सुजिताले जितिन् मिस युनिभर्स नेपालको ताज

काठमाडौंँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन् । राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित ग्रान्ड फिनालेमा १५ प्रतियोगीलाई पछि पर्दै उनी ताज पहिरिन सफल भएकी हुन् ।
दुई सबटाइटलसमेत जितेकी उनी १० लाख नगद प्राप्त गर्दै हीराजडित ताज लगाउन सफल भइन् । गत वर्षकी विजेता अंशिका शर्माले उनलाई ताज पहिर्याएकी थिइन् ।
उत्कृष्ट १६ बाट १० र ५ हुँदै अन्तमा विजेता घोषणा गरिएको थियो । उमंग क्रियसन आयोजक र प्रशोधन कम्पनि ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगीतामा निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतिक्षा महरा क्षेत्री थर्ड रनरअप, डा. केशु खड्का फोर्थ रनरअप घोषित भए ।
विजेता बस्नेत आगामि १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । विभिन्न उपशिर्षकमा विजेता समेत छानिएको प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रवाल, सरिता ज्ञवालीलगायत थिए ।

Published On: Time : 12:22:35

तपाईको प्रतिक्रिया