कुमार र सञ्जुहाङ लिम्बुवान आन्दोलनका गद्दार पात्र हुन : वीर नेम्बाङ

वीर नेम्बाङ लिम्बुवान अभियान र आन्दोलनका सस्थापक नेता हुन । कला साहित्यको संरक्षण र संवद्र्धनमा लागेको नेम्बाङ लिम्बू भाषाको विद्यालय खोले बापत नै राज्यबाट दण्डित हुनु परेपछि पार्टी नै स्थापना गरेर थप आन्दोलनमा होमिए । हक हित र लिम्बुवान राज्य स्थापनार्थ उनले २० डिसेम्बर १९८६ मा लिम्बुवान मुक्ति मोर्चाको स्थापना गरे । सन् १९५८ मा पाँचथरमा जन्मिएका नेम्बाङ उमेरले ६० टेकेका छन् भने आफैले स्थापना गरेको पार्टीले पनि तीन दशक पुरा गरिसकेको छ । अहिले पनि उनी उतिकै जोस, जाँगर र उत्साहका साथ अभियानमा लागिपरेका छन् । पार्टी स्थापना यता ठूलै उपलब्धी हात नपरेपनि यतिको बर्ष लिम्बुवानकै पक्षमा सतिसाल भएर उभिनु आफैमा एउटा इतिहास हो । जनताको चेतनास्तर नउठेसम्म आन्दोलनले मुर्तरुप लिन नसक्ने उनका ठम्याइ रहेको छ । उनले लिम्बुवान आन्दोलन साहित्यका दर्जनौ पुस्तक लेखेका छन् । सानो घेराबाट सुरु भएको आन्दोलनमा आज लाखौलाख अभियन्ता भएकामा उनी खुसी छन । लिम्बुवान आन्दोलन सिथिल भएको यो समयमा उनको नयाँ पुस्तक लिम्बुवानः भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म शनिबार काठमाण्डौमा विमोचन हुदैछ । यसै सन्दर्भमा नेम्बाङसंग टुडिखेल डटकमले गरेको कुराकानीको अंश :

नयाँ संविधान जारी भयो, राज्यको पुनसंरचना पश्चात सबै तहका सरकार समेत गठन भइसक्यो अब लिम्बुवान आन्दोलनको औचित्य के ?
संविधानसभाबाट संविधान निर्माणकै चरणमा हामीले पाँच पार्टीको एकता ग¥यो । आन्दोलनको घोषणा भयो । हाम्रो पार्टी एकताले राज्य थर्कमान भए । लिम्बुवान आन्दोलनले एउटा निर्णायक मोड लिने जनअपेक्षा थियो । त्यस दिशा तिर हामी पनि अगाडी बढी रहेका थियौँ । यो हाम्रो एकता, हाम्रो तागत धेरैलाई मन परेको थिएन । यो एकता सकेसम्म टुटाउने प्रयत्नमा थिए । लिम्बुवान विरोधीहरुले विभिन्न षणयन्त्र रच्न थाले । यसमा गठबन्धनकैै साथीहरु मतियार बने । लिम्बुवानको हिमायती भन्ने कुमार लिङ्देन र सञ्जुहाङहरुले गद्यारी गरे । गठबन्धन नै ध्वस्त भएपछि संविधान लेखन र राज्य पुनसंरचनाका काम भइरहेको बेला जुन दवाब सिर्जना गर्नु पर्ने हो त्यो हुन सकेन । नेपाल एकिकरणका क्रममा पृथ्वीनारायण शाहले लिम्बुवानलाई जित्न नसकेर सम्झौता मार्फत सहराज्य दिएको हो । पञ्चायत र भूमिसुधार लागु हुनु अगाडीसम्म लिम्बुवान स्वतन्त्र थियो । राजा महेन्द्रले लिम्बुवानलाई झुकाएर अपहरण ग¥यो । त्यतिबेला पनि लिम्बुवानलाई राजा महेन्द्रले सक्यो भनेका थिए । अब अस्तित्व नामेट हुन्छ भनेका थिए तर त्यस्तो भएन । ऐतिहासिक कालबाटै उतरचढाव हुदै आएको छ । तर लिम्बुवान आन्दोलनको औचित्य सकिएको छैन । बरु सुरुवात भएको छ ।

