नवीन वनेम
१.मुन्धुम संक्षीप्त परीचय
मानव जिवन र जगतको सृष्टि, भलो र प्रगतीको सारसंक्षेप नै मुन्धुमको सारतत्व हो । मुन्धुम शब्दको उत्पति मुन– हल्लीनु, थुम+ दुम– जोड्नु, मुन+ दुम –मुन्धुम हुन्छ । अथवा हल्लीरहने शक्तिशाली तत्व जोडीएर कुनै अर्थ लाग्ने वस्तु वा सिर्जना हुने शब्दको नाम नै मुन्धुम हो । मुन्धुम सावायेत्हाङहरुको प्राचिन भाषा, अङसी देवअङसीहरु (अवतारी)को देववाणी र मौखीक शास्त्रादीहरुको समग्र रुपहरु हुन् ।
थुङसाप मुन्धुम (श्रुति शास्त्र) तथा साक्मुरा वदेम्मा मुन्धुम अनुसार परमात्माको मानव बनाउने विभिन्न प्रयासमा मेन्छ्यामयाप्मी मुजिना खेयङना(ईश्वररुपी स्त्रीरुप) बोलिकन विस्तारै हुर्केर मस्त जवानी भई यौनतृष्णाले छटपटीएर रुखमाथी खुट्टा हल्लाउदै हावा खाई बस्दा हावाको माध्यमले मुजिना खेयङनाको योनिमा कालो वायु (ईश्वरमाङको विर्य) प्रवेश गरी जन्मेको सुसुवे लालाङवे (युक्पुङगेन सावागेम्बा) नै प्रथम मानव पुत्र मानिन्छ । मुन्धुम अनुसार जिवांश भनेको सिमिक्सा खाप्पु(खरानी), वहीचेलेक्ना (कुखुराको सुली), वादुम याक्वा वा आकाशे पानी जो ढुंगाको खोपिल्टो वा कुनै पानी जम्ने ठाउँमा जम्मा भएको पानीमा आवश्यक जिवांशहरु जम्मा हुन गई तागेरा निङवाफुमाङ(सोच्नेवितिकै आईपुग्ने उज्यालोरुपी ईश्वर) को आशिर्वादले मानिसको सृष्टि भयो । क्रमशः मानव जाति संसार भर फैलिए । यसरी नै थुप्रै मानव सृष्टि पुर्व ग्रह, आकाश, तारामण्डल, साथै पछी जिवहरुको उत्पतिवारे मुन्धुमले व्याख्या गर्दछ ।
२. मुन्धुम, ईतिहास र मैवा थुम
मुहिङगुम लेक्वा “मनापोङ तेम्बे” समथर भुभागको जिवधारण गर्नसक्ने तलाउ बाट मानव सृष्टि भए पछि संसारभर छरीएर मानिसहरु जान थाले । लामो कालखण्डमा सावायेत्हाङ (विद्वत पुर्खा) का सन्तानहरुमध्ये कुनै करीब ५००० वर्ष अघि सिमांगढसम्म आईपुगे । उनीहरुले पुर्वबाट आई नेपालमा यलम्बरहाङको नेतृत्वमा आई बसोवास गर्न थाले ।
हज्सन पाण्डुलिपी खण्ड ८४ पृष्ठ २४२ को तेश्रो लहरमा लेखीएको अनुसार फागु मुनातेम्बेबाट आई सीमांगढ पुग्यो । सिरेङ, साँवा, खेवा, आङबाङ, इवा, खजुम मुनातेम्बेबाट आई सीमलोंगढ हुदै फेदाप आईपुगेको उल्लेख छ ।
ईतिहासकार ईमानसिं चेम्जोङ, किरात ईतिहास (२०५९) को पृष्ठ १५ मा उल्लेख भए अनुसार उनै यलम्बरका सन्तान पछिबाट ईशाको ३०० वर्ष पछी फेदापमा फागो पुर्खा वाजदेव राजा भएका थीए । उनी भाइफुट्टावंशि थीए । उनै बाजदेवका सन्तान हाङयुम्बाले मैवा सिंहासन पाए । हाङयुम्बाका सन्तानहरु मैवा थुमका फागोहरु हुन् । मैवा क्षेत्रलाई मुन्धुमी भाषामा सिन्धोलुङ मैवा भन्ने गरीन्छ । फागोहरुमा वनेम, थाङदेन, तेम्बे, ओख्राबु, चोङवाङ, सिङयेम, माङदेन, फाबेन, यकयुक, पाङमा, संयोक, मास्वा, पंधाक आदि हुन् । हाङयुम्बाले पिरीङगेमा आफ्नो माङगेना पुजा गरी यक बनाएका हुन् । हाल सम्पुर्ण फागोहरुको माङगेनायक पिरीङगे हो । आज यही मैवा ईतिहासको पहिचान स्वरुप राज्यले मैवाखोला गाउँपालिकाको निर्माण गरेको छ ।
