मैले कविताको मुख हेरेँ

बुबा
भरुवा बन्दुक काँधमा राखेर जङ्गल गइरहेको
ढुङ्गा फुटाइरहेको
ऋणको सानो कुम्लो बोकेर
मुग्लानबाट गाउँ आइरहेको ….
हिउँदो लाग्यो कि घर छोड्ने ए मान्छे !

आस्थाको ढाका टोपी
क्रान्ति पहिल्याउने लामो गम्बुट
विचार पिउने ठूलो लुम्बा
किनिमा तिहुन मुछिएको भातको अन्तिम गाँस टिप्दा
झर्के थालमा चिप्लिएको तिम्रो माइली औँला
ओहोहो…त्यो माइली औँला !
बेला बेला उठ्थ्यो तिम्रो नाक अघिल्तिर सिधा
र हेथ्र्यौ मलाई टेढो टेढो आँखा ….

मेरो साथी !
दस वर्षको हुँदा हो
‘फिक्चुके (फिक्चुके !’ भनेर तिम्रो नाम काढ्दा
उठ्यो तिम्रो दाहिने हात र बज्रियो मेरो देब्रे गालामा
त्यतिखेर हुँ ‘आमा’ भनेर रोए पनि
तिमीलाई बुबा भनी अलिअलि चिनेको…

सुँगुरको पाठा बोकेर पेरुङ्गोमा
फिक्चुकेकोे पछिपछि धुर्बिसे पञ्चमी जाँदा
थाहा पाएको हुँ बजार भाऊ मान्छेको
फिक्चुके सुँगुरको जगर तोला–तोला बटुल्दै झोलामा
डुल्दा तमोर खोला, मेवा खोला..
सोच्थेँ–
मेरो साथी बादल धुम्मिएको
सेतो सेतो वर्षात् झुण्डिएको
खोलाको माथि..माथि…शिरतिर होला
फिक्चुके खरितेले गाईगोरुको लस्करसँगै काट्दाखेरि देउराली
विदेश भन्ने जानेको हुँ ‘सिलिगुढी, जय बङ्ला !’

फिक्चुके ! तिम्रो ढाडजस्तो सडक टेकेर
म आज खै कुन्नी कुन देश आइपुगेँ !
तिम्रै मुखबाट पहिलोचोटी सुनेको हुँ ‘नेपाल नेपाल’
शायद म त्यहीँ नेपाल आइपुगेँ हुँ !
उता फुल्न थालिसक्यो होला
हिँड्ने बेला मैले रोपेको बारीको डिलको नास्पाती
तर चिन्नै गा¥हो अझै मलाई
कहाँ छु म ?
यो कुन देश, कुन दिशापत्ता हो ..

जहाँ रहुँ म ढुङ्गा हान्ने ठाउँमा छु
उता ढुङ्गा ढोग्दै हौला तिमी देउरालीमा
उता राँको फालेर खेद्दै हौला अनिकाल (ण्साउने सक्रातीमा)
यहँ म राँकेजुलुस बालेर बोलाउँदै छु बहुप्रतिक्षित उज्यालो

जब मस्तिष्कमा खुट्टा पलायो, ताकेँ अर्कै ध्रुव
उता एक्लो रुख भयौ तिमी हाँगा उछिट्टिएको एक्लो रुख
यता म छु अलिकति ओभानो अलिकति चिसो
शिरबाट पलाएर फेदतिर झर्दा दहमा डुबेको हाँगा न हुँ

उता पात झर्न थाल्यो होला सिमलको
यता हाँगामा पलायो अर्को स्वप्निल हाँगा
जसको लागि मेरो काँध भएको छ चोमोलुङ्मा, चढ्छ र,
क्षितिजको अन्तिम फेरको तारालाई छुन्छु भन्छ
जसको लागि मेरो काख स्वप्नभूमि भएको छ र बिउँँझदा
पूर्वी आकाशतिर उदाइरहेको निक्खुर जून हुन्छु भन्छ

बुबा !
आज म बुबा हुँदा पो
तिमीलाई बल्लबल्ल चिनेँ हौ ।

कवि ज्यूको फेसबुक वालबाट

Published On: Time : 7:22:57  127पटक हेरिएको

तपाईको प्रतिक्रिया