जनतालाई सेवा पुर्यान नसक्ने मन्त्रीहरुलाई पार्टी नेतृत्वले परिवर्तन गर्नैपर्छ : सुदन किराती


नेकपाका केन्द्रिय सदस्य तथा भोजपुरबाट निर्वाचित प्रतिनीधिसभा सदस्य सुदन किरातीको जन्म हङकङको सेकङ्गमा भएको हो । हङकङमा उनले बाल्यकालमै विकास र भैभव नजिकबाट नियालेका थिए । लाहुरे परिवार भएकाले हङकङको त्यो सम्पन्नतासंगको साइनो दिर्घकालिन भने भएन । छ, सात बर्षको उमेरमै परिवार पूर्खेउली थलो भोजपुर फर्कियो । उनको बाँकी बाल्यकाल गाउँमै वित्यो । हङकङमा उनले सम्पन्नता मात्र देखेका थिए गाउँ फर्किएपछि सुदुर दुःख, पीडा र अभावसंग आफै पौँठेजोरी खेल्नु पर्यो । यसले गर्दा उनमा बाल्यकालमै वर्ग चेत पलायो । राजनीतितिर आकर्षित हुँदै गए । विद्यालय तहमै उनी अखिलको सक्रिय कार्यकर्ता थिए ।
खम्बुवान राष्ट्रिय मुक्तिमोर्चा उनको राजनीतिक जीवनका ट्रनिङ पोइन्ट थिए । त्यहिबाट भूमिगत सशस्त्र युद्धमा होमिए । पछि पार्टी माओवादीसंग एकिकरण भयो । पार्टी एकिकरण भएपछि पूर्वी क्षेत्रमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । वृहतशान्ति सम्झौतासंगै २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा तत्कालिक एकिकृत नेकपा माओवादीका तर्फबाट भोजपुर क्षेत्र नम्वर २ मा लोकप्रिय जनमतका साथ विजयी बने । नेकपा माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य हुँदै दुई ठूला कम्युनिष्ट पार्टी एकिकरणपछि नेकपाका केन्द्रिय सदस्य बनेका किराती २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा पुन भोजपुरबाट निर्वाचित भए । बुलेटदेखि व्यालेटसम्म सफल, जुझारु युवा नेता किरातीसंग पार्टी संमायोजनको पच्छिलो अवस्था, सरकार पुनःगठन, विप्लव माओवादीलाई लगाइएको प्रतिबन्ध लगायत समसामयिक विषयमा टुडिखेल डटकमले गरेको कुराकानीको अंश :-

तपाईको सुरुवाती राजनीतिक यात्रालाई हेर्दा निक्कै बाङगोटिङ्गो देखिन्छ । एकै पटक सही बाटो समात्न गाह्रो भएको हो ?
परिवारको राजनीतिक पृष्ठभूमि नभएको र त्यसमा पनि कुन सत्य होला भनेर सत्यको खोजीमा यात्रा गर्दा यो सत्य हो की, त्यो सत्य हो छान्दै र अनुसन्धान गर्दै जाँदा मेरो यात्रा त्यस्तो भएको हुन सक्छ । कतिपयले त्यसलाई अस्थिर भनेर पनि भन्लान तर मेरो के धारण छ भने म सत्यको खोजी गरिरहेको थिए ।

अहिले समाजवादी सिद्धान्तलाई अंगाल्नु भएको छ । यो चाँही के सत्य रहेछ ?
नेपालको सबै अन्तरविरोधहरु वर्ग संघर्षसंग जोडेरमात्र हल हुन्छ । त्यसकारण वर्ग संघर्ष गर्ने हतियार कुन ठिक हो जब म यो निकर्षमा पुगे यहि नै हो सत्य । अन्तिम सत्य भन्ने चाँही यो ब्रह्माण्डमा केही पनि हुदैन । अन्तिम सत्य भनेको दुईओटा हुन्छ एउटा ब्रहमाण्ड र अर्को समय । यी दुई मात्र सत्य हुन । अरु बदलिन्छ । जन्मिन्छ हुर्किन्छ मर्छन् । अहिलेलाई सापेक्षित रुपमा यहि नै सत्य हो ।

