जबसम्म ठग नेता, बेईमान कर्मचारी र गुलाम बुद्धिजीवि रहिरहन्छन् तबसम्म कसैले पनि न्याय पाउँदैन : डा. राजेश अहिराज


राज्यसत्ताले मधेशमाथि विभेद ग¥यो भनेर मधेशकेन्द्रित दलहरुले आरोप लगाउँदै आएका छन् । तर, अहिले प्रदेश २ मा उनीहरुले नै शासन सत्ता संचालन गरिरहेका छन् । यसरी आफैले शासन सत्ता चलाइरहँदा केही परिवर्तन भएको देख्नुभएको छ कि दोष लगाउने प्रवृत्ति मात्र रहेछ ?
मधेशको सवालमा सुरुदेखि नै स्वसामुदायिक दोहनमा परेका मधेशीहरु एकै पटकमा तीन किसिमको विद्रोहमा ओर्लिएका थिए । पहिलो, नेपाल भित्रै समभावको खोजीमा, दोस्रो पहिचानको खोजीमा र तेस्रो, मधेशी मूलकै नेताहरुबाट भइराखेको विभेदको अन्त्यका लागि । एउटा मधेशीले एकैपटकमा तीन–तीन चरणको विद्रोह एकसाथ गरिराख्नु परेको स्थिति छ । मधेशमा पहिला केन्द्रीय सत्ताले लुट्थ्यो, अहिले प्रादेशिक सत्ताले लुटेको छ । पहिला ठूला पार्टी भनाउँदाहरुले दोहन गर्थे, अहिले त्यसमा मधेशकेन्द्रित भनाउँदा दलहरु पनि सामेल भएका छन् । अर्थात् प्रतिशत थप भएको छ । पहिला पहाडीले दोहन ग¥यो भनेर मधेशमा पीडा अभिव्यक्त हुन्थ्यो, अहिले मधेशभित्र जातीय, धार्मिक दोहनमा परे, फलानो जातको मन्त्री भएकोले मलाई विभेद ग¥यो भन्ने भनाईहरु सुनिन थालेका छन् । मधेश उपचारको क्रममा छैन, मधेश थप घाऊ, द्वन्द्व, बेरोजगारी, अशिक्षा र अशान्तिकै क्रममा रहेको छ ।

महिलाहरुले भन्छन् पितृसत्ताले हामीलाई हेप्यो, जनजातिले भन्छन् खसआर्यले हाम्रो अधिकार खोसे, राज्यको मूल प्रवाहमा हाम्रो उपस्थिति भएन । तराईमा समस्या त थियो तर बुझाउनेहरुले त्यसलाई गलत तरिकाबाट बुझाए भन्न खोज्ुनभएको हो ?
राज्यसत्ताबाट रंगभेदमा परेका मधेशीहरु आफ्नै समुदायको नेताबाट विभेदमा परे जसका कारणले मधेशका जनता थप प्रताडित भए । मधेशका नेपालीहरु सुरुदेखि नै समभाव खोजिरहेका छन् र त्यो समभाव प्राप्तिको संघर्षमा यति धेरै लगानी गरिसके, यति धेरै पटक आन्दोलित भईसके, यति धेरै मृत्युवरण गरिसके तर मधेशले न्याय पाउन सकेन । न ठूला पार्टीले मधेशलाई न्याय दिन सके न अहिले बिचौलियाको रुपमा रहेका मधेश केन्द्रित दलहरुले गर्न सके । यिनीहरुले पनि ठूला दलहरुसँग मिलेर सत्ताका लागि सम्झौता गर्ने र त्यो सम्झौतामा चाङ्गहरु देखाएर निर्वाचनमा मत माग्ने, जितेर आएर फेरि त्यही ठूला पार्टीको पाउँपूजा गरेर राज्यव्यवस्थामा बसिराख्ने । जबसम्म ठग नेता, बेईमान कर्मचारी र गुलाम बुद्धिजीवि रहिरहन्छन् तबसम्म मधेशीले मात्र होईन दलित, जनजाति, महिला, पछाडि पारिएका क्षेत्रहरु कसैले पनि न्याय पाउँदैनन् । किनकी अन्यायको निरन्तरता नै राजनीतिको आधार बनाउने पात्रहरु नेपालमा यति धेरै छन् जो द्वन्द्वलाई सिन्चित गरेर बस्छन् । आफूलाई नेता त भन्छन् तर राजनीति गर्दैनन्, गुट चलाउँछन्, देशकेन्द्रित काम गर्दैन । राज्यको दोहन गरेर आफू समृद्ध कसरी हुने भन्ने सोचाई राख्छ, जनमतलाई आफ्नो परिवारको फाइदाका लागि प्रयोग गर्ने आफ्ना श्रीमती, छोराछोरी, भाई भतिजालाई राज्यव्यवस्थामा लैजानेबाहेक अन्य केही पनि गर्दैन ।

