पालामकी राजकुमारीमा क्लियोपेट्रा सौदर्य

कविता र संगीत हृदयको आवाज हुन भन्ने लाग्छ । यी दुवै हृदयको अन्तष्करणबाट प्रष्फुटीत हुन्छन्, र सहसा स्पर्श गरेर जान्छन अन्य हृदयहरुलाई यद्यपी संगीत र कविताको परिभाषामा थुप्रै बद्लाब आईसक्यो । कवितामा बौद्धिक विलासीताको बहस शुरु भईसक्यो संगीतको कुरा त्यस्तै । यसै मेसोमा संगीत झै र सगीन झै कविता संग्रह पालामको राजकुमारी नेपाली साहित्यमा भित्रीएको छ । मलेसियामा रचिएर नेपालमा प्रकाशन गरिएको कृति हो यो ।
कवि दिल दुःखी जन्तरेले मलेसियाको व्यस्त जीवनसंग अभ्यस्त हुदै बचाएको केहि समय खर्चिएका छन् कवितामा । प्रवासी पीडा, देश प्रेम, घर गाँऊ प्रतिको आशक्ती कोर्दा कोर्दै एक संग्रह गरिभ्याएका छन् जन्तरेले आफुलाई भ्रान्तिपूर्ण डायोस्पोरिक जङगलको कित्तामा उभ्याउँदै । डायोस्पोराको अर्थ नियाल्दा निर्वाशन नै बुझिन्छ, विकिर्ण, विस्थापन शब्द आफैमा कुण्ठित, अपहेलित झै लाग्छ । फेरि पनि प्रवासी नेपाली साहित्यकारहरु आफुलाई त्यहि कित्तामा सन्तुष्ट पार्छन । यहुदी निर्वाशन संगसंगै हिब्रुबाट ग्रिस शब्दमा अनुवादित भएको डायोस्पोराको ट्याग स्वेच्छाले, रोजगार या अध्ययनको लागि प्रवासीएकामाथि भिराउँदा कत्ति पनि चित्त बुझेको छैन । उसो त प्रा.डा. खगेन्द्र प्र.लुईटेलले डायोस्पोरा सकरात्मक अर्थबोधक नभई नकरात्मक अर्थबोधक भनेका छन् । प्रा.डा. गोविन्दराज भट्टराई आफनो उपन्यास मुग्लानलाई पहिलो डायोस्पोरीक नेपाली साहित्यको ट्याग भिराउनैको लागि प्रवासीहरुलाई डायोस्पोरीक बनाईदिए, शरणार्थी बनाईपठाए । उसो त भुटानी शरणार्थीहरुलाई ट्याग भिराइदो हो त केहि हदसम्म जायज हुन्थ्यो पनि । यहाँ प्रश्न उठ्न सक्छ के अध्ययनको लागि विदेशीएकाहरु शरणार्थी हुन् ? रोजगारको लागि प्रवासीएकाहरु निर्वासित हुन् ? स्वेच्छा वा व्यवसायिक प्रयोजनको लागी विदेशिएकाहरु विस्थापीत हुन् ? दुबै, मलेसिया, कतार, साउदी जाने चै लेबर डायोस्पोरा अनि ? भेदभावको विज यहाँपनि रोपिसकीएको छ । डायोस्पोरा मतलव डायोसपोरा बर्गिकरण गरेर त्यहाँ पनि असमानता र हिंसाको बिजारोपण गरिसकियो । वास्तवमा डायोस्पोराको बहस अहिल्यै नेपालको सन्दर्भमा ठिक छैन । प्रवासी र प्रवासी नेपाली साहित्य भनीए त उसैपनि झारो टाढिगयो नी, पुस्तौ पुस्ता जो विदेशमै छन् ती नेपालीमूलका सम्बन्धित देशका नागरिक भए । यद्यपी प्रवासी नेपाली साहित्यकारहरु भ्रमपूर्ण डायोस्पोरीक जङ्गलमा रुमलिरहेका छन् । उसो त कोहेनले डायोसपोरालाई राष्ट्र अवस्था र चलायमान संस्कृतिको बीचमा रहन्छ भनेका छन् ।
खै र ! छोडौ यी कुराहरुलाई र फर्कौ पालामको राजकुमारी तिर बर्नाड शा या शेक्सपियर को ग्रन्थकी नायीका फराओ वंशकी अन्तिम शाशक क्लियोपेट्रा ( सातौ ) आफनो सुन्रता र चतु¥याईले वीर महापुरुषहरुलाई समेत सहजै आफनो वसमा पार्नसक्ने एक कुटिल नेतृ थिईन । सौदर्यमा जसको नाम मात्रै काफि छ । सौदर्य बिम्बको रुपमा अझ जागा जिउँदो छिन् । कवि दिल दुःखी जन्तरेद्धारा कृतिकृत पालामको राजकुमारी पनि तिनै काव्यीक सौदर्यको दिव्य ज्योतिले धपक्क बलेकी छिन । र पाठकलाई आफुमै समाहित गराउन सक्षम छिन् । डुलाउन सक्छिन् राके मेला र वसन्तपुरको प्राकृतिक छटाहरुमा, बुझाउन सक्छिन् जिन्दगीको सौदर्य न्यू ईयर इभहरुमा र झुमाउन सक्छिन् पालाम, च्याब्रुङ र कुसङ तङबेहरुमा । कवि जन्तरेले हरसम्भव प्रयास गरेका छन् पालामको राजकुमारीलाई सिगार्न । सिगार्ने क्रममा दर्शन चेत, संस्कृतीप्रतीको आशक्ती, पहिचानको आवाज र माया प्रेमको शृङगारहरु भरीदिएका छन् । किवंदन्तीसंग जिन्दगीको गहिराईमा पुग्ने प्रयास गरेका छन् । कोण, दृष्टिकोण खोजेका छन् ।

