२७ कात्तिक, सर्वोच्च अदालतले बहुबिबाहको मुदमा आफूलाई पक्राउ नगर्न अभिनेत्री शिल्पा पोखरेलले हालेको रिट निवेदन खारेज गरेपछि शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ ।
मंगलबार न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको इजलासले पोखरेलको रिट खारेज गर्ने निर्णय गरिदिएपछि शिल्पालाई पक्राउ गर्न बाटो खुलेको हो।
सिनेमा निर्माता छबि ओझा तथा अभिनेत्री पोखरेलविरूद्ध ओझाकी जेठी श्रीमती हेमा ओझाले बहुविवाह गरेको भन्दै उजुरी हालेकी थिइन।
हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो। जिल्ला अदालतले पुर्जी जारी गरेपछि नायिका पोखरेलले उच्च अदालतमा पक्राउ पुर्जी खारेज गर्न निवेदन दिएकी थिइन्।
गत २४ साउनमा उच्च अदालतले जिल्ला अदालतकै आदेश सदर गरेपछि शिल्पालाई पक्राउ गर्ने बाटो खुलेको थियो।
सो आदेशविरूद्ध उनले गत २९ साउनमा सर्वोच्चमा रिट दायर गरेकी थिइन। त्यसपछि अदालतले भदौ १ गते पक्राउ नगर्न अन्तिम आदेश दिएको थियो।