मैवा क्षेत्रमा विभिन्न समयमा विभिन्न जातजाति र समुदायले घुमन्ते फिरन्ते जिवन यापन गरेको पनि लोकश्रुति छ । लेप्चाहरुले पनि जंगली अवश्थाको मैवा क्षेत्रलाई कुनै समय आवाद गरेको लोकउक्ती पाइन्छ । तान्त्रीक ब्राम्हणले पनि मैवा क्षेत्रमा भयानक जंगली जनवारमाथी समर गर्न र दुःख दिने नागहरुलाई धपाउन योगदान गरेका भनाई छ । हाङयुम्बा अघी पछी यस मैवा क्षेत्रमा समुदायगत सामुहीक आर्थीक प्रणाली रहेको बुझिन्छ । Tribal Phase को आर्थीक राजनीतिक प्रणाली रहेको बुझिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभीयान चलाए पश्चात मैवाथुम नेपालमा गाभीएर व्यक्तीगत सम्पतिको प्रणाली शुरुवात भयो र वर्गको नीर्माण भयो । वास्तवीक जातप्रथा आधुनिक नेपाल निर्माण पश्चात मैवा क्षेत्रमा भित्रिएको हो । यहाँ हाल आएर लिम्बु बाहेक क्षेत्रि बाहुन, कामी, दमाई, शेर्पा, तामाङ आदि जातजाति पाइन्छन् ।
जिवन र जगतको सृष्टि, ईतिहास वंशावली, र ज्ञान परम्परा पुस्तान्तरणलाई बुझ्ने, हेर्ने र व्याख्या गर्ने क्रममा यीनै मुनातेम्बे, सीमांगढ, फेदाप र मैवाथुमको जिवनकथाहरु लोकउक्ति र जनश्रुतिहरुमा जिवन्त पाइन्छन् । मुन्धुमवर्णीत स्थल, प्रतिक र बिम्वहरु पाइन्छन् । यीनीहरु मानव सभ्यताको माइलस्टोन हुन् । मानव जातिकै बौद्घीक सम्पत्ति हुन् । यीनको संरक्षण, सम्बद्र्घन, विकास र प्रचार प्रसार हुन सके मैवाखोलावासीको प्रतिष्ठा उचो हुनेछ । गौरवको विषय हुनेछ । मैवाखोला क्षेत्रका मुन्धुम वर्णीत स्थलहरु छायांकन गरी प्रचार प्रसार गर्नका लागी मुख्य मुख्य स्थलहरुको लोक कथा र मुन्धुम आधारीत पटकथा यसप्रकार छन् ।
क) वसाङलुङ
वसाङलुङ येवाहरुको उत्पतिस्थल मैवाखोला गाउँपालिका वडा नं. ६ को साम्तोङ गाउँमा पर्दछ । सिन्दोलुङ जलजले हिमालको दक्षिण पुर्वमा रहेको समुन्द्र सतहबाट ५००० मिटर उचाइमा रहेको छ । वसाङलुङ चट्टान करीब १५० मिटर उचाई र ५० मीटर फराकीलो गोलाई रहेकोमा टुप्पो र आसपासमा बुट्यानहरु छन् । यसको टुप्पोमा धुपी, काउलो, घुङरीङ, तितेपाति, माङलोक, माङयाङबुङ, आदि बुट्यानहरु छ भने बिचमा ६ फीट गहीरो पोखरी जसलाई वदुमपक्वा भनिन्छ । लिम्बुको फेदाङमा येवाहरुले कुनै पनि संस्कारमा बटुकोमा पानी राखी उपासना गर्दछन् जसलाई वदुमचक्वा च्वात (पवित्र पानी) भनिन्छ ।
सिन्धोलुङ फागो वनेम वंशावली, इतिहास र मुन्धुम पुस्तकमा उल्लेखीत वसाङलुङको मुन्धुमी आख्यान अनुसार ईम्बीरी याङधाम्बा (तमोर नदी) पश्चिम भेग काई लासो भन्ने जग्गामा तेल्लारा लाहाङदोना र सुहाम्फेवा दाजु बहिनी बीच काई सोदोक (हाडनाता करणी) भई पेलि फाङहाङ र सावायेत्हाङहरुको जन्म भयो । यो कुरा तागेरा निङवाफुमाङले थाहा पाए पछि वंश र रक्त नाता सम्बन्ध छुट्याउने आदेश भई आउदा ज्ञानबोधी सावायेत्हाङहरुले सभा राखी रक्तसम्बन्ध र वंशसम्बन्ध साइनो केलाए । यसरी सबै जन्मीएकाहरुलाई चाँदीको चाल्नीमा राखी सम्बन्ध केलाउदा तल झरेका ८ जना लाहाङदोनाको भागमा र सुहामफेवाको भागमा ९ जना परेका थीए । एक जना चाल्नीमै अड्कीए पछी बाबु आमाले तानातान गर्दा चुडीएर मरे पछी येवाहरुको काम्ने गुरु सामेधुङमा येप्मेधुङमा बनीन् । लाहाङदोना र सुहामफेवा उनीहरु कहील्यै नभेट्ने बाचा गरी छुट्टीए । चेली माइती र रक्त सम्बन्धबीच को यौन सम्बन्ध बर्जित गरे । फाङहाङ सावायेत्हाङहरुले विभिन्न समयमा विभिन्न ठाउँमा बाँच्नका लागी संघर्ष गरे ।
