नेकपा फुट्दैन, फुट्न दिइदैन : मन्त्री नेम्वाङ

मंसिर, ६ पाँचथर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुट्ने र फुट्न नदिइने बताएका छन् ।

मुलुकको आवश्यकता र जनताको चाहनालाई ख्याल गरेर नेकपा फुटाउन नहुने र फुटाउन नदिइने उनको भनाई छ । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. २ माङ्जाबुङमा हिजो विद्युतिकरणको उद्घाटन गर्दै मन्त्री नेम्वाङले विकासमा फड्को मार्दै समृद्धिको यात्रा तय गर्न लागेको अवस्थामा नेकपा एकीकृत रहोस् भन्ने जनचाहनालाई नेताहरुले मनन् गर्ने विश्वास ब्यक्त गरे । “नेपाली जनताले स्थायी सरकारमार्फत विकास र समृद्धिका लागि दिएको अभिमतलाई नेताहरुले बुझ्नुपर्छ”, मन्त्री नेम्वाङले भने, “नेकपा एक ढिक्का भई मुलुकको विकास र समृद्धि होस् भन्ने आम कार्यकर्ता र जनताको चाहनलाई नेताहरुले बुझ्नुपर्छ ।” राष्ट्र र जनताको आवश्यकता तथा कम्युनिष्ट पार्टीको मान्यताअनुसार सरकार र पार्टीवीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री नेम्वाङको भनाई छ ।

मन्त्री नेम्वाङले समृद्धिका लागि रणनीतिक तथा अत्यावाश्यक सडक सञ्जाल विस्तार तथा मुख्य ग्रामीण सडकहरुको स्तरोन्नति र कालोपत्रेको काम सुरु भएको, फुसका छाना हटाउने अभियान अघि बढेको, देशका ४० वटा जिल्लालाई पूर्ण विद्युतिकरण पूरा हुन लागेको बताए । खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा संख्यात्मक र गुणात्मक सुधार हुँदै गएको उनको भनाई छ । खानेपानी, सिंचाई, विद्युतिकरण लगायतका काममा जनसहभागिता बढ्दै गएको पाइएको भन्दै मन्त्री नेम्वाङले विकासको अभियान नरोक्न पनि नेकपा विभाजन हुन नहुने बताए ।

कुम्मायक–२ का ७२५ घरधुरीमा विद्युतिकरण भएपछि मन्त्री नेम्वाङले शुक्रबार आयोजित कार्यक्रममा उद्घाटन गरेका हुन् । यहाँ रु. छ करोड ९३ लाख ३२ हजार ८५१ को लागतमा विद्युतिकरणको काम सम्पन्न भएको हो । आजै मन्त्री नेम्वाङले मिक्लाजुङ गाउँपालिका वडा नं. १, २, ६, ७ र ८ मा समेत विद्युतिकरण उद्घाटन गरेका छन् ।

Published On: Time : 13:51:36  218पटक हेरिएको

तपाईको प्रतिक्रिया