तपाईसंगै सघर्ष गरेर आएका बाबुराम भट्टरार्इले त यो सिद्धान्त गलत हो यसले नेपालको आमुल परिवर्तन सम्भव नै छैन भनेर अर्को बाटो हिडिसक्नु भो त ?
विचार राख्ने कुरा सबैलाई स्वतन्त्रता छ । वस्तुगत आत्मगत परिस्थितिहरु आँकल गरेर जे कुरा संप्रेषण गर्नु भो उहाँहरुलाई त्यस्तो लाग्यो । त्यसमा मेरो भन्नु केही छैन । अन्तिम सत्य हो भनेर प्रमाणित गर्नु पर्ने बेला भएको छैन । त्यो इतिहासमा समयले नै प्रमाणित गर्ने छ ।

तपाईको राजनीतिक यात्राका प्रिय पात्र गोपाल किराती वैचारिक कारण नेकपाको एकतासंगै छोडिनु भयो । यसलाई कसरी लिनु हुन्छ ?
राजनीतिमा भावनात्मक पक्ष प्रधान हुदैन । विचार सिद्धान्तको कुरा प्रधान हुन्छ । उहाँहरु जतिको ठुलो आन्दोलनले, जनताले दुःख गरेर स्थापित गरेको नेतृत्व यसरी अलगथलग हुँ्दाखेरी एउटा क्षतिको महसुस त हुन्छ नै भावनात्मक कुरा गर्दा दुःख लाग्छ । तर दुःख प्रकट गरेर मात्र हुदैन । हामीले छोडेको होइन उहाँहरुले हामीलाई छोडेको हो । उहाँले दृढताका साथ नेतृत्व प्रदान गुर्नु पर्थ्यो । तर त्यो दायित्वबाट अलगिनु भो र उहाँले हामीलाई छोड्नु भो । प्रतिनिधिसभाको निर्वाचन जितीसकेपछि मैले उहाँलाई भेट्न गए । मैले उहाँलाई भने म निर्वाचन जितेर आए । तपाई हाम्रो नेतृत्व हो, अगुवा हो । पछिल्लो एउटा काल खण्डमा तपाईको नेतृत्वमा हामीले काम गर्यौ आज चुनाव जितेर आएको हुनाले गुरु मान्न आए । उहाँले धैरै कुरा राख्नु भइसकेपछि उहाँलाई मैले आफ्नो अन्तिम कुरा भने । कसरी हामी अगाडि बढ्न सकिन्छ अहिले पनि त्यतातिर सोचौँ । एकीकृत भएर आन्दोलन गरेनौ भने व्यक्तिगत, पार्टीगत र सामुदायिक हिसाबले पनि क्षति हुन्छ । तर मैले जोड गरिन उहाँले पनि जोड गर्नु भएन । सायद नियतले भन्दा पनि हामीलाई नियतीले त्यहाँ पुर्याएको थियो ।

सरकार पुर्नगठनको छलफल चलिरहेको छ । नयाँ मन्त्रिमडलमा तपाई जाने कतिको सम्भावना छ ?
राजनीतिमा लागेको मान्छे, लोकतान्त्रिक प्रक्रियाबाट चुनाव चितेर प्रतिनिधिसभाको सदस्य भएको मान्छे आज मात्र होइन पहिला पनि भएको मान्छे, राजनीतिक आन्दोलनमा लामोसमयदेखि लागेको यो सबै दृष्टिकोणबाट हेर्ने हो भने त योग्यता पुगेकै हो तर जसरी पनि सरकारमै जाने, सरकारमा गएर सबै काम हुन्छ र मैले गर्नुपर्छ भन्ने लालच छैन । मैले कतै कुरा पनि गरेको छैन । मन्त्रिमण्डललाई फेरबदल गर्न भन्ने कुरा मैले पनि सञ्चारमाध्यमहरुमा सुनिरहेको छु । औपचारिक रुपमा कमिटि भित्र छलफल भएको मलाई थाहा छैन । थाहा छ भने पशुपतिथानलाई थाहा होला को को कहाँ कहा पर्छन फेरिन्छन त्यो थाहा छैन तर जनतालाई सेवा पु¥याउन नसक्ने मन्त्रीहरुलाई पार्टी नेतृत्वले परिवर्तन गर्नैपर्छ । जनतालाई सेवा दिन सकिदैन भने झण्डा हल्लाएर हिड्नु मात्रै अहिलेको हाम्रो परिस्थिति र दायित्व होइन ।