जिवन जगतको शुरुवाती मानवचेतनाको ज्ञान र बोध स्वभावीक कमी थीयो । जब बिप्पुथाप भन्ने ठाउँमा पुगे त्यहाँ साँढे गोरुको जुधाइमा सीङबाट आगोको झील्को नीस्की गोबरमा गएर बल्यो र विस्तारै आगो सल्केर डढेलो जंगलमा लाग्यो । डढेलोको कारण मृत जनवारका मासु खान पाए । अन्य मिष्ठान्न भोजन पाए । फाङहाङ सावायेत्हाङ मध्येकै एक जनाले गोबरमा आगो टिपेर ल्याए । तर अज्ञानताले आगोलाई नियन्त्रणमा राख्न नसकेकोले थुप्रै आगोले नोक्शान गरायो । शायद बल्ल मानव आगोको आवीस्कार युगमा पुगे ।
सावायेत्हाङहरुका पिता सोधुङगेन लेप्मुहाङकोमा आगोले हैरान भए पछी कान्छा छोरा सेत्छेरे सेनीहाङ याफेदाङमा बिन्ती बिसाउन पुगे । सोधुङगेन लेप्मुहाङले आफ्ना सन्तती सावायेत्हाङहरुको आगोको हैरानीबाट बचाउन शत्तिशाली येवाहरु पठाए । उनीहरु दैवीशक्तिबाट उडेर आई वसाङलुङको टुप्पोमा नाचिरहे । उनीहरुले साम्सीङ, मुक्तो, धुपी, सेल्लोसीङ, माङयुक्पा, युक्मीबा मिलाएर राखे । जब सावायेत्हाङ हरुले लाङदाङपोक्मा राखी स्वागत सत्कार गरे तब उनीहरु तल जमीनमा ओर्लेर नाच्दै नाच्दै सेत्छेरे सेनीहाङ या फेदाङ गाउँमा आइपुगेर आगोको शक्ति नियन्त्रणमा ल्याए ।
फाकुम्बाका साम्बा सञ्चबीर फाबेनका भनाइअनुसार येवाहरु विभिन्न समयमा अङसी (अवतारी) हरु आएन् । पहीला देवताका पालामा सोधुङगेन लेप्मुहाङको पालामा फथीम्बा या (उल्लु चरी येवा), तारेमा या (रानी चरी येवा), सोघिक्पा या (चिबे चरी येवा) हरु थीए । जब सोधुङगेन लेप्मुहाङका छोरा बाजाइबा तेन्दुम्याङले दिदिको हत्या गरेको जोखाना र फथीम्बा या ले भने पछी तितो सत्य भई पागल भएर सोधुङगेन लेप्मुहाङले छोरा बाजाइबाको पनि तरवारले काटि मारे र फथीम्बा (उल्लु) या को घाँटी छीनाए पछी दैवी शक्तिले जोडीयो तर घाँटी छोटो भयो । सोघिक्पा(चिवे चरी) या को पुच्छर काटियो । ताजीमा (रानी चरी) या को निधार खुतियो ।
एक अङसी सोजारा लुङधङ या (येवा) हुन् । उनी सिन्धोलुङ मैवापुन को वसाङलुङ पयङलुङ आसपास जन्मेका थीए । बालक हुँदा उन्युको पखेटा बनाई उड्ने प्रयास गर्दथे । तर उनको आमाले अशुभ ठानी फाली दिने गर्दथीन् । सोजारा जवान भए पछी बेस्सरी काम्न थाले । उनको बुवा आमाले के कसो हो ठानी मानीस भेला गराई सभा गर्दा उनलाई सिक्यामाक्या (बोक्सा) करार गरीयो र मार्ने फैसला गरे । गाउँलेहरुले सोजारा लुङधङलाई भीरमा लीस्नो र डोरी लगाई खागो काड्न पठाए तर लीस्नो र डोरी झीकी दिए । उनले भीरबाट निस्कन आफ्ना गुरु काङमु (बेसारे जस्तो ठुलो चिल) लाई पुकारे तर केही गर्न सकेनन् । अर्का गुरु खबुहाङ (ढेडु) लाई बिन्ती गरे पछी फयालुङ (खुकुरी उध्याउने ढुंगा) मा राखी उदार गरे । सोजारा आफ्ना बावु आमा भेट्न गए तर गाउँले बटुली हेलुक्वामा हीरीक हीरीक हुने गरी कुटेर साङलासीङको डुंगामा बाँधी मैवाखोलामा बगाई पठाए । तमोर र कावेली खोलाको दोभानमा जालहारी एक जना पोमुले जाल हान्दा सोजारालाई भेटे । सोजेराको घण्टी छुने वित्तिकै पोमु (पोमुकेत्छाङ) बेस्सरी काम्न थाले । पोमुकेत्छाङ फाखोलाको तिरैतिर गएर माथी फाखोलाको शिर वरक्पामा पुगी त्यहाँ रहेको चेप्टो ढुंगामा बेस्सरी नाचे । त्यस ढुंगामा येवाको आकृति बन्यो । पोमुकेत्छाङ या सँग उड्ने शक्ति भएको र उनले तमोरखोलातीरको कानायङबा राक्षसको वध गरेको भनीन्छ । अद्यापी मैवा क्षेत्र र फाखोलामा ठुलाठुला येवाहरु निस्कने गरेको जनविश्वाश छ । सोजारा लुङधङ या छेतछेती दैवीशक्ति भएको ठुलो येवा थीए तर स्थानीय गाउँलेहरुले पहिचान गर्न सकेनन् । थीङलाबुमा अहिले पनि हेल्लुक्वा भन्ने ठाउँ छ । वसाङलुङलाई येवाहरुको चोत्लुङ(प्रतिष्ठा, बैभव, शान) मानिन्छ ।
