महापर्व छठको मुख्य पुजाको पूर्व सन्ध्यामा विराटनगरको बुधहाट चोक र गुद्री बजारमा शनिबार बिहानदेखि अबेर रातिसम्म किनमेल गर्नेहरु ओइरिए ।
यहाँका अधिकांश मधेसी र पहाडी समुदायले यो पर्व मान्ने हुनाले यी हाट एवं बजारहरु महामेलाकै रुपमा परिणत हुन्छ । ताजै चढाउने मान्यताअनुरुप पर्वको एक दिन अगाडि काँचो फलफूल, तरकारी एवं मिठाइको हाट लाग्छ । यसलाई पर्वको अन्तिम बजार पनि भनिन्छ । ब्रतालु एवं दर्शनार्थीले आइतबार अस्ताइरहेको र सोमबार उदाइरहेको सूर्यलाई सम्पूर्ण पुजन सामग्री, दुध र जलसहित अर्घय दिएपछि यस पर्वको समापन हुन्छ । चार दिने यो पर्व शुक्रबार आरम्भ भएको हो ।
छठको तेस्रो दिन अर्थात छठ पर्व । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् । साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुवेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुवाई सूर्य देउतालाई चढाउँदछन। प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्। यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ। घाटलाई बेहुली झै सिंगारिएकॊ हुन्छ।

छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूर्ण चाड हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रुपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।यश पर्वमा मुस्लिम समुदायका व्यत्तिले पनि सहभागी हुन्छ र यो पर्व बिधिबत मनाउछ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।