पाँचथरमा नौं जनाको विभत्स हत्या

तीन जना बालिका, दुई जना पुरुष, चार जना महिलाको हत्या, एकजना बालिका भाग्न सफल

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ मा दुई परिवारको नौ जनाको हत्या भएको छ । एक बालिका घाइते भएकी छिन् । मिक्लाजुङ आरुबाटेमा एक परिवारको ५ जना र अर्को परिवारको ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।

स्थानीयका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको गुरुङले जानकारी दिनुभयो ।

३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीन्दाले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
घटनास्थलमा दशमीबजारमा रहेको प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले ९ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिनुभयो । नगेन्द्र राई

Published On: Time : 9:48:05  84पटक हेरिएको

तपाईको प्रतिक्रिया