ख) खोर्याङमाङ (याक्वा वरक)
मैवा क्षेत्र शिर मिल्केबाट सुबेत्लुङ (जलजले पहाड) तिर जाँदा फाखङवा जाने बाटो देखी माथी घोप्टे पहाड पुग्नु अघि खोर्याङमाङ पोखरी रहेको जनविश्वाश छ । पोखरी फुटेर गएको डोब हेर्दा बटुको आकारको देखीन्छ । भनिन्छ पोखरीमा शक्तिशालि भुमरी चल्ने गर्दथीयो जसमा कतिपय पानी खान आउने भेडा, बाख्रा, चौरी समेत दुर्घटनामा परी मरे पछी यसलाई काली पोखरी वा अघोरी वरक भनीएको हो । याक्वा वरकले चौरी गाईहरु पनि खाने गर्दथीयो । यो भोट र विजयपुर सम्मको व्यापारीक बाटो पनि पर्ने गर्दथीयो । एकदिन ढोक्प्या लामाको चौरी र छोरा समेत यहाँ गायब भए पछी लामाले ३ दिन ३ रात इक्साताङ (कृष्णसारको सिङ) मा मन्त्र जपेर पोखरीमा हाने पछी फुटेर गयो भनिन्छ । जो हालको भुते पोखरीमा जम्न गयो भन्ने किंवदन्ती छ । शायद पहाडको सिद्दी स्थलमा जतासुकै पानी खान नपाउने हँुदा आउने जिव जनवार चिप्लेर दुर्घटनामा पर्न सक्ने हुन सक्दछ ।
जलजले पहाड पुर्वका बासिन्दामा अर्को भनाई छ की खोर्याङमाङले तक्मेप्पा (आँखा लगाएर) गरेर आफ्नो क्षेत्रमा भलो उन्नती प्रगति नभएको लोक भनाइ छ । यस जलजले पुर्वको मैवा क्षेत्रमा मुख्यतया हाङयुम्बा का सन्ततीहरुले विचरण गरे । यस भुभागमा विभिन्न कवीलाहरुले घुमन्ते फिरन्ते जिवनयापन वा आवादी, क्बिकज बलम द्यगचल भष्मे फडानी गर्ने जस्ता कार्य गर्ने गरेको पनि सुन्नमा पाइन्छ । बिचबिचमा लाप्चाहरु पनि आवाद गरेका थीए भन्ने भनाई छ । तीनै लाप्चाहरुलाई फागो पुर्खाहरुले धनुवाँण र घुयात्रो हानी विस्थापीत गरे । ती विस्थापीत लाप्चाहरुले आफ्नो आवादी भुमी गुमेको दुःखमा खोर्याङमाङ भाकल गरी सराप गरेकोले यस जलजले पुर्वका वासीन्दाको भलो नभएको लोक कथा छ । यो लोक भनाई र कथालाई मान्ने हो भने मैवा बासीहरुले खोर्याङमाङ याक्वा वरकको मान मनितो पुजा अर्चना गर्न जरुरी छ ।
खोर्याङमाङ याक्वा वरक मैवा बासीले मानमनितो नगरेको कारण फुटेर गएको र भुते पोखरीमा जम्न गएको छ । अझै पनि पीरोल्ने काम भईराखेको छ । यही भुते पोखरी खोर्याङमाङको मानमनितो ले समृद्दि हुनेछ भन्ने जनविश्वाश छ । तर यो पोखरीको कुनै मुल र निकास नभएकोले मानिस छेउमा जान डर लाग्दो छ । टाढैबाट देउराली बनाई पुजा गर्ने चलन छ ।
ग) मेन्छ्र्यायेम थेगु
समुद्र सतह देखी २८९० मीटर उचाईमा मछ्यायेम थेगु (डाँडा) रहेको छ । ताप्लेजुङको मैवाखोला गाँउपालिका, तेह्रथुम र संखुवासभाको संगम स्थल मेन्छ्यायेम डाँडा धार्मीक र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण छ । फुङवाचाङवा मुन्धुमका अनुसार आदिकालमा मेन्छ्यायेम थेगु माथी युमा साम्माङ (परमात्माको स्त्रीरुप अवतार, आदिशक्ति) ले ईश्वरीय अवतार तरुणीको रुप धारण गरेका थीए ।
