१५ वर्षमा उल्लेखनीय सफलता, मेलमिलापको कार्यभार बाँकी : प्रचण्ड

काठमाडौं । विस्तृत शान्ति सम्झौता भई माओवादी शान्तिपूर्ण राजनीतिमा आएको १५ वर्ष पूरा भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो अवधिमा उल्लेखनीय सफलता हासिल गरेको बताएका छन् । तर, समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको दाहालको भनाइ छ ।

‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुंगोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ’, दाहालले प्रेस वक्तव्यमा भनेका छन्, ‘आजसम्मका राजनीतिक उपलब्धिहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौं ।’

दाहालले यो मामला सरकारको मात्र नभई राज्यको भएको जनाएका छन् । ‘यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं ।’

Published On: Time : 14:45:04  74पटक हेरिएको

तपाईको प्रतिक्रिया