वाम्बुले भाषाको कवितामा भलामान प्रथम

काठमाडौं । वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगितामा भलामान राई (वाम्बुले बसन्त)ले प्रथम पुरस्कार जितेका छन् ।
२६ प्रतिस्पर्धीलाई उछिन्दै ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्साका राईको ‘उन आ मामा’ (तिमी मेरी आमा) शीर्षक कविताले बाजी मारेको हो । मानेभन्ज्याङ-३ का बिशु वाम्बुले राई द्वितीय, मानेभन्ज्याङ-५ की मुना वाम्बुले राई तृतीय भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ का मोहन वाम्बुले राई र ओखलढुंगा मानेभन्ज्याङ-५ का प्रदीप राई सान्त्वना भएका छन् । विजयी कविलाई प्रथम १० हजार, द्वितीय ६ हजार, तृतीय ४ हजार र सान्त्वना दुई जनाले जनही २ हजार रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २४औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको थियो । २०५५ सालदेखि निरन्तर ओखलढुंगा, खोटाङ, उदयपुर जिल्लाका विभिन्न गाउँठाउँमा हुँदै आएको छ । कोभिड-१९ महामारीका कारण गत वर्षदेखि भर्चुअल माध्यमबाट संचालन हुँदै आएको संस्थाका महासचिव जीवन हाताचो राईले बताए् ।
भर्चुअल समारोहमा दर्जन कविले वाम्बुले भाषामा अप्रतियोगी कविता वाचन गरेका थिए । राष्ट्रगानका रचयिता व्याकुल माइला (प्रदीपकुमार राई) र कोशकार अविनाथ राईले वाम्बुले मातृभाषा, साहित्यको विशिष्टता र अवस्थाबारे बोलेका थिए । किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले मातृभाषा जातीय पहिचानको कडी भएकाले यसको संरक्षण, संवद्र्धनमा समुदाय लागीपर्नु सराहनी भएको बताए । आयोजक वाम्रास संस्थाका अध्यक्ष तथा पत्रकार गजुरधन राईले वाम्बुले राईको पहिचानबारे उजागर गर्दै गर्दा १२औं राष्ट्रिय जनगणनामा केन्द्रीय तथ्यांक विभागको मुख्य प्रश्नावलीमै त्रुटि गरेकाले राज्यबाट न्याय पाउन थप संघर्ष गर्नु परेको बताए ।

Published On: Time : 9:00:13

तपाईको प्रतिक्रिया