कोपेनहेगन । एजेन्सी
युरोपेली मुलुक फेरि कोरोन महामारीको इपिसेन्टर बन्न थालेका छन् । युरोपेली क्षेत्रमा महामारीको विषय सन्तोषजनक अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का युरोप क्षेत्रीय निर्देशक हङ्स क्युगको भनाइ छ ।
बिहीबार सार्वजनिक तथ्यांकले अघिल्लो वर्षकै अवस्थामा महामारी फर्किएको देखाएको उनले उल्लेख गरे । ‘हामी महामारीको फेरि अर्को संकटपूर्ण र चिन्ताजनक अवस्थामा आइपुगेका छौं’, भर्चुअल माध्यमबाट भएको पत्रकार सम्मेलनमा उनले भने ।
अहिलेको महामारी अघिल्लो वर्षको ‘रेकर्ड’समेत तोड्न सक्ने खतरा रहेको उनले औल्याए । युरोपेली क्षेत्रअन्तर्गत पर्ने विभिन्न देशमा संक्रमितको संख्या बढ्दै गइरहेको उनले बताए ।
गत हप्ता मात्रै युरोपेली क्षेत्रमा १० लाख ८० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । २४ हजारभन्दा बढीको कोरोनाका कारण मृत्यु भएको थियो ।
‘कोरोना भाइरसबाट मृत्यु र संक्रमित भएकाको यो संख्या अनुमान गरेभन्दा धेरै र फरक हो’, उनले भने ।