१२औं राष्ट्रिय जनगणना सुरु, घर–घर पुग्दै ४० हजार गणक

काठमाडौं । १२ औं राष्ट्रिय जनगणना बिहीबार सुरु भएको छ । यो गणना मंसिर ९ गतेसम्म जारी रहनेछ । केन्द्रीय तथ्यांक विभागले पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै सम्पन्न गरेको थियो । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा पुगी गणकहरुले १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्नेछन् । विभागले ४० हजार गणक र ८ हजार ५०० सुपरीवेक्षक परिचालन गरेको छ ।

जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । महानिर्देशक श्रेष्ठका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।

जनगणनाको फारममा ८० वटा प्रश्नावली छन् । एक परिवारलाई प्रश्नावली भर्न औसतमा २० मिनेट समय लाग्ने विभागको अनुमान छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने श्रेष्ठले बताए ।

Published On: Time : 12:13:27

तपाईको प्रतिक्रिया