रवीन्द्र काफ्ले
पाँचथर । पाँचथरमा हिँजो एकैदिन तीन हजार घरमा विद्युतिरकणको उद्घाटन गरिएको छ । जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकाका २९९० घरमा विस्तार भएको विद्युतको पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत ररहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले उद्घाटन गरेका हुन् । शुक्रबार नै काठमाडौंबाट हेलिकोप्टरमा जिल्ला आएका मन्त्री नेम्वाङले पाँच वटा कार्यक्रममा सहभागी भई विद्युतिकरणको उद्घाटन गरेका हुन् । दुई वटा गाउँपालिकाका छ वटा वडामा विद्युतिकरणको काम पूरा भएपछि हिँजो एकैदिन उद्घाटन सम्पन्न भएको हो । सबै स्थानमा सामुदायिक ग्रामीण विद्युतिकरण कार्यक्रमअन्तर्गत विद्युत सहकारी संस्थाहरुको अगुवाईमा विद्युत विस्तार गरिएको हो ।
जिल्लाको कुम्मायक गाउँपालिका वडा नं. २ माङ्जाबुङका ७२५ घरमा थेङ्गेनचोक ग्रामीण विद्युत सहकारी संस्थाको अगुवाईमा विद्युतिकरण सम्पन्न भएको हो । यहाँ ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्रा.लि. काठमाण्डौँले रु. छ करोड ९३ लाख ९४ हजार ४४५ को लागतमा विद्युतिकरणको काम सम्पन्न गरेको छ । विद्युत विस्तारका लागि एचटी लाइन १२.७ किलोमिटर, एलटी लाइन ६१.९६ किलोमिटर विस्तार गरिएको छ भने चार वटा ट्रान्सफर्मर राखिएको राखिएको सहकारीले जनाएकाे छ ।

यस्तै मिक्लाजुङ गाउँपालिका वडा नं. १ र २ सराङडाँडा ८०५ घरमा सराङडाँडा विद्युत सहकारी संस्थाको अगुवाईमा विद्युतिकरणको काम पूरा भएको छ । यहाँ पनि ठेक्कामार्फत वाइबा इन्फ्राटेक प्रा.लि.ले नै रु. १० करोड चार लाख ४९ हजार ९७१ लागतमा विद्युतिकरणको काम पूरा गरेको छ । यहाँ एचटी लाइन २२.३९ किलोमिटर तथा एलटी लाइन ९२.६० किलोमिटर विस्तार गरिएको छ भने १० वटा ट्रान्सफर्मर रहेको विद्युत सहकारीका नरेन्द्र बस्नेतले जानकारी दिए ।
यस्तै मिक्लाजुङकै वडा नं. ६ र ७ लिम्बामा मिक्लाजुङ विद्युत सहकारी संस्थाको अगुवाईमा यहाँका ८६० घरमा विद्युतिकरणको काम सम्पन्न भएको छ ।
त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इन्जिनियरिङ जेभीले रु. पाँच करोड १२ लाख ७९ हजार २९५ को लागतमा यहाँ विद्युतिकरणको काम सम्पन्न गरेको हो । विद्युत विस्तारका लागि १७.४१ किलोमिटर एचटी लाइन र ५९.३२ किलोमिटर एलटी लाइन विस्तार गरिनुका साथै आठ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत सहकारीका अध्यक्ष फणिन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
यस्तै मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका ६०० घरमा यहाँको थोप्लेजुङ विद्युत सहकारी संस्थाको अगुवाई विद्युतिकरणको कार्य पूरा भएको हो ।
यहाँ समेत त्रिपुरेश्वर कन्डक्टर जयदुर्गे इन्जिनियरिङ जेभीले रु. ४ करोड ४९ लाख ५१ हजार ५०६ को लागतमा विद्युतिकरणको काम पूरा गरेको हो । विद्युत विस्तारका लागि १५.९५ किलोमिटर एचटी लाइन र ६६.३८ एलटी लाइन विस्तार गरिएको छ भने नौ वटा ट्रान्सफर्मर जडान गरिएको विद्युत सहकारीले जनाएको छ । लिम्बा र दुर्दिम्बामा वि.सं. २०७२ तथा सराङडाँडा र माङजाबुङमा २०७४ सालमा नेपाल विद्युत प्राधिकरणबाट सामुदायिक ग्रामीण विद्युतिकरणका लागि स्वीकृति प्राप्त गरी विद्युतिकरणको सुरुआत भएको प्राधिकरणका इन्जिनियर विधान पोखरेलले जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणले विद्युत विस्तारको काम अगाडि बढाइनसकेको अवस्थामा विद्युत सहकारीहरुले उपभोक्ताहरुबाट कूल लागतको प्रतिशत रकम सङ्कलन गरी विद्युतिकरणको कार्य अगाडि बढाएका थिए । ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि हालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले नै विशेष पहल गर्दै आएका छन् । नेम्वाङकै पहलमा जिल्लाका ६० वटै वडामा विद्युत विस्तार भइरहेको छ ।
सबै घरमा विद्युतिकरणको कार्य पूरा गरी जिल्लालाई चालु आर्थिक वर्ष भित्रै अध्याँरोमुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले बताए । पछिल्लो पटक नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र फिदिममा स्थापना भएपछि विद्युत सहकारीबाट काम नभएका स्थानमा प्राधिकरण मार्फत पनि विद्युतिकरणको कार्य अगाडि बढाइएको छ । मन्त्री नेम्वाङले हिँजो जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं. १ ढुकुरेमा विद्युत सवस्टेशन निर्माणको शिलान्यास समेत गरेका थिए ।