ओली–प्रचण्डबीच छलफल, मुख्यमन्त्री शाही माथि लागेको अविश्वासको प्रस्तावका विषयमा छलफल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता महेन्द्रबहादुर शाही माथि लागेको अविश्वासको प्रस्तावका विषयमा नेकपाका अध्यक्षद्व छलफलमा जुटेका छन् ।

अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल केहिबेर अघिबाट बालुवाटारमा छलफलमा जुटेका हुन् ।

पूर्व माओवादी एवम् नेकपाका प्रचण्ड निकट मानिएका शाहीलाई पूर्व एमाले एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव कुमार नेपाल खेमाका र केही पूर्व माओवादी खेमाकै सांसदहरुले हिजो अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

सांसद एवम् नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज यमलाल कँडेलको नेतृत्वमा आइतवार १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

कतिपयले केन्द्रमा पार्टी एकताको २९ महिना बितिसक्दा समेत भागबण्डा नमिल्दा पार्टीभित्र लफडा लम्बिरहेको बेला केन्द्रीय विवादको ध्यान भंग गर्नका लागि रचियको प्रपञ्चको रुपमा समेत यसलाई हेरेका छन् ।

सांसदहरुले मुख्यमन्त्री शाहीले उचित तबरले काम गर्न नसकेको कारण अविश्वासको प्रस्ताव दर्ता गरेको बताएका छन् ।

नेकपामा विभिन्न विवादमा निरन्तर छलफलमा जुटिरहेको अध्यक्षद्वसमक्ष आजबाट नयाँ विषयले प्रवेश पाएको छ ।

Published On: Time : 12:56:39  34पटक हेरिएको

तपाईको प्रतिक्रिया