संस्कार, अर्थव्यवस्था र समाजवाद

म पुर्वी नेपालको मध्यम वर्गिय परिवारमा जन्मिएको हुँ । हाम्रो परिवार कृषीमा आधारित परिवार भएकाले सामान्य त खानका लागि खेतबारीहरु अन्य लाउन र आर्थिक क्रियाकलाप गर्नका लागि केहि नगदेबालीका आलावा गाईभैसी, भेडा, बाख्रा, सुंगुर, कुखुरा पालिएको हुन्थ्यो तर बिडम्बनाको यतिको जग्गा जमिन बस्तुभाउ भएता पनि बर्षमा बिशेषगरि चार महिना (बैसाख देखि श्रावण) सम्म खान हम्मे हम्मे पथ्र्याे । भदौ लागेपछि मकै अनि क्रमश धान, कोदो बटुल्ने, केलाउने र थन्काउने काम पुष माघसम्म जारी रहन्थ्यो । बाली थन्काउने काम संगसंगै कोदो मकैलाई पकाई पुल्याई जाँड रक्सी बनाउने काम पनि संगसंगै हुन्थ्यो र घरमा आउने ईष्टमित्र र साथीसंगीलाई जाँड रक्शीले स्वागत गर्ने हाम्रो पुरानो परम्परा हो । हिउँद लागेपछि विवाह बटुलो, भोजभतेरमा जाँडको घ्याम्पो अनि रक्सीको चौठो बोकेर जानु हाम्रो संस्कार हो यो परम्परा यद्यपी छदैछ । जब फागुन लाग्छ अनि बिहाबटुलो, भोजभतेर पातलिन्दै जान्छ अनि खेतीको याम शुरु हुन्छ काँधमा हलोजुवा, हातमा कुटो कोदालो बोकेर उकाली ओराली गर्नु जीवनको एक नियमित प्रकृया जस्तो थियो । अन्न रोप्यो फलायो भकारीमा थन्कायो तर बैसाख लागेपछि भकारीहरु रितिन्दै जाने अनि बाँच्नका लागि ऋण खोज्ने वा साहुमहाजन कहाँ गएर विभिन्न सर्तमा अन्न ल्याउने पछि नगदेबाली वा वस्तुभाउ बेचेर ऋण तिर्नु हाम्रो जीवनचक्र जस्तै थियो । कहिलेकाही खडेरी वा असिनापानी कारण बाली बिग्रन्थ्यो त्यो साल ऋण बढेर जान्थ्यो तर मौसमले साथ दिएर बाली सप्रेर अन्नबढि फलेको साल जाँड र रक्शी उत्पादन र उपभोग बढि हुन्थ्यो अनि ईष्टमित्रको मानमनितो पनि बढेर जान्थ्यो अन्न कहिले बेच्ने चलन थिएन । आजकल गमेर हेर्छु हाम्रो त्यो उत्पादनले खान पुगेर पनि वस्तुभाउ, नगदेबालीको आम्दामीबाट बार्षिक राम्रो बचत हुनसक्थ्यो तर हाम्रो संस्कार र प्रतिष्ठाले त्यसो गर्न कहिले दिएन ।