जहानियाँ शासन संचालन हुँदा जन्मिदा नै उनीहरु सेनाको जर्नेल, कर्नेल हुन्थ्ये भनिन्छ । त्यसैकोे आधुनिक रुप अहिले संचालनमा छ भन्न खोज्नुभएको हो ?
क्लेप्टोक्रेसी एउटा यस्तो व्यवस्था हो जहाँ जनता प्रत्यक्ष रुपमा ठगिन्छन्, नेताहरु उच्च भाषण गर्छन्, उत्कृष्ट व्यवहार गरेको देखाउँछ तर निष्कृट परिणाम निकाल्छ । भ्रष्टाचारको सवालमा पक्ष र विपक्ष देखिँदैन, बाँडफाँडमा नै व्यस्त रहन्छन्, अवसरलाई बिक्री गर्ने अर्थात् जनताको आकांक्षा बमोजिम काम नगर्ने, कार्यकर्ताको त्यागलाई न्यायोचित निर्णय नगर्ने तर राज्यका हरेक अंगलाई दोहन गरेर राज्यका स्रोत साधनलाई जनताको भावनालाई दोहन गरेर व्यक्तिगत समृद्धि, पारिवारिक समृद्धिमा मात्र केन्द्रित गर्ने गर्छन् । नेताहरु मिलेर नेताहरुकै लागि नेताहरुसँगै गर्ने व्यवस्था जहाँ न माटो हुन्छ न जनता हुन्छ ।

नेताले जनताका लागि जनताद्वारा नै गरिने शासन प्रजातन्त्र हो भनेर अम्ब्रम लिंकनले परिभाषा गरेका थिए । नेताहरुले त्यो परिभाषालाई परिवर्तन गरिदिएका हुन् ?
नेपालमा नेता भनाउँदाहरु जनताका लागि राजनीति गर्दैनन्, जनतासँगै राजनीति गर्छन् । दलितलाई जनजातिसँग फुटाउँछन्, जनजातिलाई मधेशीसँग भिडाउँछन्, मधशीलाई खससँग भिडाउँछन्, महिलालाई पुरुषसँग भिडाउँछन्, पुरुषलाई महिलासँग भिडाउँछन् । अर्थात् नागरिकलाई नागरिकका विरुद्धमा उभ्याएर घृणा, द्वेष, हत्याहिंसा, भ्रष्टाचार, दोहनजस्ता कर्म गराएर त्यसलाई नै राजनीति भन्छन् । आफ्नो छोराछोरीलाई विदेशमा पढ्न पठाएर नेपालमा शैक्षिक हड्ताल गराउने कुपात्रहरुलाई हामीले नेता भन्नु परेको छ । आफ्नो कार्यकर्ताले चन्दा उठाए, उसलाई राज्यले समात्यो भने नेपालै बन्द गरिदिने कुपात्रहरुलाई नेता भन्नुपरेको छ । १७औं हजार मारिसकेकाले मैले केही गरेको छैन भन्ने पात्रहरु भएको देशमा कसलाई के भन्नु । दल बदलेर दायित्व बदलिन्छ भन्ने सोचाई भएका नेताहरु र बुद्धिजीवि भएको देशमा परिभाषा परिवर्तन गर्नै गाह्रो भएन ।