सेन फेदाङ मानध्वज लिम्बु फाकुम्बाका भनाई अनुसार पोरोक्मी यम्भामी माङ (परमात्माको पुरुष अवतार)ले नेपाल देखी हेर्दा मेन्छ्रयायेम डाँडामा तरुनी लिम्बुनी केटी तान बुन्दै गरेकी देखे । पोरोक्मी यम्भामी माङ (भीमसेन)ले मन पराएर आईकन बिहा गर्न प्रस्ताव राखे । युमा साम्माङले तर अर्को प्रस्ताव राखे की यदी एकै रातमा मेन्छ्रयायेम डाँडामा आफ्ना लागी माङहीम (मन्दीर) बनाई दिइ सके बीहा गर्न तयार हुने । सोही शर्त मानेर पोरोक्मी यम्भामीले अरुणनदी बाट ढुंगा ओसार्न थाले । युमा साम्माङले अनुमान लगाइन् की करीब एकै रातमा माङहीम बन्न सक्नेछ । त्यसपश्चात युमा साम्माङ सेङवा लेङसीङ (उज्यालो भएको जस्तो आवाज दिइन्)। पोरोक्मी यम्भामी उज्यालो भएको ठानी बाजी हारेको मान्दै सबै ढुंगा राखी छाडेर फर्केर गए । उनी अरुण हुदै नेपाल (काठमाडौं) सम्म पुग्दा पनी धेरैबेर घण्टौ उज्यालो भएन । तब पोरोक्मी यम्भामी माङले बल्ल युमा साम्माङले झुक्याएछन् भनी महसुस गरे । अनी उनले रीसले ठुलो ढुंगा नेपालबाट छेलो ब्वाङगै हानी पठाए । यसरी अरुण देखी ल्याएको ढुंगा, नेपालबाट छेलो हानी पठाएको ढुंगा भनी विश्वाश गरेको मेन्छ्रयायेम डाँडामा पाइन्छ । मेन्छ्यायेमको शीरमा ओढार भीत्र तरुनी लिम्बुनीहरुको तीनवटा आकृतिहरु पाइन्छ भन्ने जनविश्वाश छ । मेन्छ्रयायेम थेगु लाई लिम्बुनी तरुनीहरुको चोत्लुङ (प्रतिष्ठा, बैभव, शान) मानिन्छ । मानव सभ्यताको महत्वपुर्ण चरण लुगाको आविष्कारलाई मानिन्छ । तीनै युमा (स्त्री) ले लुगाको आविष्कार गरीन् र मानव सन्ततीलाई उदार गरीन् । ती सभ्यताको प्रतिकको रुपमा लिम्बुहरुले युमा साम्माङको विशेष अनुष्ठान गर्दछन् ।
दुङदुंगे मुन्धुम अनुसार दुङदुंगे साम्माङ बराहक्षेत्रबाट आई याक्थुङ लाजे घुम्दा यीनै मेन्छ्रयायेम डाँडामा पनि घुमेको वर्णन छ । थुतुरवेदका ज्ञाता फेजिरी फेदाङमा, साम्बा, येवाहरुले आफ्नो मुन्धुमी उपासनाहरुमा मेन्छ्रयायेम थेगु वर्णन गर्दै सिद्दीमा पुग्ने गर्दछन् । मेन्छ्यायेम थेगु सँग जोडीएका गीत (हाक्पारे, साम्लो, ख्याली) ।
ख्याली
ए–मेन्छ्यायेम थेगु थो
पोरोक्मी लुङ हाः
लुङ हा रे कुबेसाङ
कःकफेत्ला फुङहाः
खेन फुङ हाः ग मु
सिसादिङ फुङ लो
सिसागेन फुङ हा
याक्थुङबा सुङःलो ।
साम्लो
थो थोनि गर मेन्छ्रयायेम थेगु
यो गर खरङवा
खरङवा यङघङ सक्तेपेरो
लुङमारक सहिम्मा ।
पालाम
माङयुक्ना थेगु मेन्छ्यायेमलो
सिसादिन मेन्छीन येप्मा देनलो
ए…..हामा….हा….
(सिन्धोलुङ फागो वनेम वंशावली, इतिहास र मुन्धुम, २०७०)
घ) पिरिङ्गे यक
पिरिङ्गे फागो माङगेना (Empowerment) यक फागो वंशिहरुको इतिहास सँग सम्बन्धीत स्थल हो । यो स्थल मैवाखोला गाँउपालिका वडा नं.२ को तेम्बे गाँउ मुनि पर्दछ । फागो वंश भित्र थाङदेन, तेम्बे, वनेम, ओख्राबु, चोङबाङ, सिङयेम, माङदेन, फाबेन, यकयुक, पाङमा, संयोक, मास्वा, पंधाक आदि पर्दछन् । याक्थुङबाहरुले आफ्नो संस्कार पुजा अर्चना भित्र माङगेना एक विधा पर्दछ । फेजिरी फेदाङमा, साम्बा, येवाहरुले माङगेना अनुष्ठान गर्दा यस्तै यक वा स्थल, पितृ पुर्खाहरुको घुमन्ते फीरन्ते कहानीहरुको वर्णन गर्ने प्रचलन छ । माङगेना यक खास एक पुर्खाले खास भुभागमा राज्य वा विचरण गर्न पितृ पुर्खालाई सम्झी दैवीशक्ति आर्जन गर्न पहिलो पुजा अर्चना गरेको स्थल वा बिम्बको रुपमा उनका सन्तती वा वंशहरुले बुझेको भनी सम्झनु पर्दछ ।