बढि आम्दामी भएको साल बढि मनोरञ्जन हाम्रो पुरानो परम्परा थियो तैपनि हाम्रो अर्थव्यवस्था सन्तुलित नै हुन्थ्यो । कहिले काहि घरमा मराउपराउ वा बिहेवारी जस्तो ठुला कार्जे फस्यौट गर्नु पर्दा साहु ऋणको विकल्प थिएन त्यतिखेर हाम्रो अर्थव्यवस्था असन्तुलिन भई जग्गा जमिन बेचेर पनि पितापुर्खाको प्रतिष्ठा कायम गर्नुपथ्र्यो । हाम्रो घरमा चियाको सानो सानो उद्यान छ, चिया किन्नु पर्दैन, कहिलेकाही घरमा पालेका गाईहरु ब्याँउथे दुध, दहि, महि पनि मनग्गै खान पाईन्थ्यो तर घरमा आउने साथीभाईलाई कहिले चिया र दुधले स्वागत गरिन्दैनथ्यो त्यो हाम्रो संस्कार भन्दा परको कुरा थियो । हामीले जति अन्न उत्पादन गरेपनि बर्षको तीन चार महिना खान नपुग्ने अवस्था पुस्तौदेखि रोटेपीङ जस्तै घुमिरहयो कहिले सधार भएन । राणाशासन अन्त भएर पञ्चायत व्यवस्था आयो हाम्रो संस्कारमा केहि परिवर्तन भएन, पञ्चायत ढलेर प्रजातन्त्र आयो बाबुबाजेको बिँडो थामिएकै छ अझ प्रजातन्त्र हुँदै गणतन्त्र आएको छ हाम्रा ती संस्कारहरु अझ उन्नत भएका छन । हाम्रो परिवारको अर्थ प्रणालीमा परिवर्तन आएपनि प्रथा र परम्परा जीँउका तीउँ छ । बाजेजीजुको पालामा लहलह धान फल्ने खेतहरु अहिले अँलैचीको घना जंगल भएको छ मकै, कोदो फल्ने बारीहरु अधिकाँस अम्म्रिसो बगान भएको छ अर्थात अहिले अलि कम खेतीपाती हुन्छ । यो प्रकृया शुरु भएको झण्डै दुईदसक भन्दा बढि भईसक्यो । शुरुशरुमा त अलैची उत्पादन राम्रो थियो, बजारमुल्य पनि उच्च थियो त्यतिखेर गाडधन फेला पारे झै हामीले महशुस गरेका थियौ तर हाम्रो परिवारले सम्झ्यो जंगलमा फलेको फल न हो, के लोभ गर्नु अर्काे साल पनि त फलिहाल्छ नि यसो गर्दागर्दै अलैचीमा रोग लाग्यो र भाउ पनि धेरै खस्क्यो, हाम्रो परिवारको आर्थिक अवस्था चुच्चे ढुङ्गो उहि टुङ्गो भने झै भयो । देशविदेशमा कैयौ उताव चढाव आए तर हाम्रो संस्कार कुम्भकर्ण जस्तै जस्ताको तस्तै ठिङ्ग उभिरहयो । अहिले देशमा गणतन्त्र आएको छ गाडीका कच्ची बाटाहरु मेरा घर आँगनसम्म पुग्छ, बिजुली मेरो घरको कोठा कोठामा बल्छ, चोकबजारहरु खुलेका छन त्यहाँ बहुराष्ट्रिय कम्पनीका वस्तुहरु टनाटन देख्छु अनि म पछिका युवाहरु हातमा महंगो मोबाईल बोकेर फेसबुक र युट्युब हेरिरहेको देख्छु ।

गहिरो अध्ययन नगर्ने आफुले बुझेको जानेको अन्तिम सत्य भनि गर्व गर्ने नवजमातहरु बढिरहेको अवस्थामा मेरो देशले अघि सारेको समाजबाद उम्मुख शासनप्रणाली कहाँ पुग्ने हो म सोचमग्न हुन्छु । अहिले घरआँगनमा यातायातको सुविधा पुगे पनि उत्पादित वस्तु बेच्ने हाम्रो संस्कार छैन बरु नुन भुटुनदेखी सागसब्जी, फलफुलसम्म बजारमा निर्भर रहनुपर्ने भएको छ । अझ पुरानो उत्पादनहरु जाँड रक्शीको सट्टा बियर ह्विस्की, ब्रान्डी पुरानै ढर्रामा अथितीलाई टक्राउने प्रचलन बढेको छ । पहिले पहिले खाजाको रुपमा भुटेको मकै भटमास, उसिनेको आलु, सखरखण्ड, स्कुस खाने चलन थियो, अहिले त चाउचाउ, मोमो, चाउमिन, लेज कुर्कुरे आदि ईत्यादि यसले मेरो देशले तय गरेको समाजवाद र मेरो संस्कारले अंगालेको अर्थव्यवस्था बीच ठुलै अन्र्तविरोध हुने प्रष्टै देख्दैछु ।