सरकार गठनको अन्तिम समयसम्म तपाई मन्त्री बन्ने चर्चा भएको थियो । पूर्व माओवादी १ नम्बर प्रदेश कोटाबाट एक जना मन्त्री बनाउने प्रचण्डको प्रस्ताव १ नम्बर प्रदेशकै सभासदहरुका आन्तरिक विवादको कारण सफल हुन सकेन नि ?
त्यो त मलाई थाहा छैन । अन्तिमसम्म मेरो नाम चर्चामा आएको सत्य हो । त्यो बेलामा नेकपा माओवादीको पोलिटव्यूरो सदस्य र दुईपटक निर्वाचन जितेको प्रतिनिधिसभाको सदस्य पनि थिए । काम गर्न सक्छ, दिएको जीम्मेवारी सफलतापूर्वक निभाउन सक्छ भन्ने सायद नेतृत्वलाई प¥्यो । तर हामी एक नम्बर प्रदेशको सभासदहरुमै आन्तिरक विवाद भएर हो भन्ने थाहा थिएन । आजै थाहा भयो । नेतृत्वलाई के गर्दा ठीक हुन्छ भन्ने थाहा हुन्छ । उनीहरुले टावरमा बसेर हेरिरहेका हुन्छन् । त्यसै गर्दा ठीक हुन्छ भन्ने लाग्यो त्यहि गर्नु भयो हामीले सहयोग गरेर गयोँै । हाम्रो मन्त्री बन्ने इस्यूमा विवाद थिएन । हाम्रा केही विवाद थिए तर ती विवाद नितान्त विचार र कार्यशैलीमै थियो । छन् चाँही थियो ।

एउटै विचारबाट प्रभावित कम्युनिष्ट पार्टीका सदस्यहरु किन फेरि विचार कै नाममा लाइन सघर्ष गरिरहन्छन ?
द्धन्द्वात्मक ऐतिहासिक भौतिकवादी दर्शनको आधारमा हेर्दाखेरी सत्यको खोजी गर्ने अन्वेषण गर्ने मान्यताबाट यो सुरु हुन्छ । तर विसंगति चाहि के देखियो भने कम्युनिष्ट आन्दोलनमा मेरो आफ्नो अनुभव विचार र सिद्धान्तमाथिका धारिलो बहस नभएर भावना प्रधान बनाएर गर्दै जाने छलफल टुटफुट ल्याउनुमा अभिव्यक्त भयो । तर द्धन्द्वात्मक ऐतिहासिक भौतिकवादले सत्यको खोजी गर्नमा हुने आलोचना सुझाव संघर्ष एकता र रुपान्तरणको कुरा चाहि त्यसरी आएको हो । जब काम गर्दै जाँदा भावनामा ठेस पर्छ त्यसलाई नै सैद्धान्तिकरण गर्ने संस्कार बस्यो । त्यसले विकृती ल्यायो । खासमा नयाँ कुराको खोजीमा बहसहरु हुनु पर्ने हो । संसारमै व्यवहारमा त्यो अलि कम प्रयोग भयो ।

पार्टी भित्र मन्त्री छान्ने मन्त्र के हुने रहेछ ?
खासमा संसदिय व्यवस्था भनेकै युवाहरुको व्यवस्था होइन रहेछ । दुई पटक सासद भएर गरेका अनुभव यो पाकाहरुको व्यवस्था रहेछ । यहाँ कुन पात्रलाई मन्त्री बनाउँदा कति काम गर्न सक्छ भन्दा पनि कस्ले आन्दोलनमा कति भोटो फटायो भन्नेबाट सुरु हुन्छ । त्यसैले अहिलेको हाम्रो आवश्यता कार्यकारी प्रमुख नै रहेछ । जनताबाट प्रत्यक्ष निर्वाचित भएर आउने कार्यकारी प्रमुखले नै काम ग¥्यो भने मात्र हाम्रो जस्तो देशमा ठिक हुन्छ भन्ने मेरो अहिलेको निष्कर्ष हो ।