लिम्बुवान आन्दोलन एकताबद्ध भएर अगाडी नबढ्नुमा दोष त तपाईलाई पनि जान्छ नी, होइन र ?
लिम्बुवानमा जातिवादको कुरा थिएन । विखण्डनवादको विरोधी थिए । तर साथीहरुमा जातीवादको गन्ध आयो । चन्दा आतंक डर लाग्दो थियो । साथीहरुले ढाट नै राखेर कर उठाउन थाले । हिजो केही नहुनेहरुले धमाधम जग्गा जमिन जोड्न थाले । भट्टीमै साथीहरुको बास हुन थाल्यो । यतिसम्मकी केही साथीहरुले त रखौटीसम्म राख्न थाले । यस्ता गैरकानुनी करसंकलन, आर्थिक अपारदर्शिताको विरोध गरे । नैतिकताको प्रश्न उठाए । लिम्बुवान आन्दोलनकर्मीहरु नैतिकवान हुनु पर्छ भने सुध्रिनका साटो उनीहरु मेरो विरोधमा लागे । लिम्बुवान आन्दोलनलाई झनझन भ्रष्ट बनाए । उनीहरु सच्चा मनले लिम्बुवान आन्दोलनमा आएका थिएन । लिम्बुवानलाई दिन होइन लिन आएका थिए । कमाई खाने भाडो बनाउन चाहान्थे । गलत अभिष्ट पुरा नभएपछि केहीले मेरै आँखा अगाडी लिम्बुवान आन्दोलन छोडे । यी नै कारण लिम्बुवान आन्दोलनलाई एकताबद्ध गरेर अगाडी बढाउन सकिएन ।

तपाईले थुप्रै ठाउँ ग्रेटर लिम्बुवानको विषय उठाउँदै आउँनु भएको छ । के हो गे्रटर लिम्बुवान ?
जुन सन्धिका आधारमा लिम्बुवानलाई इष्ट इण्डिया कम्पनीमा गाभियो । त्यो सुगौली संन्धिले लिम्बुवानलाई छुदैन थियो । नेपाल हारेपछि लिम्बुवानमा युद्ध भएको थिएन । सुगौली सन्धि लिम्बुवानलाई लाग्दैन । त्यसमा पनि सन १९४७ मा भारत स्वतन्त्र भएपछि सन् १९५० मा भारत नेपाल बीच प्रथम पल्ट भएको शान्ति अनि मैत्री सन्धिको धारा ८ अनुसार इष्ट इन्डिया कम्पनीले गोरखाबाट लिएका मेची नदीपूर्व टिष्टा नदी पश्चिमका सारा भूभाग परित्याग गरे । फेरि लिम्बुवान फणिन्द्र नेपालहरुले भने जस्तो ग्रेटर नेपाल जस्तो अभियान पनि होइन । उनीहरुको अभियानमा नेपालका मात्रै अभियन्ता छन् । यो ग्रेटर लिम्बुवानको उठान २६ साल तिर दार्जिलिङबाट उठेको आन्दोलन हो । हाल भारतमा रहेको सुगौली सन्धि अघिको लिम्बुवानी भूभाग र नेपालमा जो अहिले हामीले ९ जिल्लाको लिम्बुवान राज्यको मुद्दा उठाइरहेका छौ यो सहितको सयुक्त लिम्बुवान स्टेटको विषय नै गे्रटर लिम्बुवानको विषय हो ।