मेरो गाँउमा कृषी सडक सञ्जाल पुग्यो, बिजुली पनि पुगेको छ, सञ्चारको त कुरै नगरौ सबैको हात हातमा मोबाईल, शिक्षाको त झन यति सुविधा छ कि टोलटोलमा आधारभुत बिद्यालय खुलेका छन यति भएपछि सरकारले समृद्द नेपाल घोषणा गरे फरक पर्दैन तर मेरो समाजले शिक्षातिर ध्यान दिएको देख्दिन, यातायातको सुविधालाई प्रयोग गरेर स्थानीय उत्पादनलाई बजार पुर्याउने आर्थिकरुपमा सवल बन्ने तर्फ नसोची युवा जनशतिmलाई विदेश पठाएर प्राप्त रेमिट्यान्सले दिनानुदिन परनिर्भर समाज बन्दै गईरहेको छ । म शहर छिरेको झण्डै दुई दशक भएछ अध्ययन त जेहेनतेहेन पुरा गरियो तर म अलमल्लमा छु त्यो सामजिक संस्कारमा हुर्केको, त्यो अर्थव्यवस्थामा बाँचेको व्यतिm देशले समाजवाद उम्मुख भन्दै गर्दा मेरो योग्यता अनुसारको रोजगार अनि मेरो न्युनतम आवश्यकता अनुसारको तलब राज्यले प्रबन्ध गर्छ कि गर्दैन ? त्यो पर्खाइमा छु । शहरमा बाँच्न त्यति सजिलो छैन सबै चिज महंगी छ त्यसैले आजकल म हिडेर अफिस जान्छु । अफिस जाने क्रममा न्यूप्लाजाको बाटो आडैमा एउटा अधबैशे महिला चैत्र बैसाखको उर्खमाउलो गर्मीमा पुरानो छाताको सहाराले छल्दै एउटा दुधे बालक र एउटा अलि हुर्केको दुईवटा बच्चा च्यापेर कैयौ पीडाको विचमा गुड्का, चुरोट,चक्लेटको नाङले पसल गरेर दैनिकी चलाएको नचाहेर पनि नियाल्नुपर्छ । दिउसोभर गाडी र पैदलयात्रीको धुलो, बच्चाहरुको भोकापनको रोदन अनि कहिलेकाही दुधे बच्चाले आमाको पीडा नबुझी दुध चुसेको र आमाले पनि सकि नसकि स्तनपान गरेको क्षणले मलाई नराम्ररी बिझाउँछ । आमा बच्चाको राम्रो खानपानको बन्दोबस्त नभएको आर्तनाद नसुने पनि प्रष्ट बुझिन्छ, कहिलेकाही गुड्का खाने नाउमा पाँचदस रुपे ती बच्चालाई दिईराख्छु , के गर्नु मन अमिलो बनाएर हिड्नु सिवाय अरु उपाय म संग छैन । जे भए पनि सकिनसकि त िमहिलाले नाङ्ले पसल थापेर घिसीपिटी समाजवादलाई टेवा दिएको देख्छु । कहिलेकाही आक्कलझुक्कल साथीभाई रेष्टुरेन्टतिर भेट्ने, जम्ने अनि व्यापार, व्यवसाय, राजनीतिसम्मको कुरा गर्न भ्याउने संयोग मिल्छ । यस्तै संयोग मिल्यो मलाई निम्ता भए बमोजिम नेपाल यातायात चढेर नक्साल स्थित गैरीधारामा गएँ म पुग्दा साथीहरुले टेवल रिजर्व गरिसकेका रहेछन म पगेपछि हाम्रो लागि केहि अर्डर गरेर बिषयबस्तुमा प्रवेश गर्याै ।

