कांग्रेस महाधिवेशन उद्घाटन, फुटेका वामपन्थी नेताहरू एकै मञ्चमा

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन शुक्रबार भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशन उद्घाटनसत्र निकै रोचक बनेको छ । पानी बाराबारको अवस्थामा रहेका ठूला वामपन्थी दलका नेताहरू एकै मञ्चमा देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल लामो समयपछि एकै कार्यक्रममा सहभागी भएका हुन् ।
एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि ओली एकातिर र दाहाल-नेपाल अर्कातिर उभिएका थिए । पछि नेकपा एकता भंग भई साविक पार्टी ब्युँतिएका थिए । त्यसपछि एमालेमा ओलीसँग चर्को विवाद भएपछि नेपालले नयाँ पार्टी घोषणा गरेका थिए । ओली, दाहाल र नेपाल एकअर्काविरुद्ध खनिँदै आएका छन् । एमालेले आफ्नो १०आँैँ राष्ट्रिय महाधिवेशनमा नेपाललाई निम्तोसमेत गरेको थिएन । दाहाल भने निम्तो पाएर गएनन् । शुक्रबार भने तीनै जना देउवाका दायाँ-बायाँ बसेर कांग्रेस महाधिवेशन उद्घाटनका ‘साक्षी’ बने ।
यसैगरी जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सँगै मञ्चमा देखिएका छन् । जसपामा विवाद भएपछि ठाकुरले लोसपा गठन गरेका हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेन पनि आकर्षणमा रहे । नेताहरु गाउँघरमा आउँदा ‘चोर आयो’ भन्ने लिङदेनको अभिव्यक्तिले तरंग ल्याइदिएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले महाधिवेशन उद्घाटन गरेका थिए । महाधिवेशनको उद्घाटन समारोहलगत्तै बन्दसत्र प्रारम्भ गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।

 

Published On: Time : 18:41:44  110पटक हेरिएको

तपाईको प्रतिक्रिया