ईशाको ३०० वर्ष पछी फेदापमा बाजदेब राजा भएका थीए । उनका सन्तति हाङयुम्बाले मैवा सिंहासन पाए भन्ने लिखित ईतिहास छ । उनी मैवा थुमका फागोहरुको पुर्खा हुन् । स्थानीय फेजिरी फेदाङमा, साम्बा हरुको कथन अनुसार उनका भाइ हाङसेम्बा संखुवासभामै रहे । हाङयुम्बा, फालेमी, यन्छामीहरु ल्गायत आफ्ना समुह लिई फेदाप, संखुवासभा, मिल्खु भञ्ज्याङ नाघेर साम्तोङ गाउँ हुदै इफीबुङ, साम्याङबा, फन्द्रा फङदुल्ला, कदिना, घोरेटार हुदै शिकार खेल्दै बास बस्दै फुन्चेबुङ, काम्साङ, सिम्फुखोला तरी वदक पुगे । त्यहाँबाट ताम्राङ, साघँु हुदै खपीचौर ओडारमा बास बसे । मुन्धुमसावा राजेन्द्र वनेमको भनाई अनुसार चल्ले र बंधाकतीर शिकार गरी पुङसाम (शीकारी पुजा) चढाउदा ढुंगा गाडेको अद्यापी पाइन्छ । यही खपीचौर ओडारमा केही समय बासस्थानको रुपमा प्रयोग गरे । खपीचौरबाट तल हेर्दा पिरिङगे असाध्यै राम्रो जग्गा देखीकन हाङयुम्बाले गएर बसोबास बसाए । उक्त स्थलमा रहेको करीब ४८ फीट उचाइ, ७३ फीट लम्बाई, ३६ फीट चौडाई भएको ढुंगामा केराको पात राखी हाङयुम्बाले आफ्नो माङगेना पुजा गरेको र तत्पश्चात सिन्धोलुङ मैवामा फागोवंश र राज्यको उदय भएको हो । हाङयुम्बा वंशी माङगेना मुन्धुमअनुसार उनका चेलि तघपलुङनाले यही ढुंगालाई आराध्यदेव थेवा सामको रुप मानी युद्घमा विजय होस् भनेर शिर उठाई दिएकी थिइन् । यीनै घुमन्ते फीरन्ते बसोबास फागो पुर्खाहरुको कहानी फागो माङगेनाको मुन्धुमी वर्णन हुन् ।
ङ) हाङथाना, वानेने, हातिखावा
करीब दशौ शताब्दी तिर हाङयुम्बाले सिन्धोलुङ मैवा क्षेत्रमा विचरण गरेको अनुमान लाग्दछ । शायद तत्पश्चात अन्नबालीको बीउविजन जोहो गर्ने, घरपालुवा जनवार राख्न शुरु गर्ने, भष्मे ढालफाँड गरी खेति गर्ने, सिंचाई कुलो बनाई खेतिको परम्परा शुरुवात भएको हुन सक्दछ । आसपासमा रहेका अन्य कवीला वा समुदायले पनि वस्तुपालन गरेको र आवाद गरेको भनाई पाइन्छ । सामुहीक रुपले बेंसीबाट डढेलो लगाउदै भष्मे फडानी गर्दै लेक तिर लागेको लोकश्रुति पाइन्छ । सत्रौ शताब्दी सम्म आई पुग्दा फागोवंशिहरु व्यबस्थीत राजकाज सञ्चालन गर्ने परम्पराको विकास गरेको प्रमाण र कथनहरु पाइन्छन् ।
मैवाखोला गाउँपालिका वडा नं.२ को हातिखावा गाउँदेखी मुनी हाङथाना र वनेने जग्गा थीयो । वि.सं. १९६५ देखी १९९० सम्मका भुकम्पका कारण पहिरो गई विशाल समथर फाँट तहसनहस भयो । यीनै वनेने समथर मैदानमा बढो चाख लाग्दो किंवदन्ती पाइन्छन् जो वास्तवीक इतिहास हुन् । वनेने जग्गामा हाङथाना थीयो । हङसु राय सम्म आई पुग्दा राजकाज विजयपुर र मकवानपुरका सेन राजाहरुले सम्बद्घता वा कुटनीतिक सम्बन्धका ताम्रपत्रहरु आदानप्रदान भएको पाइन्छ ।
सेन फेदाङमा मानध्वज लिम्बुका अनुसार पृथ्वीनारायण शाहको पालामा सिरीदेव राय प्रतापी राजा वनेनेमा थीए । त्यसैबेला मोरोहाङका राजा अथीङहाङको छोरी असुलीहाङमा जिद्दि र घमण्डी स्वभावकी थीइन् । साथै असाध्यै सुन्दरी थीईन् । त्यो समयमा अथीङहाङ राजाको धनसारमा हातिहरुले धान खाई असाध्यै दुःख दिएको थीयो । जब असुलीहाङमाको विवाह बेला भयो र घोषणा भयोकी जसले हातिको सुढ काटेर ल्याउछ उसैसंग विवाह गरीदिने । अनी यो कुरा सुनी सिरीदेवले हातिको सुढ काटेर पुर्याई दिए । तब मोरोहाङ राजा अथीङहाङले उनको छोरी असुलीहाङमा लाई विवाह गरी पठाई दिए । विवाहमा हाति, घोडा, सबै घरपालुवा जनवार, बीउविजन, स्याहारे सुसारे हातिडोर भीमाडोर सहीत धेरै जनता दिई पठाए । उनीहरु धनकुटा, आठराई, छेन्ताङ, हामपाङ हुदै हातिखावा वनेने आईपुगे । हाति राख्ने ठाउँलाई हातिखावा भनिएको हो । वनेने जग्गामा बसी हाङथाना स्थापीत गरे । पृथ्वीनारायण शाहले सिरिदेव राय फागोलाई लालमोहर दिएका थीए । हातिखावा गाउँको पुच्छारमा हाङथानाका केही अवशेष हरु पाइन्छन् ।