पार्टी एकता घोषण भएको पनि एक बर्ष वित्न लाग्यो पार्टीको तल्लो तहसम्म किन संमायोजन हुन सकिरहेको छैन ?
केहि दिन अगाडि मात्र हाम्रो संसदीय दलको बैठक बस्यो । त्यो बैठकमा सम्माननीय प्रधानमन्त्री तथा हाम्रो अध्यक्ष केपी शर्मा ओलीले भन्नु भएको छ ‘यो यति ढिलो नहुनु पर्थ्र्यो भयो तर अरु कुनै कारणले होइन यसलाई हामी गरेर देखाउँछौ । अर्को अध्यक्ष स्वदेश आउनु भएपछि पार्टी एकताको बाँकी काम तलैसम्म टुंग्याउन अभियानकै रुपमा लाग्छौ’ भन्नु भएको छ । नौ दश महिनासम्म पार्टी एकताको तल्लो तहसम्म पुग्न नसक्नु दुःखद कुरा हो । यसले गर्दा सरकारले लिएको लक्ष्य नै पार्टीले लिएको लक्ष्य हो तर सहयोग पुर्याउन सकिरहेका छैनौ । यो दुखद पक्ष नै हो ।

भागबन्डा मिलाउन गाह्रो भो भन्ने बाहिर आइरहेको छ ?
औपचारीक रुपमा हाम्रो कमिटिमा बैठक गरेर यो विषयमा छलफल भएको छैन । अहिलेसम्म सचिवालयमै छप्लफल गर्दै प्रदेश तहसम्म टुंग्याइएको छ । जिल्ला तहको सचिव र अध्यक्ष टुंग्याउन सकिरहेको छैन । त्यो भागबण्डाले हो या केले हो मेरो जानकारीमा छैन । हामी सबैले छातीमा हात राखेर के कुरालाई चाँही हामीले मनन् गर्नु पर्यो भने खोला बाह् बर्षमा घुम्छ भन्थ्यो । ६८ बर्षमा कम्युनिष्टका खोला आएको छ । संसारका प्रतिक्रियावादीहरुले,वैरीहरुले हामीलाई विभाजन गर्नका निम्ति जे खेल खेलिरहेका छन् । त्यसैलाई नै मलजल पुग्ने काम हामी कसैले नगराँै । एकता गर्नु नै आफैमा महान छ । यसको लक्ष्य चुम्न अर्को महानता हुन्छ । यो गुटगट आदि आदि ईत्यादि भन्ने जतिपनि छन त्यसलाई यदि हो भने त्यो गर्नु हुदैन ।