डा.बाबुराम भट्टराईले समाजवादी पार्टीमा गएर जनयुद्धको क्रममा घाइते र बेपत्ता भएका त्यतिबेलाको संक्रमणकालीन न्यायको समयमा न्याय नपाएका जनताको पक्षमा उहाँले बोल्न सक्नुहोला त ?
— राजनीति र अपराध फरक कुरा हो । राजनीति विचारबाट संचालन हुन्छ, अपराध हतियारबाट । अब नेपालीहरुले प्रष्ट भाषामा बुझ्न थालेका छन्, कसले राजनीति गर्र्दैछ र कसले अपराध । अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण धेरै समय चल्दैन । नेपालीहरु मौन छन,् मुर्ख छैनन् ।

बोझिलो खालको संघीय व्यवस्था ठिक भएन भनेर तपाईले नै सामाजिक संजालमा लेख्दै आउनुभएको छ । चित्रबहादुर केसीले पनि सुरुदेखि नै संघीय व्यवस्थाको विरोध गर्दै आउनुभएको थियो, उहाँका विचारको समर्थन गर्नेहरु पनि धेरै छन् । तर उहाँले निर्वाचनमा किन हार बेहोर्नु हुन्छ ?
संघीयता मुलुकका लागि ठिक छैन भन्ने पात्र संघीय नेपालमा उपप्रधानमन्त्री भइसकेपछि उहाँको नैतिक धरातल सकियो । विद्धान हुनु र इमान्दार हुनु फरुक–फरक कुरा हो । राजनीतिको नैतिक धरातल हुनुपर्छ जुन कुराको विरोधमा आवाज उठाइरहनुभएको छ यदि त्यही कुरा गर्ने हो फेरि पुरानै एजेन्डा बोकेर हिड्नुको औचित्य हुँदैन ।

जुन एजेण्डाको लागि संघर्ष गर्नुभएको छ त्यो प्राप्त नभई सरकारमा जानै हुँदैन भन्ने तपाईको भनाई हो भने त त्यसोभए त उपेन्द्र यादव र महन्थ ठाकुरले पनि संविधान संशोधनको मुद्दा छाडे भयो ?
छोडेकै त छन् नि । तराईतिर झुनझना भन्ने हून्छ बेला न कुबेला बजाइरहने । उहाँहरुले संविधान संशोधनलाई झुनभुनाको रुपमा प्रयोग गर्नुभएको छ । जुन पार्टीका नेताहरुको सोच राष्ट्रिय स्तरको छैन, जो जनतासँग नजिक छैन, पार्टी बनिसकेको छैन, त्यसले आफ्नो नाम राष्ट्रिय जनता पार्टी राख्ने ?


तर, त्यही दललाई मधेशमा जनताले मत दिएका छन् नि ?
— जनमत र जनभाव फरक हो । निर्वाचन गणितीय व्यवस्था हो । यदि राजा नभई नहुने कमल थापा र राजालाई राख्न हुँदैन भन्ने अर्को पार्टी मिलेर सरकारमा जानुलाई कसरी बुझ्ने । कांग्रेस–एमाले विभेदकारी हो भनेर मधेशमा गएर मत लिने र जितेर आएर त्यही पार्टीसँग मिलेर सरकारमा जाने हो भने राप्रपा, राजपा, कांग्रेस, एमाले सबै मिलेर सत्ता संचालन गर्ने, पदीय बाँडफाँड गरिराख्ने हो, आम्दानी खोजिराख्ने हो भने त्यो क्लेप्टोक्रेसी होइन ? कसलाई ठगेको, किन ठगेको, कति दिन ठगेरै बस्ने ?