स्वाट – स्वाट मान्छे निल्ने
राता – राता गोलभेडे आखा
गुफा जत्रो मुख हुने
राक्षसको कथा
र त्यो राक्षस पत्र
सायद जन्मदिन पो हो की ?
(आफनै जन्मोत्सव मनाउदा )

विभिन्न आविष्कार र प्रयोगहरुले आज संसार चकित छ, विकास र समृद्धिले संसार स्वर्गको एक टुक्रामा परिणत भएको छ, हातमा संसार थमाईदिएको छ प्रविधिले, असम्भव कुराहरु सम्भव बनेका छन् चेतनाले, ईतिहासको गर्भमा रहेको सत्यहरु सर्वाङ्ग उभिएको छ हामीसामु खोज अनुसन्धानले । विशिष्टताले भरिपूर्ण मानिस जस्ले हरकोहि असम्भवलाई सम्भव बनाउन अभ्यस्त छ । यद्यपी जिन्दगीको अन्तिम सत्य मृत्युबाट सधै भयवित छ, असफल छ, लाचार छ । जतिनै चामात्कारीक र असामान्य कामहरु गरेपनि मृत्युको अगाडी निरीह छ, निस्सार छ । यसलाई कवि जन्तरेले अवैधको संज्ञा दिएका छन् ।

चरा जति नि स्वतन्त्र उड्न नसक्ने
रुख जति नि निर्धक्क उभिन नसक्ने
जनावर जति नि ढुक्कले बाच्न नसक्ने
एक नम्बरको अवैध रहेछ मान्छे
(अवैध मान्छे )

सधै मृत्यको भय बोकेर जिन्दगीलाई घिसारिरहेको मान्छे कहिल्यै भयमुक्त भएर मुस्कुराउन सक्दैन स्वच्छ र स्वतन्त्र भएर रमाउन सक्दैन किनकी हृदयको कुनै कुनामा मृत्युप्रतिको भय जिवित नै रहन्छ । यही शास्वत सत्यलाई स्वीकार्न नसकेर अस्पताल, धामीझाक्री र ईश्वरको प्राथनामा डुब्छौ किञ्चित जिवन प्रतीको लोभले । यद्यपी ईश्वरले अति क्रुर र निरंकुश शाशन गर्छन मान्छेरु मथि । ईश्वर नहुदो हो त सामाजिक संरचना विल्कुलै अलग हुन्थ्यो होला । ईश्वर एउटा भ्रान्ति, ईश्वर एउटा भय । यहि भयले गर्दा ईश्वरको नाममा अनेकौ दादागिरि गर्ने गिरोहहरु छ्याप छ्याप्ती छन् विश्वमा । त्यसैले कवि जन्तरे ईश्वर मार्न अथवा भनौ ईश्वरको नाममा आतङक मच्चाउने गिरोहरुलाई खत्तम पार्न उदत्त छन् । ईश्वरलाई नामेट पार्नसक्ने हतियारको जोहोमा छन् ।