स्थानीय फेदाङमा भिम बहादुर वनेम (कप्टान बाजे) का भनाई अनुसार हाङथाना पहिरो जानका कारण काइ सोदोक (नाता करणी) अपराध भएर हो भन्ने जनविश्वाश पनि छ । हाङथानामा पहिरो जान थाले पछी मेहेलटार माथी चोक्माखाममा दरवार वनाई सिरिदेव राय (श्री देउ काजि, पृथ्वी नारायण शाहले सेनाको काजि पदवी दीई खुडाँ, बन्दुक र अन्य हतियार दिएका थीए । उनकै एक पल्टन सेना मैवामा थीयो) सरेका थीए । सिरिदेव रायका सन्तानहरु एक हाँगा वनेम पर्दछन् ।
च) मास्वा कथा
मैवाखोला गाउँपालिका वडा नं. १ मास्वा गाउँमा ढुंगेमुनि भन्ने स्थान छ । उक्त स्थानमा पहिले पोखरी थीयो जसको अवशेष अहिले पनि देख्न सकिन्छ । स्थानीय किंवदन्ती अनुसार एकजना मास्वाको छोरी बाख्रा चराउन गइन् । तर छोरी हराइन् । पोखरीको नागले केटी लग्यो भन्ने हल्ला भयो । ३ वर्ष पछी केटी माइती फर्केर एक्लै आइन् । उनले साथमा थुन्चे पनि ल्याएकी थीइन् तर पछ्यौरीले छोपेकी थीइन् । जब माइती घरमा आमालाई भेटिन् र थुन्चे बिसाइन् । छोरीले आमालाई थुन्चे उघारेर नहेर्न भनेकी थीइन् । तर छोरीलाई नाग भएको पोखरी तुरुन्त गएर हेर्न असाध्यै मन परेकोले तुरुन्त गइन् । तर आमालाई असाध्यै थुन्चेमा भएको चिज हेर्न कौतुहलता भएकोले मन थाम्न नसकेर थुन्चेको पछ्यौरी उघारेर हेर्दा त दुई वटा सर्पको बच्चा देखीन् । आमा त सर्प देखेर आतिएर त्यही भएको खुर्मीले ठुगेर सर्पका बच्चाहरुको आँखा फुटाई दिइन् ।
केहीबेरमा पोखरीबाट छोरी फर्केर आइन् । जब उनले आफ्ना बच्चाहरु थुन्चेमा मरेको देखे तब छोरीले बताइन् की आफु नाग सँग विवाह गरेको र ती मरेका बचेरा आफु र नागका सन्तान भएको बताएर रुन थालिन् । आमाले यी सबै घटना अन्जान र भुलवश भएको कुरा राखीन् । छोरीले भनीन् की मलाई माइती जान र माइतीहरुलाई सुनको छाना लगाई दिने नागको सन्देश थीयो । तर अचानक यस्तो नराम्रो घटना घटेकोले उल्टै माइतिहरुलाई सराप दिइन की माइतिहरुलाई खान चाही पुगी राखोस तर एउटा आँखा फुटेको जन्मीराखोस् । ढुंगेमुनी भएको पोखरी फुटेर नाश भइगएको त्यहाँ ठुलो पहिरो गएको जनविश्वाश छ । मास्वाजनमा अहिले पनि एक आँखा बिग्रने जन्मी रहने जनविश्वाश छ ।
समय बिते सँगै बिस्तारै पहिरो पनि रोकीयो । पहिरोमा जंगल बन्यो । नागहरु प्नि शान्त भए । मैवाखोला गाउँपालिका वडा नं. १ मा चित्रे भन्ने गाउँ छ । त्यहाँ मास्वाहरुको चाख लाग्दो अर्को किस्सा छ । चित्रे गाउँमा तोरीबारीमा मास्वाहरुले खाम्बोचोङ बनाए । धेरै अग्लो माटो उठाएर डाँडा बनाए । उक्त खाम्बोचोङबाट विस्तारै माटोको धुलो सेल्वाखोलामा बग्न थाल्यो । खोला धमिलो भयो । खोला धमिलो भए पछि नागको आखाँमा कसिंगर पस्यो र नागहरु रिसाए । नागराजले आदेश गरेर भनेछ की मान्छेले पहिरो गरेको भए निसन्तान बनाउ । अनी नाग आएर हेर्दा घुम्दा खाम्बोचोङबाट धमिलो आएको रहेछ । यो काम मास्वाहरुले गरेको भनी पत्ता लाग्यो । त्यसपछी एक अर्को गर्दै नागले मास्वाहरुलाई मार्न लाग्यो ।