जनमत संग्रहको पनि कुरा उठाउनु भयो ?
६ अगष्ट १७७४ अघि लिम्बुवान सार्वभौम राज्य थियो । पछि गएर पृथ्वीनारायण शाहसंग सहअस्तित्वको सन्धी भयो । १७७४ सन्धीको नाताले मात्र लिम्बुवान नेपाल अन्तर्गत रेहेको हो । त्यो सन्धि अनुसार लिम्बुवान दिनु पर्छ । नत्र लिम्बुवान त्यो सन्धि अगाडीको अवस्थामा पुग्छ । लिम्बुवानमा धेरै खालका विषयहरु उठे । स्वत्रन्त लिम्बुवानदेखि सशस्त्र क्रान्त्रिका मुदाहरु उठे । तर त्यस्ता कुराहरुलाई हामीले प्रसय दिएनौ । रक्तपात भएन । यो खुसीको कुरा हो । लिम्बुवानका प्रत्येक घरमा प्रथम र दितिय विश्वयुद्ध लडेका सदस्य छन् । हतियार कसरी चलाउँनु पर्छ उनीहरुलाई धेरै राम्ररी थाहा छ । हतियार त उनीहरुका सिरानी नै हुन । यस्तो अवस्थामा पनि लिम्बुवानमा हतियार उठेन । यो खुसिको विषय हो । राज्यले लिम्बुवानको यो शालिनता, यो भद्रता बुझ्न सकेन भने कुनै दिन त्यो हतियार उठ्न सक्छ ।
यीनै सन्धी र ऐतिहासिकताको आधारमा लिम्बुवान जनमत संग्रहको कुरा आएको हो । विश्वका लोकतन्त्रवादी देशहरुले यस्तो अभ्यास गरेका छन् । यसमा पनि कुमार लिङ्देनहरुले विरोध गरे । देश टुक्रिन्छ भने । ग्रेटर लिम्बुवानको कुरा गर्दा इन्डियासंग लडाई हुन्छ भनेर भ्रम फैलाए । उनी आफुलाई संघिय लिम्बुवानले अनुमोदन गरेको केन्द्रिय राष्ट्रवादी ठान्छन् । राष्टवादको ठूलो चिन्ता छ । आफ्नो भूमि, अधिकार र पहिचान सबैसबै गुमाएर राष्ट्रवादी हुनुको के अर्थ ?
त्यहि सन्ंिधको आलोकमा लिम्बुवान स्वतन्त्रता मागिएको हो । लालमोहर, सन्धी कानुनका स्रोतहरु हुन । त्यसैले लिम्बुवान कानुनी र संवैधानिक विषय पनि हो । १७७४ को सन्धि मान्दैनौ भन्यो भने समस्या हुन्छ । लिम्बुवान सबै अधिकार गुमाएर बस्न चाहादैन । बाध्य भएर जनमत संग्रहमा जानसक्छ । क्रिमिया, स्कटल्याण्डमा यस्तो खालको जनमत संग्रह भएको छ । जुनदेशले लोकतान्त्रिक मूल्यमान्यता अपनाएको छ त्यहाँ जनमत संग्रह हुन्छ ।

तपाईको पुस्तक शनिबार विमोचन हुदैछ के समेट्नु भएको छ त्यो पुस्तकमा ?
लिम्बुवानः भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म यो एउटा संस्मरण संग्रह हो । यहाँ लिम्बुवान आन्दोलनका आरोह अवरोहका क्रममा संगालेका अनेक विषयहरुलाई समेटेको छु । आन्दोलनबारे फैलाइएका भ्रम चिर्न र सेलाउँदै गएको लिम्बुवान आन्दोलनलाई पुनर्ताजगी दिन यो पुस्तक लेखिएको हो । लिम्बुवान आन्दोलनमा साहित्यको ठूलो अभाव छ । त्यसको पूर्तिका लागि पनि यो पुस्तक लेखिएको हो ।

आन्दोलनमा साहित्यको के भूमिका हुन्छ ?
क्रान्ति आन्दोलनमा साहित्यको ठूलो भूमिका रहन्छ । विश्वका आन्दोलहरु नियाल्नु भयो भने पनि त्यहाँ साहित्यको ठूलो भूमिका देख्नु हुन्छ । नेपालमा प्रजातन्त्रवादीहरुको साहित्य नै छैन । साम्यवादीहरुका प्रसस्त साहित्य छन् । त्यहि जगमा नेपालमा साम्यवादीहरु मौलाएका छन् । लिम्बुवान लगायत खम्बुवान, मगरात, ताम्सालिङमा पनि साहित्यको ठूलो अभाव छ । अब त्यतातिर पनि यस्तो साहित्यको निर्माण गरिनु पर्छ । लेखिनु पर्छ ।

Published On: Time : 16:00:05  1467पटक हेरिएको

तपाईको प्रतिक्रिया