‘जीन्दगी यो फूलैफुलको थुङ्गो हुँदैन’– गितका रचनाकार राजनसंग पांच प्रश्न

rajan-rai

१९ माघ २०६१ को शाही ‘कु’ विरुद्ध काठमाडौंका सडकहरुमा चर्काे भाषण गर्ने विद्यार्थी नेता राजन राई तत्कालीन सात दलका प्रमुख नेताहरुसंगै जेलमा कोचिए । तीन महिनापछि जेलबाट छुट्नासाथ अनेरास्ववियु जनआन्दोलन परिचालन समितिको संयोजक बनेर दोस्रो जनआन्दोलन सफल पार्न सहयोग पुरयाए । जनआन्दोलन सफल बनाएर गाउं फर्केका राजन ‘किन–किन’ एल्बममार्फत पुन साँगीतिक क्षेत्रबाट पो उदाए । उनले लेखेको ‘………जीन्दगी यो फूलैफुलको थुङ्गो हुँदैन……….’ गीत खूब चर्चामा आएपछि एमाले खोटाङ जिल्ला सचिब समेत रहेका राजन गीत लेखनमा व्यवसायिक बनेका छन् । दुर्गम जिल्लामै रहेर उनले निकालेको दोस्रो एल्बम ‘ऐठन’ ले पनि राम्रै बजार पाएपछि तेस्रो एल्बमका लागि हौसिएका छन् । बाघबजारमा भेटिएका उनि सित टुडिखेलको सांगितिक जम्काभेट :–

गीत लेखनमा कसरी लाग्नुभो ?
शुरुमा रहरले गीत लेखियो । लेख्दै जांदा अञ्जु पन्तले गाएको ‘जीन्दगी यो फूलैफुलको थुङ्गो हुँदैन……….’ गीत लोकप्रिय बन्यो । जसले बर्षाै नपाएको प्रसिद्धि मिल्यो । २५ वर्ष गरेको राजनीतिमा भन्दा धेरै मानिसले मलाई चिन्यो । गायिका अञ्जु पन्तले नै अत्यन्तै मन परेको गीत भन्दै अन्तर्वार्ता दिन थालेपछि मेरो ट्रयाक नै परिवर्तन भयो । र, म व्यवसायिक गीतकार बन्न पुगेँ ।
भनेपछि तपाइँ गीतकार बन्नमा अञ्जु पन्तको देन छ ?
काठमाडौंमा बसेर गीत लेख्नेहरु धेरै छन् । साँगीतिक आकाशमा पछिल्लो समय छाएकी गायिका अञ्जु पन्तले पनि ४५ सय बढी गीत गाएकी छिन् । त्यसमध्ये गाउँमा बसेर मैले लेखेको गीतलाई नै उनले उत्कृष्ठ भनिदिएपछि ममा उत्साह बढेको हो । त्यसकारण, उनको देन छ भन्न कञ्जुस्याइँ किन गर्नु र !
गीत लेखेर बाँच्न सकिएला जस्तो लाग्छ ?
कुनै त्यस्तो क्षेत्र छ जस्तो लाग्दैन, जहां ढुक्कले बांच्न सकिन्छ । गीत लेखन पनि त्यस्तै एउटा क्षेत्र हो, जुन क्षेत्रमा पनि संक्रमण छ । अहिले श्रोताहरु बढेका छन् । तर, पारिश्रमिकले सताइरहेकै छ । गाउंमा बसेर समाचार सुन्छु, कलाकारिता क्षेत्रका लागि खुलेका संस्थाहरु यसका लागि लडिरहेका छन् । उनीहरुको त्यो संघर्षमा भौतिक नभएपनि नैतिक समर्थन गर्छु । आसा गरौं, गीत लेखेर पनि सम्मानित बांच्न सकिने अवस्था सृजना हुनेछ ।
कलाकारितामा जम्न धेरै कलाकारहरु काठमाडौंमै बस्छन्, तपाई गाउंमा हुनुहुन्छ । तपाईले कसरी बुझ्नुहुन्छ, केन्द्रले मोफसललाई हेर्ने दृष्टिकोण ?
मोफसल भन्ने शब्द उर्दूबाट आयो । मोफसल भनेको केन्द्रको पहुच भन्दा टाढा हो । तुलनात्मक रुपमा शहरलाई जति नजिकबाट नियाल्छ, मोफसल केन्द्रबाट टाढा हुन्छ । यसबाट कलाकारिता मात्रै होइन, पत्रकारिता, राजनीति, विकास जस्ता हरेक क्षेत्र पीडित छन् । केन्द्रबाट पाउने सेवा, सुविधा र अवसरबाट मोफसल सँधै बञ्चित हुन्छन् । यो संसारभरकै समस्या हो । हामी राज्य पुनसंरचनाको चरणमा छौं, यसको वैज्ञानिक व्यवस्थापन हुन जरुरी छ ।
तपाई राजनीतिमा हुनुहुन्छ अनि गीतकारका रुपमा पनि स्थापित हुनुभयो । कसरी चिन्ने ?
थाहै नपाई विद्यार्थी राजनीतिमा लागें । २५ बर्षे राजनीतिक जीवन पूरा गरेछु । अहिले पनि पूर्णकालीन राजनीतिक कार्यकर्ता हुँ । नेपाली जनताको सामाजिक परिवर्तनका लागि राजनीतिमा लागेको हुँ । फेरी, राजनीति सेवाको क्षेत्र हो । तर, साँगीतिक क्षेत्रमा मेरो दायरा फराकिलो बन्यो । गीत सुन्दा श्रोताले राजनीतिक कार्यकर्ताका रुपमा होइन, गीतकारका रुपमा चिन्छन् । मैले पनि विभिन्न विधाका गीत लेखेको छु । अहिले पनि निरन्तर लेखिरहेको छु । यसर्थ, गीत लेखन र राजनीति संगसंगै अघि बढाउंछु ।

Published On: Time : 22:25:15  2288पटक हेरिएको

तपाईको प्रतिक्रिया