किमाथांका नाका र अरुण करिडोर सरकारले चाँडै सञ्चालनमा ल्याउँछ : अर्थमन्त्री शर्मा

संखुवासभा, १७ कात्तिक

अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी जनार्दन शर्मा (प्रभाकर) ले संखुवासभाको किमाथांका नाका र अरुण करिडोर चाँडै सञ्चालनमा ल्याउने बताएका छन् । किमाथांका नाका खोल्न सरकार अग्रसर भएको उनले बताए ।

प्रेस सेन्टर नेपाल संखुवासभाले बुधबार सदरमुकाम खाँदवारिमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले किमाथांका नाका सरकारले व्यवस्थित गरेर चाँडै खोल्ने बताए ।

सुनसरिको चतरादेखि संखुवासभाको किमाथांकासँगै अरुण करिडोरको काम सरकाले चाँडै सुरु गर्ने अर्थमन्त्री शर्माले बताए । संखुवासभाका लागि महत्त्वपूर्ण सडक आयोजना अरुण करिडोर नै भएको उनले बताए ।

अरुण करिडोर आयोजनाका लागि विश्व बैंकसँग पनि कुरा भइरहेको अर्थमन्त्रीले बताए । अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमा किमाथांका नाकासम्म सडक निर्माण र भन्सार व्यवस्थित बनाउन सरकारले महत्त्वका साथ हेरेको बताए ।

छिमेकी देश चीनसँग बाह्रै महिना नाका सञ्चालन हुने यस नाकासम्म पुग्ने सडक निर्माण गर्न सरकार प्रतिबद्ध अर्थमन्त्री शर्माको भनाइ छ । ‘सम्मेलनमा पाँच दलको गठबन्धनको सरकार निरन्तर चल्नेमा शंका नगर्नुहोला । र, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका बारेमा गठबन्धनले छलफलमार्फत समाधान खोज्ने छ’, उनले भने ।

उनी संखुवासभा जिल्लामा नेकपा माओवादी कार्यकर्तालाई प्रशिक्षण दिन मंगलबार आएका हुन् । मन्त्री शर्माले सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यापारीसँग छलफलसमेत गरेका थिए ।

Published On: Time : 8:22:32

तपाईको प्रतिक्रिया