पहिलोपल्ट नेपालमै गोताखोर तालीम


चिप्लेढुङ्गा, २२ कात्तिक । नेपालमा पहिलोपल्ट गोताखोर तालीम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो ।

बङ्गलादेशमा सन् २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका थप १९ जनालाई तालीम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक वीरेन्द्र खनालले बताए ।

तत्कालीन समयमा एक व्यक्तिलाई करीब रु १२ लाख लगानी गरेर युएनडिपीले बङ्गलादेशमा सशस्त्र प्रहरीलाई तालीमको अवसर प्रदान गरेको थियो । हालसम्म तिनै तालीमप्राप्त गोताखोरबाट उद्धारकार्य हँुदै आए पनि पर्याप्त नभएपछि गोताखोर तालीम सञ्चालन गरिएको उनले बताए । उनले भने “यो तालीम निकै खर्चिलो र जोखिमपूर्ण छ, नौ वर्षपछि बल्ल हामीले यो तालीम सञ्चालन गर्न सफल भएका छौ ।”
दुई वर्षसम्म त उपकरणका लागि मात्रै कुर्नुपरेको उनको भनाइ छ । “२०१३ मा बल्ल उपकरण आइपुगेपछि हामीले ३५ दिनेको प्याकेज बनाएर तालीम शुरु गरेका हौँ ”, उनले भने । पानीको गहिराइमा गएर उद्धार गरिने सो कार्य निकै जोखिमपूर्ण मानिन्छ । हाल सप्तकोशी र फेवातालमा गोताखोर तालीम दिइएको हो । नेपालमा धेरै दुर्घटना भइ अधिकांश बस नदीमा खस्ने गरेकाले तालीमप्राप्त गोताखोर आवश्यकता बढिरहेको छ ।

यस्ता संवेदनशील कुराप्रति नेपाल सरकारले चासो दिनुपर्ने प्रशिक्षक दिल्ली भट्टराईले बताए। उनले भने, “तालीम खर्चिलो पनि छ, यसका उपकरण निकै महङ्गा हुन्छन् र उत्तिकै जोखिमपूर्ण पनि हुन्छन्, दक्ष जनशत्ति टिकाइराख्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ ।” नयाँ प्रशिक्षार्थी सशस्त्र प्रहरी जबान दीर्घनारायण पौडेलले तालीमप्राप्त गरेपछि अब पानीमुनि उद्धारमा जानसक्ने बताए ।

“शुरुमा त निकै गाह्रो र डर लाग्यो तालीम लिँदै गएपछि आत्मविश्वास बढ्दै गयो, अहिले ढुक्कसँग गर्न सक्छु”, अर्का प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले भने , “अब ६५ फिट तल पनि अक्सिजन सेटअप बक्सका साथ उद्धारामा जान सक्छु ।” थोरै सङ्ख्यामा तालीम लिएकालाई टिकाइराख्न सरकारले चासो नदिने र तालीम पाएकाले अर्को अवसर पाउँदा छाडिहाल्ने समस्या रहेको उनको भनाइ छ ।

सातै प्रदेशमा तालीमप्राप्त गोताखोर राख्ने योजनाअनुरुप तालीम प्रदान गरिएको बताइएको छ । फेवातालमा तालीम लिन आएका २८ जनाको टोली थप प्रशिक्षणका लागि पकली फर्किएको छ । हाल चितवनको कुरीनटार तालीम केन्द्र, काठमाडौँ र पोखरामा १५ जना तालीमप्राप्त गोताखोर कार्यरत छन् ।

Published On: Time : 9:14:26  127पटक हेरिएको

तपाईको प्रतिक्रिया