काठमाडौं ।
नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय जनगणनामा जाति, जनजातिको नाम, मातृभाषा, पुख्र्यौली भाषा र धर्म प्रस्ट रुपमा लेख्न लगाउन आग्रह गरेको छ ।
‘प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेकोबारे यकिन गर्ने’, महासंघले जारी गरेको आठबुँदे ध्यानाकर्षणपत्रमा लेखिएको छ, ‘गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउने ।’
जाति, भाषा, धर्मबारे आफू संलग्न, सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संगठन, संस्थाले गरेको निर्णयअनुरूप लेखाउन उसले अपिल गरेको छ । ‘जाति, धर्म, मातृभाषाजस्ता महल दुरूस्त भरे नभरेको हेर्ने’, ध्यानाकर्षणपत्रमा छ ।
जनगणना नागरिकको पहिचानको सवालदेखि देशको योजनाको खाका कोर्ने हिसाबले महत्वपूर्ण रहेको जनाइएको छ । ‘तसर्थ, वास्तविक तथ्यांक संकलनका लागि आआफ्नो ठाउँबाट खबरदारी गर्दै उपयोग गरौं’, महासंघले भनेको छ, ‘तथ्यांकको राजनीति बुझौँ, हस्तक्षेप बढाऔँ, प्रतिरोध सिर्जनाका लागि आधार बनाऔँ ।’
भरपर्दो र विश्वसनीय तथ्यांक निर्माण गर्न आदिवासी जनजाति सजग रहन जरुरी रहेको महासंघको ठम्याइ छ । जनगणनामा देखाउने सजगता र रचनात्मक हस्तक्षेपले मात्र एकल जात–जातीय, भाषिक, सांस्कृतिक र धार्मिक मिथ्यांकलाई सच्याउन महत्वपूर्ण भूमिका खेल्ने उसले जनाएको छ । ‘अनि मात्र हामी पनि राज्यको तथ्यांकप्रति विश्वस्त हुने स्थिति बन्छ’, उसले भनेको छ, ‘सर्वविदित छ, संघीय लोकतान्त्रिक गणतन्त्रले संविधान र राज्यमा आदिवासी जनजातिको पहिचान र प्रतिनिधित्व सुनिश्चित गर्न सकेको छैन । राज्य व्यवहारतः आदिवासी जनजातिको भाषा, संस्कृति र धर्ममैत्री बनिसकेको छैन । सङ्ख्यात्मक रूपमा आदिवासी जनजाति बहुसङ्ख्यामा रहे पनि उनीहरूको सही प्रतिनिधित्व र पहुँच राज्यमा स्थापित भइसकेको अवस्था छैन ।’