सांस्कृतिक ग्राम बन्दै पर्यटकीय गन्तव्य सिक्लेस

कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसलाई सांस्कृतिक ग्रामकारुपमा विकास गरिने भएको छ । गुरुङ समुदायको प्राचीन बस्ती सिक्लेलको ऐतिहासिक एवं संस्कृतिक महत्वलाई जीवन्त राख्ने सोचका साथ सांस्कृतिक ग्राम बनाउने अवधारणा अघि सारिएको हो । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै सांस्कृतिक ग्राम बनाउने तयारी गरिएको बताए । सांस्कृतिक ग्राम बनाउनका लागि सिक्लेसको सबै घर परम्परागतशैलीमा एकै किसिमको निर्माण गर्ने एवं नयाँ संरचना निर्माण गर्दा वडासँग समन्वय गरेर मात्रै निर्माण गर्न पाइने व्यवस्था मिलाइएको छ । गाउँपालिकाले रु १० लाखको लागतमा सांस्कृतिक ग्राम निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपिआर)को तयारी गरिरहेको छ । सिक्लेसका सबै चोक, चौतारो, बाटो, धारा एकैनासको बनाइने र गाउँमा आउने पाहुनालाई गुगलमार्फत घर नम्वर सर्च गरेर जान सक्ने व्यवस्था गरिन लागिएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । । झण्डै बाह्रौं शताब्दीदेखि बस्ती विकास भएको विश्वास गरिने सिक्लेसमा गुरुङ जातिको उद्गमस्थल क्होंला सोंथरमा बस्ती हुँदैदेखि अस्तित्वमा आएको विश्वास गरिन्छ । विसं २००० देखि अढाई दशकअघि र पछिको समयमा यहाँका जनसङ्ख्या उत्कर्षमा पुगेकोमा त्यसपछि भने त्यहाँबाट अन्य स्थानमा बसाइँ सर्ने क्रम बढेको स्थानीयवासी बताउँछन् । परम्परागत सिकारी युगदेखि कृषि युगहुँदै वैदेशिक रोजगारी र पछिल्लो समयमा पर्यटकीय रुपमा यस स्थानको विकास हुँदै गएको छ । पोखरादेखि उत्तरपूर्वी भाग अन्नपूर्ण हिमशृङ्खलाको काखमा अवस्थित यो गाउँ समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा छ । गुरुङ समुदायको मौलिक परम्परा, संस्कार–संस्कृति, रितिथिति, रहनसहन, वेषभूषा जस्ता सामाजिक मूल्य मन्यता रहेका कारण यो गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय जस्तै बनेको छ । ठूला–ठूला चौर, पहाड, पाखा, पखेरा, झरना, छाँगा, नदीनाला, हिमशृङ्खला, हरिया वनजङ्गल र विभिन्न प्रजातिका वनस्पति आदिले यहाँको गरीमा र महत्व बढाएको छ । यस्तै परम्परागत सामाजिक संरचना, मौलिक, वेषभूषा, खानपिन, सामाजिक, संस्कृतिक वातावरण, कृषि पशुपालन पनि यहाँका मौलिकता हुन् । गाउँको वरिपरी चारैतिर विभिन्न स्थानमा रहेका सिमेभूमे, देवीदेउराली आदि यहाँका धर्म संस्कृतिसँग जोडिएका स्थल हुन् । पोखरादेखि हिँडेर कम्तीमा एकदिन लाग्ने सिक्लेसमा अहिले भने सवारी साधन हुँदै पुग्न सकिन्छ । हाल कूल ४५० घरधुरी रहेको सिक्लेसलाई सात सय सिक्लेस भनेर चिन्ने गरिन्थ्यो । यहाँ गुरुङको सङ्ख्या बाहुल्य छ भने विश्वकर्मा र परियार पनि केही मात्रमा छन् । नेपालको १२ वर्षे द्वन्द्वात्मक अवस्थाको अन्त्यका लागि तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका नेता पुष्पकमल दाहाल पहिलो पटक यही सिक्लेसबाट सार्वजनिक भएका कारण यस स्थानको महत्व अझै चुलिएको छ । शान्ति प्रक्रियाको उद्गमस्थल भएकै कारण यही गाउँमा गाउँपालिकाले शान्ति स्मारक निर्माण गरिसकेको मादी गाउँपालिका–१ का अध्यक्ष सुरजकुमार गुरुङले जानकारी दिएका छन् । प्राचीन इतिहासको जगेर्नाका लागि लोपोन्मुख भइसकेका पौराणिक सामग्रीको संरक्षण तथा जगेर्ना गर्नेको लागि इकोम्युजिक सिक्लेस २०७१ सालदेखि सञ्चालनमा आएको छ । वडाध्यक्ष गुरुङका अनुसार पर्यटकको बढ्दो आगमनसँगै यस स्थानमा होटेल तथा घरवास कार्यक्रमले गति लिएको छ । हाल २० वटा घरमा घरवास सञ्चालन छ भने १० वटा होटेल सञ्चालनमा छन् । यो ठाउँ परम्परागत हस्तकला व्यवसाय, राडिपाखी, थैलो, भाङ्ग्रा (रेँका), बख्खु र मान्द्रो, भकारी, डोकोडालो, नाम्लो गुन्द्री उत्पादनमा पनि प्रख्यात रहेको उहाँले जानकारी दिएका छन् । तमु संस्कृतिको संरक्षण र विकासलाई लक्षित गरी गाउँमा दुई वटा क्होईबु निर्माण गर्न लागिएको छ । “सिक्लेस प्राचीन संस्कार एवं संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै रहेको छ”, सिक्लेस युवा क्लबका पूर्वसचिव देवीजङ्ग गुरुङले भने , “यो गाउँ प्राचीन संस्कार र संस्कृतिका अध्येताका लागि उपयुक्त गन्तव्य रहेको छ । ” प्राचीन इतिहासको साक्षी सिक्लेसको मौलिकतालाई जोगाउँदै यहाँका प्राचीन संस्कार र संस्कृति भावी पुस्तामा हस्तान्तरण गर्न सांस्कृतिक ग्रामको अवधारणा बहुउपयोगी बन्ने उहाँको भनाइ छ ।

Published On: Time : 10:09:53  404पटक हेरिएको

तपाईको प्रतिक्रिया