आजसम्म चलिरहेकै छ ?
मेलै पहिल नै भनेको थिएँ, तपाई ढुक्क हुनुहोस् उपेन्द्र यादवले सरकार छोड्दैनन् । त्यो दिन मात्र सरकार छोड्छन् जुन दिन यो प्रधानमन्त्रीको पद खोसिने निश्चित हुन्छ र अर्को प्रधानमन्त्रीले उपेन्द्र यादवलाई कुन पद दिन्छन् भन्ने टुंगो लाग्छ ।

त्यसो भए राजपाका नेताहरु निष्ठावान् हुन् त ? उनीहरु त सरकारमा गएका छैनन् नि ?
— यो हाम्रो दुर्भाग्य हो हामीसँग लिडर छैनन् डिलर मात्र छन् ।

एउटा व्यवस्था परिवर्तन भएर अर्को व्यवस्था आइसकेपछि त्यो व्यवस्था संचालन गर्न नयाँ पुस्ता आउनु पर्ने हो । तर नयाँ व्यवस्थामा नि पुरानै व्यक्तिहरुले काम गरिरहने हो भने हामीले कोसँग आशा गर्ने ?
नेताको व्यवस्थापन मुद्दाको सम्बोधन होइन । जबसम्म नेपालमा मुद्दाको सम्बोधन हुँदैन तबसम्म तपाईले भन्नुभएको जस्तो नेताहरु जन्मिरहन्छन् र कुनैपनि व्यवस्था नेपालमा दीर्घजीवि हुन सक्दैन । जुन व्यवस्था ल्याउनका लागि बलिदान भएका सहिदका परिवारमा आँशु कायम रहन्छ, घाइतेहरु नरकीय जीवन बाँच्न बाध्य रहन्छन् र जहाँ आन्दोलक र सहकर्मीलाई अपमानजनक जीवन बिताउन बाध्य गरिन्छ त्यो व्यवस्थाले स्थायित्व प्राप्त गर्न सक्दैन ।

डा.बाबुराम भट्टराई र उपेन्द्र यादवको मिलनलाई कसरी लिनुभएको छ ?
— धार, धारणा र धरातल तीनटै कुरा एकअर्कासँग नमिल्ने फरक सोच, फरक चरित्र, फरक पृष्ठभूमिबाट आएका फरक पात्रहरुको मिलन हो यो । यो अटोब्याण्डिङ्ग होइन, यो फोर्सब्याण्डिङ्ग हो । यो एकीकरण लामो समय जाँदैन । भ्रष्टाचारको दलदलमा उभिएर सुशासनको भाषण गर्ने पात्रहरु कतै पनि धेरै दिन टिक्न सक्दैनन् । यो सरकार गलत हो भन्ने डा. बाबुराम भट्टराई अहिले त यही सरकारको पक्ष हुनुभएको छ । उहाँले विगतको आफ्नै अभिव्यक्ति विचार गर्ने कि नगर्ने । जब मान्छेमा नैतिकता हराउँछ त्यसपछि कसैको केही लाग्दैन ।

मधेशका मुख्य दलहरु भनेर उपेन्द्र यादव नेतृत्वको दल र अर्को राजपा नेपाललाई चिनिन्छ । अहिले राजपा केन्द्रीय सरकारमा छैन तर धेरै चर्को गरी आफ्नो मुद्दा उठाउन पनि सकिरहेको छैन । यो कतै सुनामीभन्दा अगाडिको शान्ति त होइन ?
— राजपाले आधार र पहिचान गुमाइसकेको छ । केन्द्रीय सत्तामा छैन, प्रादेशिक सत्तामा त छ । अर्थात् घाऊ मेरो हातमा छैन खुट्टामा छ भनेको जस्तो बुझियो । सत्ता त जहाँको भए नि सत्तामै छ नि, यहाँ कसलाई ठगिरहेको छ ? राजपासँग विचित्रको पीडा छ । उ समाजवादी दलसँग एकीकरण गरेर गयो भने उसको मुद्दा सकिन्छ, नेता जोगिन्छ । कांग्रेससँग मिल्यो भने उसको मुद्दा जोगिन्छ, नेता सकिन्छ । यसैगरी बसिराख्यो भने उसको दुवै कुरा समाप्त हुन्छ ।

