काठमाडौं । बुङ्वाखा-विष्णु-मकर बान्तावा राष्ट्रिय पुरस्कार गीतकार शुभ मुकारुङले पाउने भएका छन् । ‘किरात राई जाति र मुन्दुमी सामग्री’सहित दर्जन कृति लेखन, संकलन, सम्पादन र प्रकाशन गरेकामा यो पुरस्कार प्रदान गर्ने निणर्य भएको बुङवाखा पत्रिकाका सम्पादक पदम राईले विज्ञप्तिमार्फत जनाएका छन् । यो पुरस्कारको राशि ५५ हजार २ सय ९१ रुपैयाँ छ ।
५० हजार रुपैयाँ राशिको बुङ्वाखा-यूके सायाचोङ्मा पुरस्कार चन्द्रकुमार राई ‘हतुवाली’ले पाउने भएका छन् । ४० हजार रुपैयाँ राशिको बुङ्वाखा-पञ्चकुमारी संगीत पुरस्कार सुखदेव राई, १० हजार रुपैयाँ राशिको बुङ्वाखा-रनमाया चेन्चेक्वा पुरस्कार खान्नुबुङ राई, १० हजार राशिकै बुङ्वाखा-धनेन्द्र बादिहाङ स्मृति पुरस्कार रामचन्द्र राई राजालिमलाई दिने निणर्य भएको जनाइएको छ । बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति पुरस्कार १७औँ बान्तावा कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने कविलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ छ ।
बुङ्वाखा पुरस्कार छनोट उपसमितिको मंसिर १० गते बसेको अनलाइन बैठकले पुरस्कारहरूबारे निणर्य गरेको हो ।