काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद झनै चुलिएको छ ।
आज भएको अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्षबीच सहमति नभएपछि विवाद झनै बढेको हो । झण्डै तीन घण्टा भएको छलफल विनानिष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेताहरुले पुरानै अडान दोहोर्याएपछि सहमति बन्न नसकेको बुझिएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष प्रचण्डले अब वार्ताकै लागि भनेर वालुवाटार नआउने बताएका हुन् । ओलीसँगको छलफलपछि बाहिरिएका उनले अब बालुवाटारमा वार्ताका लागि धाउनुको औचित्य नभएको बताएका स्रोतको भनाइ छ ।
प्रचण्डसँगको कुराकानीपछि एक नेताले भने, “उहाँले अब वार्ताका लागि बालुवाटार छिर्दिन भन्नुभएको छ ।”
पार्टी विवाद उत्कर्षमा पुगिरहेको बेला ओली र प्रचण्ड छलफलमा बसेका थिए । तर कुनै निष्कर्ष निस्कन नसकेको एक नेताले जानकारी दिए । यसैबीच प्रचण्ड र नेता नेपालले कानून व्यवसायीसँग छलफल गरेका छन् ।
प्रधानमन्त्रीले चाल्नसक्ने सम्भावित कदमबारे छलफल भएको स्रोतको भनाइ छ ।