मन परे सिधै भन्छु ‘आइलभयु’ : संगीतकार निलम

नेपाली गीत संगीतमा निलम रोजु राईको निक्कै राम्रो उपस्थिति छ । गीत, गायन र संगीत मध्ये निलमको मुख्य क्षेत्र संगीत हो । स्वाभाविक रुपमा महिलाहरु संगीतमा निक्कै कम छन् । अरु पेशामा जस्तै संगीत सृजना पुरुषहरुकै पेवा जस्तो देखिन्छ । तर जबरजस्त निलम जस्ता महिला संगीतकारको उपस्थितिले त्यो विम्ब विस्तारै भत्किदै गइरहेको छ ।
उनी गीत लेखन र गायनमा समेत उतिकै दखल राख्छिन् । यस क्षेत्रमा जति डायनामिक छिन् जीवन भोगाई पनि उस्तै छ । उनको जन्म पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका (साविकको प्राङबुङ गाविस) मा भएको हो । सानैमा बुवा आमा भारतको मणिपुर बसाई सरे । उनको बाल्यकाल मणिपुरमै बित्यो । त्यसपछि पथरी आएर पढिन । एक दशक यता व्यस्त शहर काठमाण्डौमा संघर्षरत छिन् ।
बाल्यकालमा अनेक सपनाहरु थिए । जे देख्यो त्यहि बन्छु भन्थिन । सामान्यतय यस्तो सबैलाई हुन्छ । सबै भन्दा धेरै फुटबलर बन्ने चाहाना थियो । उनी विद्धान बन्छु भन्थिन । व्यापारी बन्छु भन्थिन । मन्दिरको पुजारी बन्ने पनि खुबै रुची थियो । केही न केही गरौ भन्ने हुटहुटी थियो । यी सबै बन्न त सकिन । बरु कल्पनै नगरेको क्षेत्रमा अकास्मत हामफालिन र सफलता पनि प्राप्त गरिन ।

संगीतकार बन्नुको पनि छुट्टै पृष्ठभूमि छ । भाईबहिनी स्कुल पढ्थे । जस मध्ये एक जना भाई संगीत सिक्थे । काठमाण्डौको सुरुवाती दिनहरु निक्कै संघर्षपूर्ण थियो । भाइबहिनीलाई पढाउने बढाउने जिम्मेवारी उनकै काँधमा थियो । काठमाण्डौमा जागिर गर्थिन । विरामी भएर भएको जागिर पनि छोड्नु पर्यो। घरमा आराम गर्दै किताबहरु पढिन् । किताब पढ्दा उनमा संगीत गर्न सक्छु भन्ने आत्मविश्वास पलायो । त्यहि टर्निङप्वाइन्टले आज संगीतकारको रुपमा स्थापित छिन् ।
संगीत क्षेत्रमा होमिएको छोटो समयमै निलमले सय बढी गीतमा संगीत भरिसकेकी छिन् । उनको पहिलो सोलो एल्बम ‘हरपल’ ले उनलाई संगीतिक आकाशमा स्थापित गरायो । यो मनमा सायद, पटुकी झै, चौबन्धी चोलिमा … उनका चर्चित गीतहरु हुन । पहिलो एल्बमबाट उत्साहित भएर हरपल दुईको तीव्र तयारी गरिरहेकी छिन् । कलेक्सन एल्बमहरुको संगीतमा व्यस्त हुनु पर्ने भएकाले हरपल दुई अलिपछाडी धकेलिएको छ ।
देशका चर्चित कलाकारहरुले उनको  संगीत रहेका दर्जनौ गीत गाइसकेका छन् । नेपाली सांगीतिक आकाशमा महिलाहरु संगीत सृजनामा नलागेको भने होइन । रेखा शाह, मीरा राणा, शान्ति ठटाल जस्ता संगीतकार थिए । तर उनीहरुले केही गीतमा संगीत भरे पनि व्यवसायीक रुपमा संगीत कर्म गरेनन् । अहिले भने ‘व्यवसायीक रुपमा संगीत गर्ने एक्ली महिला संगीतकार हुन निलम । महिला संगीतकार भनेर कामका सिलसिलमा कुनै अप्ठ्रो नभएको उनी बताउछिन् । भन्छिन महिला संगीतकार हँ भन्ने महसुस हुँदैन । हेप्न सक्दैन । कसैले हेप्न खोजे प्रतिवाद गरिहाल्छु । सबैको माया पाएको छु । स्टुडियोमा राम्रो रेस्पोन्स छ । आफ्नै परिवेश छ । मेहनतका साथ काम गर्ने र चित्त बुझेपछिमात्र कम्पोज बाहिर ल्याउने भएकाले पनि होला राम्रो कमेन्ट छ ।’ अनौपचारिक ज्ञानबाटै संगीतमा लागेकी निलम औपरारीक शिक्षा गुरुदेव कामत, गुरुकुल स्कुलबाट लिइन । मानव सभ्यतासंगै कला संस्कृती, गीत, संगीतका सुरुवात भएको ठहरछ उनको । त्यहि भएर यस देशका विभिन्न समुदायसंग रहेका लोकसंस्कृती र लोकसंगीतलाई बचाइ राख्न राज्यले विशेष भूमिका निर्वाह गर्नु पर्ने उनको धारण रहेको छ ।
बाल्यकाल मणिपुरमा विताए पनि उनले त्यहाँ आत्मियता पाइनन् । मन नेपालमै रमाएको छ । संगीतका तीव्र धावक उनले मन विसाउने चौतारी भने भेटाएकी । भ्यालेनटाइनडेका बेला टिनेजर्समा फुलको मुठै बोकेर आउने मान्छेहरुको तस्विर ताजैछ । हिम्मतवाली उनले सिंधै हुँदैन भने । यति भन्दैमा मात्र उनलाई हिम्मतवाली भनिएको होइन । भन्छिन् ‘मनको हिरो फेला परे सिधै भन्छु ‘आइलभयुु’ ।

Published On: Time : 4:53:36  2991पटक हेरिएको

तपाईको प्रतिक्रिया