राजपाबाट सरकारलाई गलाउने खालको कुनै आन्दोलनको सम्भावना छैन ?
— यदि सरकारले आफ्ना गतिविधि यसरी नै बढाइराख्ने हो भने सरकारकै गतिविधिका कारण नेपालमा कांग्रेस, राजपा र राप्रपा बलियो हुन्छ ।


कश्मिरको विषयमा भारतले चालेको कदमलाई कसरी हेर्नुहुन्छ ?
— कुनैपनि मुलुकको घरेलु राजनीतिमा हामीले केही भनिराख्नु ठिक हुँदैन । भारत–पाकिस्तान बिचमा राजनीतिका मापनहरु हेर्नुपर्छ, त्यसमा आफ्नो दृष्टिकोण प्रष्ट पार्नुपर्छ । कश्मिरको मुद्दा भारतको विल्कुलै घरेलु मामिला हो ।

यो सरकारको काम गराईलाई कसरी हेर्दै हुनुहुन्छ ?
— यदि यो सरकारले संरचनागत रंगभेद, कार्यगत पक्षीयता र पक्षीय प्राज्ञिक चिन्तनलाई निस्तेज गर्न सक्दैन भने पहिले प्रधानमन्त्रीको रुपमा व्यक्ति परिवर्तन हुन्छ, त्यसपछि यो व्यवस्था परिवर्तन हुन्छ ।

यो व्यवस्था त १०० वर्ष जान्छ भन्छन् नि केही नेताहरुले ?
यो देशमा कुनै जनता मुर्ख छैनन् । समग्रमा भन्नुपर्दा नेपालीहरुको भूमि, भावना र भविष्य तीनवटै विषय दुर्घटना उन्मुख छ । नेपालको अखण्डता पनि दुर्घटना उन्मुख छ । त्यसैले यो देश जोगाउने हो कि, दल जोगाउने हो कि, व्यवस्था जोगाउने हो कि सिंगो नेपालीत्व जोगाउने कि, माटो जोगाउने ? अब देश बनाउने कुरा धेरै परको कुरा भयो पहिले देश जोगाउनतिर लाग्नुपर्ने समय आएको छ । यदि यी नेताहरुको अभिव्यक्ति, कार्यशैली र परिणाममा तारतम्यता मिलेन भने नेपाली जनताले यी नेतालाई नेपाल बाहिर पनि जान दिँदैनन् ।

मातृभूमिका लागि नेपाली भनेर तपाईहरुले एउटा अभियान चलाउनु भएको छ । यसको उद्देश्य चाँहि राजसंस्था फर्काउने र हिन्दू राष्ट्र कायम गर्ने हो भनिन्छ नि ?
मातृभूमिका लागि नेपाली एउटा यस्तो संस्था हो जहाँ देशको माटो र नेपाली जनतालाई माया गर्ने पात्रहरु जम्मा हुन्छन् । राजसंस्था पुनस्र्थापना गर्ने यो अभियानको उद्देश्य बिल्कुलै होइन । हिन्दूत्व फर्काउने उद्देश्य हो । हिन्दूत्व धर्म मात्र होइन हाम्रो संस्कार पनि हो ।
(नेपाल आज डटकमको युट्युब च्यानलमा प्रसारित अन्तर्वार्ताको सम्पादित अंश/ मधेश दर्पण)

Published On: Time : 11:54:22  49पटक हेरिएको

तपाईको प्रतिक्रिया