म्स्तिष्कको आरनमा गिद्धिहरुलाई
विवेकको आगोमा तताएर
बुद्धिको हम्मरले पिटिपिटी
नया हतियार नबनाई भएन
साह्रै दादागिरी देखाए ईश्वरहरुले
(हतियार)

स्टालिनले धर्म अफिम हो भनेका छन् । अफिमले जसरी लठ्याउछ उसैगरी धर्मले पनि सहि र गलत छुट्याउन सक्ने विवेक गुमाईदिन्छ । र धकेलिदिन्छ माल्छेलाई अध्यारो तिर अन्धविश्वास र अन्धभक्तता तिर ।

इराक, अफगानिस्तान, पाकिस्तानमा
आत्मघाती हमला गर्दै हिड्छ
पैगम्बर मोहम्मद

बङगलादेश, इन्डोनेशिया, भारत
नेपालमा हत्याकाण्ड मच्चाउछ
ब्रम्हा, बिष्णु, महेश
(हतियार)

यसरी हत्यारा, क्रुर र निरंकुश ईश्वरको हत्या गरि वैकल्पीक ईश्वर प्रतिस्थापित गर्न सकिन्थ्यो पनि होला काश ः हाम्रो हृदयमा तीनले बास गर्न नसकेको भए । विश्वास र आश जगाउन नसकेकोभए ।

ए !
महासागरमा
आईरहेको देखिन्छ त वहाज
पृथ्वीलोकमा पाप बढेर
मान्छेले मान्छेलाई खान थालेर
उद्धारको खातिर
आएको हुनुपर्छ लेप्मुहाङ
(कुसङ तङबे)

नेपालीहरु माझ आज एउटा अच्चम्मको परिस्थिति उभिएको छ । रहर भनौ, बाध्यता भनौ, विकल्प भनौ या देखासिखि के भनौ ? एउटा अचम्मको परिस्थिति । उमेर पुग्यो विदेश, पढ्नु पर्नेभयो विदेश, विरत्तताले छोयो विदेश । यो विदेश, त्यो विदेश, ऊ विदेश, फलाना विदेश, ढिस्कना विदेश । मुलुकमा हिजो पनि थियो समस्या, गरिबी र अभाव हिजोपनि थियो तर भोकले कोहि मरेको सुनिएन, पाखा भित्ता खोस्रेर चलेकै थियो । विmकल्पहरु गलत हुन् भन्ने हैन तर यहा कुरा प्रवासी पिडाको हो । पराई भुमीमा खानु परेको सानो गाली पनि कसो कसो साह्रै नमिठो लाग्ने, तिखो र निर्मम लाग्ने । भाषा नबुझेर खानुपरेको खप्कीले त अझ स्वाभिमान चुर चुर हुन्दछन् । परिश्रमी हातहरु लल्याक लुलुक हुन्छन् । तर गर्ने के? परिस्थितीको लगाम जो छ आफुमाथि ।

ए ! उत्तरआधुनिक शहर
कति महङ्गो फुर्ती हो
जहा रुनेहरुले धक फुकालेर
रुन पनि नपाउने आडम्बरको शहर
जहाँ युरोप, अमेरिकाबाट
घिसारी घिसारी
जबरजस्त अपहरण गरेर
यौटा शोषक महामानवलाई
दिनको रात कोर्रा हानी हानी
बोल्न लगाउछौ नबुझेको भाषा
(रुन्चे कविता )

प्रवासमा काम छ, दाम छ, ऐस छ र त्यही छ दुःख, पीडा, विरक्तता । कवि जन्तरेले यीनै कुराहरु उत्तारेका हुन कवितामा । भरेका हुन शक्तिशाली शब्दहरुमा प्राण । कवि अनेकौ प्रवासी पिडाहरु सङगै भाषिक समस्या खेपिरहनु परेको छ त्यो समस्या आफनै देशभित्र पनि देखेर हैरान हुन्छन् । यसरी आफनै आगनको भाषिक पिडालाई मार्मिक ढङगबाट प्रस्तुत गर्छन उनी ।

