सरकार गठबन्धनबाटै, भोली टुंगो लाग्नेः ज्ञानेन्द्र कार्की

पौष ९, काठमाडौँ
नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सरकार गठनबारे भोलि सहमति हुने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले गठबन्धनकै सरकार बन्ने गरी छलफल सकारात्मक भएको र भोलि सहमति सार्वजनिक गर्ने दाबी गरेका हुन् । उनले गठबन्धनका नेता को पहिले र को पछि प्रधानमन्त्री बन्ने भन्ने विषय गौण भएको र देशको हितमा सहमति हुने बताए ।
छलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । भोलि फेरि एकपटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो उनले भने मूल कुरा देशको हितमा कसरी अगाडि बढ्ने भन्ने हो । प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले दाबी गरिरहेका छन् ।

पाँच दलीय बैठकमा चुनावपछिको समग्र घटनाक्रमबारे समीक्षा भएको र उक्त समीक्षाअनुसार चुनावबाट आएको जनमतलाई सम्मान गर्दै अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको नेता कार्कीले बताए ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपतिले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी थिइन् । गठबन्धन दलहरू अहिले सरकार गठनको तयारीस्वरुप निरन्तर छलफलमा छन् ।

Published On: Time : 20:37:09

तपाईको प्रतिक्रिया