एमालेमा ओली नै अध्यक्ष, तर जुटेन सर्वसम्मति, रावलले खोसे २२३ मत

सौराहा । एमालेको १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । मंगलबार भएको निर्वाचनमा २ हजार ९६ मत खसेकामा ओलीले १ हजार ८ सय ४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा २ हजार १ सय ५३ प्रतिनिधि थिए । ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले २ सय २३ मत प्राप्त गरे ।
ओली नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेललगायत पदाधिकारी भने निर्विरोध भएका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध भए ।
महाधिवेशन उद्घाटनकै बेलुका सहमति जुटाउन भन्दै केन्द्रीय कमिटी बैठकले विधान संशोधन गरी केन्द्रीय कमिटी ३०१ सदस्यीय पुर्‍याएको थियो । पदाधिकारीको संख्या पनि थपिएको थियो । तर, आफ्नै निकटलाई व्यवस्थापन गर्न ओलीलाई धौधौ परेको थियो । उनले बन्दसत्रमा ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए । त्यसमा नेता रावलले असन्तुष्टि जाहेर गरेका थिए । पछि पदाधिकारीको पनि नाम प्रस्ताव गर्दा रावल र घनश्याम भुसाल समेटिएका थिएनन् ।

Published On: Time : 9:16:21  58पटक हेरिएको

तपाईको प्रतिक्रिया