एमसीसी सम्झौता परिमार्जनको पक्षमा माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी)सँगको सम्झौता परिमार्जनसहित राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउने निर्णय गरेको छ ।

‘एमसीसीका विषयमा बाहिर जुन विषय सार्वजनिक भएको छ । हाम्रो पार्टीमा एमसीसीका विषयमा राष्ट्रिय सहमति कायम नभईकन, सम्झौताका केही बुँदा संशोधन र परिमार्जन नभईकन अगाडि नबढाउने कुरा भएको छ’, प्रवक्ता कृष्णबहादुर महराले भने ।

स्थायी समितिको बैठक मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको थियो । बैठकले पाँच दलीय समन्वय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने नाम टुंगो लगाएको छ । समितिमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधित्व गर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलको सोमबार बसेको बैठकले सरकार सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुईदुई जनाले प्रतिनिधित्व गर्ने सहमति भएको थियो ।

बैठकले पार्टीको आसन्न राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीस्वरुप पार्टीले सांगठनिक कामलाई तीव्रता दिएको छ ।

Published On: Time : 7:46:46

तपाईको प्रतिक्रिया