भात खान पुगेको छ –खगेन्द्र कुमार लिम्वू, गायक तथा लोक गीत संकलक

“दुईचार वचन बोलुकी कान्छिउ त्यो मन लिनलाई, तिमीलाई भनि साँचेको मैले जिन्दगी दिनलाई” । “बाढिमा आयो गैरी खेत बगायो धानको विऊ, सम्झनामात्रै रहिरहने मरेर जाने जिऊ” चुङ्वा दोभान…. ख्याल ठट्टा गर्दैमा वित्यो जीवन…. । आफ्नै शब्द र संगीतमा पूर्वेली गायक तथा लोक गीत संकलक खगेन्द्र कुमार लिम्वू (४०) ले उक्त बोलको गीत सुनिता सुब्बा र मुधु गुरुङको साथमा गाए । उक्त पूर्वेली भाखाको दोहोरी गीत निकै चर्चामा रह्यो । उनको गीत सुन्दा र हेर्दा जोकोहीलाई आफ्नै गाउंघर पुगेको अनुभव हुन्छ । हेर्दा लाग्छ उनी ठ्याक्कै पूर्वेली नेपाली ठिटो । नेपाली टोपी, दौरा सुरुवाल, गोल्डस्टार जुत्ता र रातो गलबन्दिमा देखिनु उनको परिचय हो । पूर्वका लोक गायकहरुमा एलपी जोशी, शम्भु राई, जीतेन राई, कविता आले, लक्ष्मी सुब्बा र पूर्णकुमार काम्वाङ पछिका खगेन्द्र कुमारले पूर्वी लोक भाकालाई बचाइरहेका छन् । पूर्वी ताप्लेजुङ जिल्लाको हाङपाङबाट गायक बन्ने सपना पालेर झरेका थिए धरान । सोह्र वर्षे ठिटो एसएलसी पास गरि उच्च शिक्षाका लागि धरानमा आफन्तकोमा बस्दै संगीत सृजनामा लागे । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट आइए सकेपछि राजधानी हान्निए । राजधानीमा पनि कम संघर्ष गर्नु परेन उनले । तर पनि पूर्वेली लोकभाका जोगाउन लागिपरेका उनको पाइला रोकिएन । पहिलो पटक उनले २०५५ सालमा सोलो एल्वम आफ्नै संगीत र शब्दमा धुलो लाग्छ की नामको एल्वम निकाले । हाल काठमाण्डौ धुम्वाराहीमा बसोबास गर्दै आर्ईरहेका उनी अहिलेपनि उत्तिकै मिठास पूर्ण पूर्वेली भाकाहरु संकलन गर्छन् । संगीत भर्छन र गाउंछन् पनि । क्रमश उनले चुङवा दोभान, भञ्ज्याङ चौतारी, वेसी फुल्यो रातो धएरो, यो मेरो माया, माघेनी मेला, मुन्धुम, गन्तव्य र खोरङवा खोला लगायतका आफ्नै संगीत र संकलनमा एल्वमहरु निकाले । उनले पूर्वेली लोक गीत, लिम्वू गीत, आधुनिक गीत, जुहारी गीतहरु पनि संकलन गरि संगीत भरेका छन् । उनका एक दर्जन बढी पूर्वेली भाकाका गीतहरु हिट बने । अहिले उनिसंग आफ्नै राजधानीमा युमा क्यासेट एण्ड कल्चर सेन्टर छ । संगीतमा लागेको पनि निकै वर्ष विते । तर कमाई भने गर्न नसकीएको उनि गुनासो गर्छन् । तर पनि अहिलेसम्म जेनतेन भात खान पुगेको बताउने खगेन्द्रसंग टुडिखेलको गाउँले भलाकुसारी :

लोकभाकामा कसरी लाग्नु भयो ?
ताप्लेजुङबाट धरान क्याम्पस पढ्न झरेको थिएं । त्यो समयमा धरानमा युवापुस्तामा पूरै वेस्टर्न कल्चर पाएं । तर आफू गाउँबाट आएकाले आफ्नो गाउंघरको संस्कृति जोगाउन मन लाग्यो । त्यस बेलाका साथीभाईको संगतले पनि यता लाग्न प्रेरीत गर्यो।
लोकभाकामा यति लामो समय किन लागिरहनु भयो ?
नशा लागे जस्तै भएको छ मलाई लोकभाका छाडेर जान नसक्ने अवस्थामा छु । अब अग्रजका प्रेरणाले यसमै अब लागिरहुँ जस्तो लाग्छ । तर हरेश खाएको भने छैन ।
अनि लोकभाकाले जीवन कस्तो चल्दैछ ?
अप्ठ्यारो त छ नै । साँच्चै यसमा लागेको यतिका भयो भात खान मात्र पुगेको छ । तर मलाई यहि लोकभाकाले चिनाएको पनि छ । यसमै खुशी पनि छु ।
तपाई पूर्वेली लोकभाकामा मात्रै किन गीत गाउनुहुन्छ ?
मलाई साथीभाईले पनि यस्तै प्रश्न गर्छन् । अब अरु के गरुं ? आफूले जानेको यति हो । त्यही जानेको बाँकी रहेको पूर्वेली भाकालाई जोगाउने प्रयासमा छु ।
पूर्वेली भाका कसरी संकलन गर्नुहुन्छ ?
म लिम्वूको छोरो एउटा संस्कृतिकर्मी पनि हुँ । मेरो धेरै समय गाउँघरमा गीत संकलनमै वित्छ । मैले लिम्वूको पालाम, हाक्पारे र ख्यालिमा रहेका शब्द शैलिलाई नेपालीमा जुहारी गीत बनाएर सवैले बुझ्ने नेपाली भाषामा उल्था गरेर भाकामा गीत गाउने गरेको छु । जसलाई सवैले मन पराएका छन् ।

Published On: Time : 16:53:00  860पटक हेरिएको

तपाईको प्रतिक्रिया