति पात्र छन्, जसले आफ्नो जीवनमा कुनै न कुनै रुपमा भूमिका निर्वाह गरेका छन् । पुस्तकमा तीनै मानिसहरुको बारेमा चर्चा छ । उनीहरुले गरेको सङ्घर्षको कथा छ । जीत र हारको वर्णन छ ।
यो कुरा चाहिँ पक्का हो कि जुनसुकै क्षेत्रमा काम गर्ने मानिस होस् । उसले यो किताबबाट भरपूर लुकेका तथ्यका बारेमा जानकारी पाउन सक्छ । अझ बढी त राजनीति गर्ने मानिसले जान्नैपर्ने कुरा छन् यसभित्र । किनभने एउटै पुस्तकभित्र ००७, ०२८, ०४६ सालदेखि ०६३ सालको जनआन्दोलनसम्मका परिवेश र त्यसमा होमिएका मान्छेका बारेमा उल्लेख छ । ज्यानको बाजी थापेर सङ्घर्षमा होमिएका मान्छेका बारेमा चर्चा छ । त्यसखाले आन्दोलनमा परेर गुमनाम भएकाहरु यस पुस्तकका पात्र हुन् । बिषेशगरी ती राजनीतिक कालखण्डमा धेरै मानिसले दुःख पाए । कतिले आफ्नो पहिचान गुमाए । धेरै त बेपत्ता नै भए । आज पनि तिनीहरुका परिवार बेपत्ताको खोजीमा सडकमा छन् ।
आज सम्मका इतिहासकारले कहिल्यै पनि हार्नेहरुका बारेमा चिन्ता गरेनन् । इतिहास जित्नेहरुको मात्र लेखियो । जति इतिहास जित्नेहरुको हुन्छ, उति नै हार्नेहरुको त्याग र समर्पणको मूल्य हुन्छ । तर, त्यसको कुनै हिसाब किताब भएको छैन । मैले तीनै मान्छेहरु जसले हारेर पनि आफूलाई देशका लागि समर्पण गरे, उनीहरुलाई चिनाउने काम गरेको छु । । यहाँ सदैब जित्नेहरुको मात्र इतिहास लेखियो । हार्नेहरुलाई महत्व दिइएन । यसमा ती मानिसहरुको जीवनको ब्यथा छ ।
पुस्तकमा धेरै त्यस्ता लुकेका तथ्य र हिंसाका श्रृखलाको चित्रण चाहिँ पक्कै गरेको छु । माओवादीका मात्र कुरा छैनन् यहाँ । ००७ सालमा पूर्वमा भएको राजनीतिक बिद्रोहका नायकहरुको आज कतै पनि चर्चा हुने गरेको पाइँदैन । मैले यो पुस्तकमा ती नायकहरुका बारेमा सत्यतथ्य उजागर गर्ने कोशिस मात्र गरेको छु । ०२८ सालको बिद्रोहका नायकहरु जसले आबेगमा या होसमा हतियार उठाए, आज ती सबै मेरो किताबका पात्र छन् ।
युद्धले कसलाई फाइदा गरेको छ ? कुन देशमा युद्धका सञ्चालकको प्रगति भएको छ ? युद्धको मारमा स्वयम् युद्धकै सञ्चालक पनि परे । एउटा गरिवको छोरो प्रहरी भयो, सेनामा जागिर खायो त उसले के गल्ति गर्यो र ? देश र जनताका लागि सङ्घर्ष गर्दे आमुल परिवर्तनको सपना देख्ने एउटा क्रान्तिकारीले युद्धमा ज्यान गुमायो । आखिर उसको परिवारले के पायो ? आज पनि १५ सयभन्दा बढी मान्छे बेपत्ता छन् । उनीहरुका परिबार आज पनि लाश कि सास देउ भन्दै चिच्याउँदै छन् । कितावमा अकालमा युद्धकालमा ज्यान गुमाउनेका धेरै कुरा छन् ।
मैले पुस्तकमा माओबादीका गल्ति कमजोरी मात्र उठाएको छैन । उनीहरुका सङ्घर्षका कथा पनि समेटेको छु । एउटा क्रान्तियोद्धाले कसरी ज्यानको आहुती गर्नुपर्यो, शाही सेनाले कसरी क्रान्तिविरुद्ध धावा बोल्थ्यो । यतिसम्मकी, माओवादी कार्यकर्तालाई प्रलोभनमा पारेर, दवाबमा पारेर कसरी माओबादी कार्यकर्ता पक्रन्थ्यो । त्यस्ता धेरै घटना किताबमा छन् । जसले १० बर्षे युद्धकाललाई झल्झली सम्झाउँछ । यो किताब बिस्तारै बिलुप्त हुँदै जाने इतिहासको संरक्षक हो । यसो गर्दा मैले कसैको आरोप खेप्नुपर्ला जस्तो लाग्दैन । बरु तीनै मानिसहरु जसका बारेमा किताबमा चर्चा छ, उनीहरुका सङ्घर्सका गाथा पढेर धेरैले शाहस बटुल्न सक्छन् ।
समाचार लेख्दा सबै कुरा समेट्न सकिँदैन रहेछ । पुस्तकमा मैले सम्झिएजति सबै घटनालाई समेटेको छु । समाचार लेखेजस्तो सजिलो चाहिँ रहेनछ पुस्तक लेख्न । समाचार लेख्दा सामान्य अनुसन्धान र सोधखोज पर्याप्त हुन्छ । पुस्तकका लागि त्यतिले पुग्दै पुग्दैन । अझ यथार्थतामा आधारित पुस्तक लेख्दा त धेरै नै अनुसन्धान गर्नुपर्दो रहेछ ।