मुन्धुमी मत अनुसार यो विश्व ब्रह्माण्ड शुरुमा सूर्य, चन्द्र, पृथ्वी, आकाश, हावा, बोटविरुवा, जीव, तारा, पानी र धर्ती केही पनि थिएन् खाली शुन्यता मात्र थियो। त्यही शुन्यताको समयमा तागेरा निङवा भु माङ अस्तित्वमा आउँनु भयो र लगतै उहाँले नै पोरोक्मी यम्फामी माङ प्रगट गराउँनु भयो। तागेरा निङवा भु माङको आशिार्वादले पोरोक्मी यम्फामी माङले सूर्य, चन्द्र, पृथ्वी, आकाश, हावा, बोटविरुवा, जीव, तारा, पानी र जमीन सृष्टि गर्नु भयो। यी यतिका धेरै चिजहरु सृष्टि गरेर पनि यो पृथ्वीमा केही न केही कुरामा कमी भएको तागेरा निङवा भु माङलाई महसुस भयो र फेरी पोरोक्मी यम्फामी माङलाई मानव बनाउन आदेश दिनु भयो।
आदेश अनुसार पोरोक्मी यम्फामी माङले सबै भन्दा पहिले मानवरुँपी चाँदीको मूर्ति बनाए पछि बोलाए तर बोली फुटेन्। बोली नफुटे पछि अर्को सुनको मूर्ति बनाएर बोलाए त्यसको पनि केही प्रतिक्रिया नआए पछि उनले तागेरा निङवा भु माङ समक्ष विन्ती चढाए। बिन्तीपछि तागेरा निङवा भु माङको आज्ञाले पोरोक्मी यम्फामी माङले खरानीको पहेलो माटोको लेउ, खरमाथि जमेको जल, शीत र वर्षाको पानीसंग मुछेर मानवरुँपी आकृति तयार पारेर आत्मा र श्वास भरी दिनु भयो र बोलाउँनु भयो। बनाई सकेर उक्त आकृतिलाई बोलाउँदा हँ भनेर जवाफ फर्काउँनु भयो। यसरी तागेरा निङवा भु माङको अदृष्य शक्ति र पोरोक्मी यम्फामी माङको निरन्तर प्रयासबाट बोल्न सक्ने जिवित, विवेकशील मानवको पहिलो सृष्टि गर्नु भयो।
यसरी थाक्थुङ लिम्बू मुन्धुमी सिद्धान्त अनुसार मानव उत्पति अरु कुनै प्रक्रियाबाट नभएर यही याक्थुङ– लिम्बू क्षेत्रको हिमाल पर्वतमालामा उत्पति भएको मुन्धुमी खोजमा भेटिन्छ। वास्तविक स्थान यकिन गर्न नसकिए पनि मानव उत्पतिको पहिलो थलोको रुपमा हिमाल पर्वतमाला फक्ताङलुङ–कुम्भकर्ण हिमालको काखको मुनातेम्वे–मनातेम्वे –मना पोङ तेम्वे आसपासको क्षेत्रलाई मानिन्छ भने कातिपयको मतमा कैलास पर्वत नै मुना तेम्वे हो र त्यसको काखमा रहेको पवित्र मानसरोवर–सोधुङगेन वरकमा नै तागेरा निङवा भु माङका–मुजोत्लुङ खेजोत्लुङ माङको आशिर्वादले मुजिना–खेयाङना नामकी पहिलो महिला मानवको सृष्टि गरेको विश्वास गरीन्छ। यसरी प्रथम मानव स्त्रीको सृष्टि भएपछि मानव चोलाको निरन्तरताकोक्रममा खोङलिसो वेत्लासो भन्ने स्थानमा तिनले सुरित केजङ–वायुद्धारा गर्भधारण गर्न पुगिन्। तिनको कोखबाट सुसुङगे–लालाङगे नामको पहिलो पुरुषको जन्म हुनपुग्यो।
खासमा प्रदेश एक अन्तर्गतको तमोर सभ्यता नै वास्तविक याक्थुङ सभ्यता हो। किरात याक्थुङ जातिको इतिहास, सभ्यता र संस्कृति यहीबाट सुरु भई संसारको विभिन्न भागमा फैलिएको हो र यहीबाट विभिन्न किरातहरु पनि हाँगा छुट्टिएको विभिन्न अध्ययनबाट ठोक्कुवा गर्न सकिन्छ। यही सभ्यता याक्थुङ लाजेको उपज हो।
यस खोज अनुसन्धानबाट के निष्कर्षका पुग्न सकिन्छ भने मानव सृष्टि मुन्धुमी सिद्धान्त पनि वैज्ञानिक सिद्धान्त जसरी नै ब्रह्माण्डको महाविष्फोटबाट भएको भौतिकवादी दृष्टिकोणबाट व्याख्या र विष्लेषण गरीन्छ। तर यतिका महत्वपूर्ण भौतिकवादी मतलाई खोज अनुसन्धान र राज्यले नै मान्यता दिएर यसलाई अझ फराकिलो दायरा गर्नुको सत्ता झन घाँटी निमोटेर रुँवाई रहेको छ। त्यसैले त मुन्धुमको माटो रुई रहेको छ। आँसु पुछने एउटा रुमालको प्रतिक्षामा बसिरहे छ।