आमा !
प्रत्येक दिन
शुद्ध बोल्ने जिब्रोहरु थुतेर
अशुद्धको आरनमा पिटीपिटी
काम लाग्ने हतियार बनाएर
उभ्याउदा रहेछन् समाजमा
अनि त हामी हारीरहेका रहेछौ
(आमा)

हिजोको हाम्रो विरासत अनेकौ ताण्डव गरेर भत्काईदै रहेछ । शोषणको तौर तरीकाहरु अनेकौ रहेछन् । हाम्रो ऐतिहासिक, प्रागऐतिहासिक महत्वका हर कुराहरु एक पछि अर्को गर्दै गुमाउदै रहेछौ । अत्यन्तै ठूलो ईतिहास बोकेर उभिएको स्थलहरुलाई कथित शुद्धताको नाममा मेट्दै पो रहेछौ । पुर्खाहरु भन्दा जान्ने भएर सेरजुङलाई श्रीजुङ, आङबुङलाई आम्बोङ, ताप्लिजङलाई ताप्लेजुङ भनिहिड्दा रहेछौ । यी कुरा कविले बोध गर्छन, स्पष्ट हुन्छन् हामी शुद्ध होईन अप्रभंश हुदै गईरहेका छौ ।

आमा
अशुद्ध बोल्नुभएको रहेनछ
आमा हजुरले बोलेजस्तै म बोल्छु
(आमा)

कवि निरन्तर संस्कृतीप्रती सम्मोहित हुदै जान्छन् । अस्तित्व, पहिचान भन्नु नै संस्कृतीमा रहेछ । संस्कृती नभए केहि पनि रहदो रहेनछ । त्यसैले मुन्धुमी ज्ञानले पोख्त लिम्बु मुलका यी कवि मुन्धुमीय मिथक प्रयोग गर्दै सांस्कृतिक चेतका कविताहरु ल्ेख्छन् ।

जिउदो संस्कृतीको ढुकढुकी

झुन्डयाउछु मुल थाममानुमा

तरुनीहरुलाई साम्याङफुङले

सुहाएको भन्दा सुहाउछ अर्कै

देखिन्छ घरको शोभा

( च्याब्रुङ) 

नाच्नु पर्छ च्याब्रुङ प्रसस्तै, नाचिनु पर्छ धान, गाईनु पर्छ पालाम, ओआनाबा, नाहेन र हिमसाम्माङ गरिनु पर्छ खुबै र लगिनु पर्छ पुस्तान्तरण गर्दै । हुनुपर्छ परिष्कृत र परिमार्जित यी प्राणप्रिय संस्कृति तब न बाच्छ, संस्कृती तब न रहन्छ जातीहुनुको अस्तित्व । यहि सन्देश बाड्न अघि बढेका कवि दिलदुःखी जन्तरे हप्तौ पालाम गाउदा पनि बाजि मार्न नसकेको किस्साहरु कवितामा उतारेर छर्लङ्ग उभ्याईदिन्छन् लिम्बु

संस्कृति भित्रका रसिलो पाटाहरु ।
संसारको सबभन्दा राम्री राजकुमारी
पmुलमाया पालाम खेलाएर
पगालेर उनको मन
मुटुको बाकसबाट झिकेर
दिन चाहान्थे युप्पारुङ
(पालामको राजकुमारी)

