[लघुकथा : जाती ज्वाइँ !

काईली आमैले खुसुक्क हर्केको कानमा भनिन,” मेरो जेठो छोरो काम नलाग्ने भयो बाबू हर्के ! स्वास्निको मुतमा बग्यो, छुट्ट भिन्न भयो, असती। भाईले नकमाउन्जेल पर्खी त्यसपछी छुट्टेलास भनेको मानेन बुहारीले कर्कश गरी ” तिम्रो कान्छो छोरो घुमेर खान्छ । स्नातक सकेको मान्छे जागिर खोज्न र कमाउन नपर्ने ,खाली दाईको थाप्लोमा गिर खेल्न पल्किएको छ । हामी छुट्टिएपछि तह लाग्छ ।” ” खोइ काईली आमै हामीले त के भन्ने हो र ? छोराहरु अर्कैको छोरी ल्याएपछी छुट्ट भिन्न हुने न हो । काईली आमै पनि त कुनै दिन हाम्रा काईलाबालाई काखी च्यापेर छुट्ट भिन्न भएको होला नि ! कान्छोले पनि अब त बि ए को पढाइ सकेपछि यसो जागिर खाएर घरको आर्थिक बोझ कम गर्नु पर्ने हो ।हामीले देख्दा त जेठो लाई मार नै पर्या छ । दिनरात गोरु झै जोतिएको छ । भाई चाहिँ डुलेरै खाएको देखिन्छ । कहिले को कहिले को बाईफालेहरुलाई बाईकमा राखेर कुदेको मात्र देखिन्छ । आखिर कान्छोको बिबाह गर्ने उमेर पनि त पुगिसक्यो नि । कान्छोलाई सम्झाउनु पर्यो काईली आमै । हर्केले आफ्नु बिचार राख्यो । त्यतिबेलै काईली आमै काईलाबाका ठुली छोरी र ज्वाइँ टुप्लुक्क आईपुगे । हर्केले दिदी भिनाजुलाई नमस्कार गर्यो । छोरी ज्वाईले सासुससुरालाई ढोग गरे । काइली आमै बोलिन , ” मेरो ठूलो ज्वाईले बरु बेलैमा बुद्धि पुर्याउनु भो बरु । दुई दुई वटा भाईहरुलाई पढाउने हुर्काउने , बिहेदान गर्दा त मेरी छोरीको बेहालै भैसक्थ्यो । बेलैमा छुट्टिए बाक्लो दाल त खान पाए । दुख गरेर कमाएको सम्पती जोगाड त भयो । बुद्धि हुनेले बेलैमा छुट्ट भिन्न हुन्छन । ज्वाइँ असल र जाती पाएर म त धन्य छु । हर्के ट्वाल्ल परेर काईली आमैको कुरा सुनिमात्र रह्यो दिदी भिनाजुको अगाडि केही बोल्न सकेन

Published On: Time : 15:25:04  238पटक हेरिएको

तपाईको प्रतिक्रिया