ओली भन्छन्- द्वन्द्वकालीन ज्यादतीका घटनामा आममाफी हुँदैन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी ज्यादती तथा मानवअधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिन सहमत हुन नसक्ने बताएका छन् । आफू सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा रहेको ओलीले प्रेस वक्तव्यमार्फत जनाएका छन् ।
‘नेपालको शान्ति प्रक्रिया हाम्रो घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात गर्दै हामी संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने मान्यता राख्दछौं’, उनले भनेका छन्, ‘द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने हाम्रो धारणा रहिआएको छ ।’
विस्तृत शान्ति सम्झौताद्वारा रेखांकित नेपालको शान्ति प्रक्रियाका कार्यभार असाध्यै महत्वपूणर् र दूरगामी रहेको उनले जनाएका छन् । ‘तत्कालीन नेकपा माओवादीसँग रहेका हतियार र लडाकुहरूको व्यवस्थापन गरी जनताद्वारा निर्वाचित संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण गर्ने हाम्रो प्रारम्भिक कार्यभार २०७२ साल आश्विन ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै सम्पन्न भएको छ । हाम्रो संविधानले नेपालको राजनीतिक परिवर्तनमा योगदान गर्ने अग्रजहरू, अमर शहीद तथा द्वन्द्वपीडितका योगदानलाई सम्मान गरेको छ’, वक्तव्यमा लेखिएको छ, ‘द्वन्द्वका कारण उत्पन्न पुराना घाउहरूमा मल्हमपट्टी गर्दै द्वन्द्वका ठोस कारणको खोजी गरी तिनको यथोचित सम्बोधनद्वारा भविष्यमा द्वन्द्व नदोहोरिने अवस्था सुनिश्चित गर्नुपर्ने हाम्रो कार्यभार पूरा हुन अद्यापि बाँकी नै छ । संविधानका अक्षरमा अंकुरित यस भावनालाई नागरिकको जीवनमा अभिव्यक्त हुनेगरी कार्यान्वयन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सकिन्छ भन्नेमा हाम्रो पार्टी विश्वस्त रहेको छ ।’

Published On: Time : 15:14:39

तपाईको प्रतिक्रिया