औडाहा

 

मुकुमलुङ र फक्ताङ्लुङ्को मुन्तिर
जहाँ मर्चा लगाएर
पेहिङ चढाईन्छ देवतालाई,
त्यहिनेर म एउटा अङ्शियार भएर
उभिएको छु,
बिरासत थाम्न मौलिकताको ।

ए ! उन्छोन उन्छोन ग :
आकाश बन्यो है, धर्ती बन्यो है
ढुङ्गा बन्यो है, तारा बन्यो है,
यसरी
मेरो पुर्खाहरुले गाउँदै आए
लेप्मुहाङ्ले डुङ्गामा जोगाएको
मुन्धुमलाई,
जब प्रलयले विध्वंस
मच्चाउदै थियो अस्तित्वको ।

पेरेवा साम्लो र हाक्पारेमा
उत्सव मनाउदै आएका तुम्याङ्हरु
मुरुमसित्लाङ वरिपरी
उमङ्ग गाउछन
सरलाई स..सरलाई स…
निवाफुङ्मको निवा जस्तै
मेरो आमाको पालाम पनि लोकोत्तर,
जता, जसरी, पनि गाउन मिल्ने,
कोक्रोदेखि सुन्दै आएको
यी अदभुत भाकाहरु
तेसैले त हो,
मेरो रगत रगतमा दगुरिरहेको ।

यद्यपि एउटा औडाहाले
बेस्कन पिरोल्छ मलाई एत्तिबेला
मेरा पाईलाहरु बढ्दै जादा क्रमश
मेटिदै गएका मेरा सभ्यताहरु,
निलाम्मे आकाशमा
खण्डहर भएर छुटिने बादलका टुक्राझै
क्रमशः छुट्दै गएका मौलिकता
कुन नौकाश्रयमा किनाराकृत गरु
कुन किनारा समाउन पुगौ ।

गर्विलो, दरिलो
मुन्धुमी बिम्बहरुमा उभिएका पात्रहरुसङ्ग
याचना गरिरहेको हुन्छु
कहिलेकाही म अनुग्रीहित हुन्छु
र तेर्स्याउदै अनेकौ पहेलीहरु

थान अगाडी कोलाको पातमा
कोईलामाथी तितेपातीको धुप बालेर
म अभयदान मागिरहेको हुन्छु
हे माङ !
कि मेरो सभ्यता पानी जस्तो नहोस
जहा प्रतिबिम्बहरु तरेलि बनेर
काल्पनिक आकृती निर्माण गर्दै हराउँछ,
र बग्दै बग्दै शुन्यतामा समाहित हुन्छ ।

Published On: Time : 10:59:42  205पटक हेरिएको

तपाईको प्रतिक्रिया