एकजना मान्छे वसुलीहाङमा हाङथानामा दुई पोखरीको बिचमा तान बुन्दै गर्दा दगुरेर आए । वसुलीहाङमाले ती मान्छेलाई सोधीन् की तिमी को हौ ? मान्छेले भन्यो की म मास्वा हो । फेरी वसुलीहाङमाले सोधिन् किन दगुरेको ? मास्वाले भन्यो मलाई नागले मार्न खेदीराखेको छ । तब वसुलीहाङमाले आफुसँग भएको गोकुल रुखको डुँडभित्र लुकाइन् । एकैछिनमा नाग आएर मास्वाको बारेमा सोधखोज गरे तब वसुलीहाङमाले माङमाया खोला तिर गएको बताइन् । नाग माङमाया खोला तिर गए तर माङमाया खोलाको पानी सङलो देखे पछी शान्त भए । त्यस पश्चात नाग सेल्वा खोला हुदै बराहक्षेत्र नागराजकोमा पुगेर सबै मास्वा मारी दिएको बताए । नागहरु शान्त भए । यसरी वसुलीहाङमाले गोकुल रुखको डुँडमा राखेर बचाएकोले मास्वाहरुको लागी गोकुलको रुख विशेष महत्व मान्ने गरेको लोकश्रुति छ । यो कथाको श्रोत फेदाङमा भिम बहादुर वनेम (कप्टान बाजे) हुन् ।
छ) तेङघङबा यक
अघी मुनातेम्बे बाट सावायेत्हाङका सन्तानहरु सीमांगढ हुदै फेदाप सम्म आए भन्ने मुन्धुमी र ऐतिहासीक आख्यानलाई मान्दा फेदापमा पर्वते राजा थीए । नन्दराजाको अन्त्य गर्न चाणक्य र चन्द्रगुप्त मौर्यले सहयोग मागेका थीए भन्ने लिखत छ । तीनै पर्वते राजाका सन्तान नवौ पुस्तामा साम्युकहाङ राजा भए । साम्युकहाङका छोरा नयबा र नयबाको चौथो पुस्ता सन्तान स्वास(मरङहाङ) भएको मुन्धुम संक्षिप्त किरात ईतिहास, किरात याक्थुङ नयोङहाङ सयङ वंशावली, २०६७, पुस्तकमा उल्लेख छ । मरङहाङका छोरा हातितोङ र भीमतोङ भएको उल्लेख छ । उनै नयबाका सन्तानहरु आज नयोङहाङहरु हुन् ।
मैवाखोला गाउँपालिका वडा नं. ६ को हाम्फाबुङ गाउँमा नयोङहाङ वस्ती रहेको छ । मैवाका फागोवंशि सिरिदेव राय (सिरदेव काजि) ले मरङहाङ का राजा अथिङहाङको छोरी वसुलीहाङमालाई विवाह गरेर ल्याए पछी माइती हातितोङ र भिमतोङ पनि आए । उनिहरु हति चढेर आए । हातितोङले हातिखावामा आई हाति राखे । सँगै आएको भिमतोङ तेङखम्बा पुगी माङगेना यक बनाएर बसे । उनैका सन्तान आज नयोङहाङहरु हाम्फाबुङमा बसोबास गर्दछन् । शान्ती चाहाने वसुलीहाङमाले फागोहरु र थोप्रा बीचमा खर्क र जग्गा सम्बन्धी विवाद भए पछी मध्यस्तता गरी मेलमीलाप गराउन बिच गाउँमा बसी दिन अनुरोध गरे पछी भीमतोङ र उनका सन्तती हाम्फाबुङमा बसोबास गरेको भन्ने लोक भनाई छ । शिक्षक नन्दीराम नयोङहाङ बाट प्राप्त भएको जानकारी हो ।
३. उपसंहार
मैवा क्षेत्र मुन्धुमी आख्यान र लोककथाको हिसाबमा सम्पन्न छ । मानव जिवन, सृष्टि, जगतप्रतिको बोध र ज्ञान आदिकाल देखी हाल सम्म कतिहद सम्म यहाँका बासीन्दा मौलिक रुपमा श्रुति शास्त्रका रुपमा बचाएर राखेका छन् भन्ने विषय उल्लेखीत माथीका टिप्पणीले देखाउदछ । स्वभाविक रुपमा यी मौलीक ज्ञान, बोध र परम्परा वौद्विक सम्पत्ति हुन् । यीनको संरक्षण, संबद्र्घन, प्रचार प्रसार मैवाबासीको गौरवको विषय हो ।
सन्दर्भ श्रोत, सामाग्री, व्यक्ति
किरात ईतिहास, इमान सिं चेम्जोङ, २०५९
सिन्धोलुङ फागो वनेम वंशावली, ईतिहास र मुन्धुम, सम्पादक देवेन्द्र वनेम, २०७०
मुन्धुम संक्षिप्त किरात ईतिहास, किरात याक्थुङ नयोङहाङ सयङ वंशावली, सम्पादक राम नयोङहाङ, २०६७
सेन फेदाङमा मानध्वज लिम्बु
मुन्धुमसावा राजेन्द्र वनेम
साम्बा सञ्चवीर फाबेन
शिक्षक नन्दीराम नयोङहाङ
फेदाङमा भिम बहादुर वनेम (कप्टान बाजे)