दुई ठूला कम्युनिष्ट पार्टीको एकता र त्यसपछिको लामो अलमललाई लिएर सोभियत संघ विघटनको प्रसंगसंग तुलना गर्न थालिएको छ नि ?
सोभियतसंघको विघटनपछि संसारमा कम्युनिष्टहरु विघटन भए । अब समाप्त भए भनेर खुबै प्रचारबाजी गरियो । वास्तवमा त्यो दुःखद थियो । कम्युनिष्टहरुले घटेको घटनाबाट शिक्षा लिनु पर्छ । घटेको घटनाबाट शिक्षा लिन सकिदैन भने आफैले आफ्नो मार्ग बनाउन सकिदैन । आफ्नो लक्ष्य बनाउन सकिदैन । त्यसो भएको हुनाले सोभियतसंघ मात्र होइन संसारभरी आँधा संसार जीतेका कम्युनिष्टहरुको एउटा कालखण्ड थियो । विघटन हुदै जानुको पछाडी के कारण थिए त ? दार्शनिक मुल्य मान्यतामा त्रुटि थियो कि ? हाम्रो सिद्धान्तमाथि त्रुटी थियो कि ?, हाम्रो विचारमा त्रुटि थिए ? राजनीति माथि त्रुटि थिए कि के त्रुटि थिए त ? यो सबै कुराको व्यापक विश्लेषण गरेर हामीले आजको कम्युनिष्ट कस्तो हुनुपर्छ ? विगतको दुःखान्त घटनाबाट के पाठ सिक्ने र सिक्न जरुरी छ । अहिलेको बहस यो पनि हो । पार्टी एकतासंगसंगै ठूलो पार्टी भयौँ, प्रधानमन्त्री भयाँै । दुईतिहाइको सरकार बनाइयौँ भन्ने मात्र होइन । हामीले के स्पष्ट लक्ष्य बनाइयोँैँ, त्यो लक्ष्य चुम्नका निम्ति हाम्रो कार्यदिशा कस्तो हुनु पर्छ ? कार्यदिशा नहुनु भनेको लक्ष्य नहुनु हो । लक्ष्य छैन भने कसरी कार्यदिशा हुन्छ ? र कसरी कार्यक्रमहरु बन्छ त ? यस्तै गाजाँगुजुङ गर्दै अर्को बर्ष पनि जाने हो भने के हामीले गरेको पार्टी एकता अमुक मान्छेहरुलाई मन्त्री बनाउन, प्रधानमन्त्री बनाउन मात्रै हो भन्ने अर्थ पनि लाग्न सक्छ । अझै हामी जगाङगुजुङ गर्दै जाने हो भने यिनीहरुको लक्ष्य छैन । लक्ष्य नभएर नै कार्यदिशा नबनेको हो, कार्यदिशा नभएर नै कार्यक्रम नबनेको हो भनेर अर्थ लाग्न सक्छ । त्यसैले छिटो भन्दा छिटो टुङ्ग्याउन जरुरी छ ।

क्रान्ती अधुरै छ भनेर प्रचण्डले धेरै ठाउँ भाषण गर्नु भयो, के त्यो अधुरोे क्रान्तिको स्पेश विप्लवले लिन लागेको हो ?
जब संघर्षहरु सम्झौतामा टुंिगने गर्छ, त्यो पुरा भएको हुदैन । हामी पनि सम्झौतामै आएको हो । राज्यसत्ताले पूर्ण रुपमा तत्कालिन माओवादीलाई निषेध गर्न नसकेको र तत्कालिन माओवादीले पनि ग्रामिण क्षेत्रहरु सबै आफ्नो हातमा लिए पनि मुख्य सहरहरु हातमा लिन नसकेको अवस्थामा हाम्रो सम्झौता भएको हो । स्वभाविक रुपमा त्यो अधुरो थियो । तर अब हाम्रो बाटो के हो भने अहिलेसम्म आन्दोलनले प्राप्त गरेको उपलब्धीहरुको रक्षा गरेर जाआँै । नयाँ ढंगले क्रान्ति संगठित गराँै । आखिर हामी पुग्नु पर्ने वैज्ञानिक समाजवादमा हो । बरु भएको कम्युनिष्टहरुलाई एक गर्दै जाआँै । एकता पनि भयो । समाजवाद उन्मुख भनेर लक्ष्य संविधानमै आयो । कस्तो खालको समाजवाद हो भन्ने कुरामाथि बहस हुने बाँकी छ । बुर्जूवा समाजवाद हो की वैज्ञानिक समाजवाद ? हामी यो लडाईको कोर्षमा प्रवेश गर्यौँ । उहाँहरु मुदाहरुलाई स्थापित नै गरेर जानु भन्ने हो यसको अर्थ जीतेर जानु हो जीतेर जाने स्थिति हामीसंग थिएन । विश्व परिस्थिति, क्षेत्रीय परिस्थिति, राष्ट्रिय राजनीतिको सन्तुलनलाई हेर्दा पनि उहाँहरुले सोचे जस्तो चाँही अवस्था छदै थिएन । जसरी उहाँहरुले अहिले एकीकृत क्रान्तिका कार्यदिशा लिएर हिडिरहनु भएको छ कुरै मात्र सुन्दा त ठिकठिकै होला तर समग्र आत्मगत र बस्तुगत अवस्थाको पनि एउटा क्रान्तिकारीले मूल्याङ्न गर्नु सक्नु पर्दछ । अन्यथा दुर्घटना हुन्छ भन्ने बुझ्नु पर्दछ ।