तीन दिन तीन रात, सात दिन सात रात धान नाचेर पालाम गाएर बाचा, बन्धन र बोलकबोल गरेर बैनाबट्टा गरेको किस्साहरु अद्यपी सुन्न पाईन्छ । ती पात्रहरु यदाकदा अझपनि जिवित फेला पार्न सकिन्छ । कैयौ दिन रात पालाम गाउदा पनि, ईक्सा खाम्बेक बाधि ल्याउदा पनि, घाम जुन साक्षी मानि ल्याउदा पनि एक यौवना जस्लाई पराजित गर्न सकेनन् सरःकपुगे ठुलेले र त लुसुक्क अनुहार छोपेर भागेका तिनै तरुनोले नाम जुराईदिए पालामको राजकुमारी । प्रेमको रुपनै अलग, प्रेमको रंङ्ग नै अलग, प्रेमको महसुस र अनुभुती नै अलग । बहकिन्छन् कति प्रेमीहरु प्रेममा र बिसिन्छन् सबकुछ कत्र्यव्य, जिम्मेवारी सबकुछ । यद्यपी प्रेमको सुन्दर टाटा र पाटाहरुलाई सम्हाल्दै कवि देश भित्रकै भावनात्मक विभक्ततालाई जोड्न लागीपर्छन ।

पहाडले अहंकार त्याग्नु पर्छ
मधेसले संयमता अपनाउनु पर्छ
पहाडबिना मधेस सुहाउदैन
सुहाउदैन मधेस बिना पहाड
(पहाड र मधेस )

भ्ूगोलसंग संस्कृति, रहनसहन, तौर तरीका, भावना जोडिन्छ निश्चय नै । तर भुगोलले भावनात्मक फाटो नल्याईदिए ? तर यहा त हिमाल, पहाड, तराईबिच आफु–आफैमा भयङर खाडल छ । भावनात्मक विभक्तता छ । कारणहरु कैयन होलान तर एक भए, सबैमा सहिष्णुता र सदाचार भए कति गज्जब हुन्थ्यो होला ? फेरीपनि कवि संङ्ग प्रयासहरु छन्, प्रतिबद्धताहरु छन् । भावनात्मक एकतामा जोडमा विश्वास राख्छन् । उनी यो ताकत कवितामा पाउछन् । कविताको शक्ति सङ्ग उनी जानकार छन् र कविताले विश्व हल्लाउन सक्नेमा उनी ढुक्क छन् । यद्यपी ढृष्टता हुदाहुदै पनि कहिलेकाहि आफनै परिवेशले गलाउछ मानिसलाई । आफनै परिस्थिती संङ्ग हारेर लल्याकलुलुक हुन्छन् कवि, निम्छरो र कमजोर हुन्छन् र हठात ! कविता नलेख्ने निर्णयमा पुग्छन् ।

तिम्रो आखामा आँशु भरीरहदा
महिला मुक्तीको के कविता लेख्नु
मेरो अभावमा तिमी तड्पीरहदा
कविता भट्टीमा मातेर कति बस्नु
प्रिय ! अब कविता लेख्दै लेख्दीन
तिम्रो ओठमा नमुस्कुराउने कविता
(अब कविता लेख्दिन )

कविता संग्रह पालामको राजकुमारी आवेग, संवेग, औडाहा, पीडा, उमंगको एउटा सोलो संग्रह हो । संग्रहभित्र सरल तर विछट्टै राम्रा कविताहरु समाविष्ट छन् । यद्यपी कहि कतै कवि चुकेका छन् । कविताको शीर्षक अर्कै आशय अर्कै जस्तो पनि लाग्न सक्छ । कवितामा लिम्बू शब्दहरु केहि बढि प्रयोग भएको छ यसले कवितालाई अलि भद्दा बनाएको जस्तो पनि लाग्न सक्छ । कविताको व्याख्यानात्मक पाटोमा अलि ध्यान दिनुपर्ने हो की ? बेपरवाह संग तन्किएको कविता पढिसकेपछि पाठकलाई यस्तो पनि लाग्न सक्छ । संग्रहको कभर डिजाईन तारीफ योग्य छ । नाम आफैमा पालामको राजकुमारी । संग्रहमा समावेश भूमिका र शुभेच्छाहरुले कृतिको गहनता र गरिमालाई अझ बढाएको छ । अन्त्यमा सृजना भनेको सृजना नै हो । यसले कसैसंग सम्झौता गर्नु हुदैन, दाजिनु पनि हुदैन । प्रभाव, दवाव, व्यस्तता या समस्या कुनैपनि बहानालाई छुट दिईनु हुदैन । निरन्तरता र सक्रियताको शुभकामना ।

Published On: Time : 4:21:36  1065पटक हेरिएको

तपाईको प्रतिक्रिया