देउवा दोस्रो पटक सभापति

;

काठमाडौं । कांग्रेस सभापति पदमा दोस्रो पटक शेरबहादुर देउवा निर्वाचित भएका छन् । राजधानीमा जारी १४औं महाधिवेशन पुनः मतदान हुँदा प्रधानमन्त्रीसमेत रहेका देउवाले डा. शेखरप्रसाद कोइरालालाई पराजित गरेका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार देउवाले २७२३ र डा. कोइरालाले १८५५ मत ल्याए । मंगलबार भएको मतदानमा ४६२३ मत खसेको थियो । ३५ मत बदर भएको समितिले जनाएको छ । मतपरिणाम भने बुधबार बिहान सार्वजनिक भएको थियो ।

पहिलो चरणमा देउवाले सबैभन्दा बढी २२५८, त्यसपछि डा. कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए । सोमबार मध्यरातसम्म भएको निर्वाचनमा ४६७९ मत खसेको थियो । जसमा ७६ मत बदर भएको थियो । मतदाता ४७४३ जना थिए ।

विधानमा सभापति पदको निर्वाचन हुँदा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाए सबैभन्दा बढी मत ल्याउने दुई प्रत्यासीबीच पुनः मतदान गराउनुपर्छ । जसअनुरुप दोस्रो चरणमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए । यद्यपि, डा. कोइरालाले थप डेढ सय मत पाएको देखिन्छ ।

सभापतिबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालयमा हुने समितिले जनाएको छ ।
.

Published On: Time : 13:46:49

तपाईको प्रतिक्रिया