हामी चार जना थियौ त्यसैले दुईजनाको दरले आमन्ने सामन्ने थियौ, हाम्रो टेवलको अगाडी मेरो सिधा नजर पर्नेगरि एउटा टेवलभरि विभिन्न परिकार मगाएर एउटा तीस पैतिस बर्षका अधबैशे युवा चुरोट दन्काउदै थिए । हामीलाई टक्राईएको परिकारलाई ज्युँनार गर्दै वार्ता अगाडी बढाईरहेका थियौ, म चाही मेरो पालोमा छोटो राय राखेर सम्पूर्ण ध्यान त्यो अधबैशे केटोतिर हुन्थ्यो । विभिन्न परिकार भात, मासुका ऐटम, चुरोट ह्स्किी, स्नाक्स आदि ईत्यादि उसले चुरोटको धुवाँसगै हिस्कीको चुस्की अनि पीनले घोचेर मासुको टुक्रा चपाउदै यताउति टोलाएर हेथ्र्याे, कहिलेकाही उनको महंगो मोबाईल दाहिने चोर औलाले घोच्थ्यो, चुरोट स्ट्रेमा राखेर भातको थोरै छिटा टिप्थ्यो, अन्य स्नेक्सहरु चपाउदै मोबाईल खेलाउथ्यो । मैले उनको खाने गतिविधी गहिरेर नियालिरहे । साँझ झमक्कै भयो ल उठौ भनि हामी टेवल छाड्ने तरखर गर्दा उनले पनि वेटरलाई बील मगाएर दाईने साईडको गोजीबाट औलाभरी पैसाको बिटो निकाली गनेर बिलमा च्यापी दियो बाँकी पैसा रबरले च्यापेर उहि खल्तीमा राख्यो एकैछिनमा वेटरले पैसा फिर्ता ल्याईदियो वेटरलाई पाँचसय रुपैया टिप्स दिएर बाहिर निस्क्यो मुलसडकबाट ट्याक्सी चढेर दरबारमार्ग तिर हुईकियो । उनको टेवलभरि विभिन्न परिकारहरु असरल्ल थिए धेरै आइटमहरु एक चौथाई मात्र सिध्याएका थिए चुरोटको ठुटा र खरानीले स्टे« भरिएको थियो ह्स्किीको गिलास रित्तो थियो अन्य धेरै परिकार खेर गएको थियो । सायद अब ऊ दरबारमार्ग पुगेर नाईटक्लबमा कम्मर मर्काउदै होला यति सोच्दा नसोच्दा साथीहरुले बिल चुक्ता गरेर निस्के अनि म ट्याक्सी चढेर बाटो लागें । ट्याक्सीको पछाडी बसेर सोचीरहें त्यो अधबैशे युवा जसले हजारौको बिल तिरेर टेवलभरि मगाएका परिकारहरु त्यतिकै छाडेर खेर फाले बरु त्यो खर्चले ती न्यूप्लाजामा नाङले पसल गर्ने महिला र उनिसंग आश्रित दुई बच्चालाई एकछाक खुवाएको भए ती आमा बच्चाहरु कति खशी र आनन्दित हुन्थे होला, सायद ती आमा बच्चाहरु अहिले भोकले कति छटपटाईरहेको होला यस्तै अमिलो मन पार्दै घरको गेटमा पुगेछु अनि झस्स त्यो अधबैशे युवाको नजर मेरो सामु देखापर्याे ऊ पनि त मेरै नश्लको जस्तै थियो शायद मेरै संस्कारमा हुर्केको हुनुपर्छ । यस्तो संस्कारले निर्माण गरेको अर्थव्यवस्था अनि मेरो देशले अघि सारेको समाजवाद उम्मुख शासन व्यवस्थाले मेरो पारिवरिक संस्कार, त्यो युवाको शौखिन विलासितापन अनि ति नाङले पसल गर्ने महिलाको आर्तनादलाई कसरी राज्यले समन्वय, सन्तुलन र नियन्त्रण गर्दाे हो गम्छु, समाजवाद पढ्छु अनि प्रतिप्रश्न गर्छु मेरो देशको समाजवाद ।

Published On: Time : 18:43:21  830पटक हेरिएको

तपाईको प्रतिक्रिया