तपाईहरुले त्यहि काम गर्दा महान, हिजोसंगै रहेका साथीले आज त्यहि बाटो हिड्न खोज्दा कुन आधारमा प्रतिबन्द लगाउँदै हुनुहुन्छ ?
त्यहि बाटो हिडेर त हामी आयाँै । हामीले सम्पूर्ण घटना क्रमलाई विश्लेषण गरेर अब हामी यो बाटो लाग्दा मात्र हामी लक्ष्यमा पुग्छौ भन्नेमा हामीले हाम्रो रणनीतिमा परिवर्तन लिइयाँै नी त । तर उहाँहरु पुरानै बाटौ हिड्दै हुनुहुन्छ । हामीले भन्यौँ यो बाटो भीरको छ । यो बाटोमा धेरै आगलागी भइरहेको छ । यो बाटोमा पहिरो छ भन्यौँ । उहाँहरु जबरजस्ती त्यहिबाटो दौडन खोजी रहनु भएको छ । उहाँहरुकोे यो क्रियाकलापले त अहिलेको उपलब्धी पनि रक्षा हुदैन । लोकतान्त्रिक गणतन्त्र पनि केही रहेनछ भन्ने भान जनतामा पर्यो भने त फेरि प्रतिगामीहरु उठेर आउँछ । त्यस कारण कहिले काही लक्ष्य महान हुँदाहुदै पनि वस्तुगत अवस्थाको सहि आँकलन नहुदाँ त्यसको अर्थ गलत लाग्न सक्छ । ्त्यसले गलत परिणम लिएर आउँन सक्छ । यी सबै कुराहरुको मिहीन विश्लेष्ण गरेर हामीले यो बाटो रोज्यौँ । यो बाटो हिडेर हामी शान्ति र समृद्धिको अभियान छौ । उहाँहरु विध्वंसको अभियानमा हुनुहुन्छ । शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्ने त संविधानमै उल्लेख छ । स्थापित मान्यता हो । उहाँहरुलाई हत्याहिंसाको बाटो नहिड्नुस सरकारले भनेको हो । अहिले पनि पूर्ण रुपमा वार्ताको ढोका वन्द गरेको अवस्था होइन । सरकारले राजनीतिक समस्यालाई राजनीतिक रुपमै समाधान गर्ने र अन्य अवाञ्छित गविविध प्रशासनिक ढंगले हल गर्ने हो । हतियार र पैशाले मात्र क्रान्ति हुदैन । प्रतिवन्ध मात्रै पनि समस्याको समाधान होइन । तर याद गर्नै पर्ने कुरा हिजो हामीले क्रान्ति गर्दा र अहिलेको अवस्था फरक हो । त्यतिबेला नागरिकहरु नागरीक हुन सकेको थिएन । दरबारमा राजा थियो । अहिले त त्यस्तो अवस्था होइन । राजाको निरंकुता छैन । सरकार आफै समाजवादको लक्ष्य लिएर हिडिरहेको छ । सरकार जनतालई सुखि र समृद्ध बनाउँछु भनेर लागेको अवस्थामा यो त छेके जस्तो भयो ।

अन्त्यमा ?
ठूलो एउटा राजनीतिक परिवर्तनपछि । लामो समय गुजारेर नेपालले राजनीतिक स्थायीत्व हासिल गरेको छ । सबै देशको नागरिकहरु अहिले नै धेरै आत्तिहाल्नु पर्ने स्थिति आइहालेको छैन । प्रचुर सम्भावनाहरु बोकेको विविधताले भरिएको नेपाल विकास हुनका निम्ति त्यति धेरै लाग्दैन । अहिले नै हरेस खानु पर्ने अवस्था छैन । तपाईहरु मार्फत देशका सम्पूर्ण नागरिकहरुमा भन्न चाहान्छु । संगै आउन लागेको नयाँ बर्ष २०७६ को सम्पूर्ण देशवासी नागरिकहरुमा उत्तरोत्तर प्रगति र समृद्धिको हार्दिक शुभकामना व्युक्त गर्दछु ।

Published On: Time : 11:23:38  1292पटक हेरिएको

तपाईको प्रतिक्रिया