नेपालमा माओवादीको फरक पहिचानका लागी डिजिटल आर्मी तयारी गर्नु पर्ने

मंसिर २५, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय नेकपा माओवादी केन्द्रले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औँल्याए । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण रव्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रूपमा विकसित गर्न नसकेको प्रस्ट पारे ।

‘माओवादी आन्दोलन अहिले आइडेन्टिटी क्राइसिसमा पर्न थालेको छ,’ उनले भने, ‘हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो, हाम्रो कपडा, हामीले खाने खाना, हाम्रा नीतिले छर्लङ्गै देखिन्थ्यो यो माओवादी हो भनेर ।’

जनतासँग घुलमिल हुने, सरल जीवन, कठोर मेहनत गर्ने, आफ्नो पार्टी, नेतालाई माया गर्ने त्यो आइडेन्टीटी हराउँदै अहिले आएर सबै दल उस्तै रहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो । उनले प्रेस सेन्टरका पदाधिकारीलाई युनिक आइडेन्टीटी बनाउनेतिर छलफल, अध्ययन, चिन्तन गर्न पनि सुझाव दिए ।

मिडियामा आक्रामक ढङ्गले प्रस्तुत नहुने हो भने जनताले विकासका कुरालाई मात्र महत्त्व नदिने उनको भनाइ थियो । ‘नयाँ पुस्तालाई जनयुद्धबारे केही थाहा छैन । प्रशिक्षित गर्न सकेका छैनौँ,’ उनले भने, ‘डिजिटल युगमा छौँ, अहिलेका युवाहरूको स्कुलिङ इन्टरनेटबाट हुन्छ । सोसल मिडियामा हाम्रो हस्तक्षेप व्यवस्थित भएन भने हामी प्रतिक्रियावादीलाई काउन्टर दिन सक्दैनौँ ।’

उनले सोसल मिडियाका लागि डिजिटल आर्मी तयार गर्नुपर्ने खाँचो पनि औँल्याए । एक्सपर्टका साथसाथै सोसल मिडियामा विशाल फौज चाहिने उल्लेख गर्दै उनले माओवादी केन्द्रसँग भएको जनमत, कार्यकर्ता पङ्क्तिलाई यसमा प्रयोग गर्न सकिने बताए ।

Published On: Time : 18:58:26

तपाईको प्रतिक्रिया