लेप्मुहाङको डुंगाबाट भवसागर तर्दा

कवि पराजित पोमु युगसँग हाक्का हाक्की प्रश्न साँध्ने कवि हुन । कविताको प्रयोगशालामा गहिरिएर अन्वेषण गरीरहेका कविता अन्वेषक हुन । तिनै कविबाट अविष्कारित लेप्मुहाङको डुंगा उचालीरहेछु । मलाई भारी लागिरहेछ । यस माने यो गहकिलो हुनु पर्छ । लेप्मुहाङको डुंगा किरात लिम्बूहरु माझ आफैले एउटा शशक्त मिथोलोजी हो नै । खैर कतिले क्रिस्चियानिटीको मिथांश अनुवाद पनि दावि गर्लान। तथापि धेरै जसो धर्मग्रन्थहरु मा जलप्रलयको प्रसंग उल्लेख आउँछ । हिन्दु पौराणिक मिथकानुसार मनुले सात ऋषि र बिऊ बिजन जलप्रलयमा बचाए । लेप्मुहाङको डुंगा मिथकले र यसले बोल्ने सार उस्तै भईहाल्यो। यी सप्पै मिथकहरु परस्पर सामान्ज्यस्यता बक्ने साक्षी नै हुन ।

लेप्मुहाङको डुंगा विशाल तारामण्डल हो । विशाल निकुञ्जिका पनि भयो नै । उस्सोले-लोपोन्मुख अस्तित्वहरु, पहिचानको स्वर, भर्जिन सौन्दर्य गाथाहरु, जीवन र जगतप्रतिको बोधताहरुले दाम्मि गरेर संरक्षण हुने सौभाग्य पाएका छन पोमुकृत लेप्मुहाङको डुंगा रूपि निकुञ्जिका भित्र । तेस्रो आयाम, सृजनशिल अराजकता र रंगवादको उर्लिदो छालहरु सित नजिकिदै कवि पोमुले पनि लेप्मुहाङको डुंगा हेलेका हुन । कविले लेप्मुहाङको डुंगा मार्फत ८७ भाग बिलो बनाएर अंशियारी गरेका छन् । ती सबै बिलोहरु आफै आफैले शानदार, ससक्त र गजब भन्न लायक कविता बनेर सास फेर्न पाएका छन् ।

लेप्मुहाङको डुंगा खियाउदै आएका कवि पोमुले प्रसस्त नयाँ बिचार, नयाँ युग र नयाँ चेतना पौरख गरौ भन्ने आग्रह जो बोकेका छन ।

नयाँ विचारको लागि
समयका खाली खप्परहरु
नयाँ घरको पुरानो ट्यूब लाइटबाट
यूज फेरिन्दै छ
नँया युगको लागि ।

साहित्यको जरा खोज्दैजाँदा पौराणिक युगसम्म नै पुग्नु पर्ला। पौराणिक युगमा लेखिएका ग्रन्थहरु लाई पनि साहित्य मान्ने हो भने समाजमा आफ्नो भन्दा अलग सौन्दर्य खुईल्याउने साहित्य उति बेलै शुरू भयो । मुश्लिमहरुको ग्रन्थ ले अलग जातीलाई सुंगुर भने, ईसाईको ग्रन्थले गैह्र क्रिस्चियनलाई शैतान भनिदिदा हिन्दुहरुको ग्रन्थले पनि अलग सौन्दर्यहरु खूबै खुईल्यायो । यो क्रम हिजो र आज पनि नेपाली साहित्यमा कायम छ । खर्पने, स्वाठ भनेर लेखिएको कविता राज्यले निर्देशक सिद्धान्त नै सम्झ्यो । प्रधानमन्त्रि पदमा आसिन हुने मौका सदुपयोग गरेका लेखकले समेत किरातीहरुको देवी सुम्निमालाई नाङ्गो बनाईदिए। तर कवि पोमु आफ्नो सौन्दर्यभन्दा पृथक सौन्दर्यताको असामन्ज्यस्यतामा पनि द्वेष पोख्दैनन्।

प्रत्येक बिहान
मन्दिरको कुनाबाट
एउटा चित्कार
गाँउ बस्ति ख्वाप्पै निल्दै
शान्तिमा, दुःखमा, नैरस्यतामा
तुँ…….धुई……धई…..
तुँ…….धुई……धई…..

अधिकांश छोटो कविताहरु संकलित छ्न संग्रह भित्र । कविता छोटो भएपनि कवितामा बिचारहरु नाईल भन्दा लामो बगेका छ्न । छोटो कविताबाटै कविले धेरै लामो लामो लोकायतनहरु नापेका छ्न । कविताहरु छोटो भएर के भो र हाम्रो पाईलाले नाप्ने दुरीहरु धेरै लामो हुनु पर्छ भन्ने बुझाई कविमा टन्न छ ।

पाईलाहरु संधै संधै अघि बढिरहनु
कुनै रणसंग्रामको मैदानमा
प्रतिरोध र दमनमाथि
तिम्रो जीर्ण मस्तिष्कमा
विशाल भावना र आकाङक्षा हुन सक्छ
ठुला-ठुला लडाई लड्न सक्छौ
तिम्रो अविराम पाईला
तिम्रो अपराजित कदम
सधै सधै अघि बढिरहुन ।

पोमुको कविता क्लिष्ट छैनन् । आम पाठकले सहजै कविताको भाव बुझ्नेछ्न । खासमा कविले पाठकहरु कै लागि कविता केरेका छ्न । कवितामा क्लिष्टता र शब्दहरु को जबरजस्ति तथा अनावश्यक खेल्याईले बियाडमा झार पात उम्रे जस्तै बिरुप बन्छ । कवि पोमुको मानकता यस्तै मान्छु । र त उनले कवितामा सलल बगेका छ्न । वाक्यात्मक संगठनताले लेप्मुहाङको डुंगा भित्रका कविताहरु सपाट छ्न । सरल छ्न र सहज पनि । कविताको ब्याकरण यस्तो हुनु पर्छ उस्तो हुनु पर्छ भन्दै उफ्री हिन्नेहरुको लागि कवि पोमुको कविताहरु आफै जवाफ दिन्छन् । कुरो तेत्ति ।

Published On: Time : 2:22:43  1240पटक हेरिएको

तपाईको प्रतिक्रिया